मेरो कथा– प्रवासको व्यथा

२०७४ जेठ २२ गते ९:०४ मा प्रकाशित

– नवराज क्षितिज
विभाजित मनमा समस्या हुन्छ, अविभाजित मनमा कुनै समस्या हुँदैन– स्वामी आनन्द अरुणको ‘जीवन दर्शन’ पढेदेखि यो उद्धरण मनमा झुन्डिरहेको छ, हमेसा । र त, मैले मन विभाजित हुनबाट कयौँपटक जोगाएको छु ।जिन्दगीको मानक सफलता–असफलता हो । यसैमा जीवन धकेलिरहेको छु, निर्निमेष । समय सधैँ एक जनाको मात्र अधीनमा रहँदैन । आफूले चाहेको कुरा पूरा भए समयले साथ दियो, नभए समयले गलहत्यायो भनेर कोरा आरोप लगाउनु न्यायसंगत पनि हुँदैन ।तथापि मेरो मन विभाजनबाट विभक्त रहन सकेन ! एक भाग मैले लिएँ, अर्को भाग घर–परिवारलाई दिएँ । जुन भाग कोमल हुन्छ, प्रायः त्यही भागले दुखाइको ठेक्का लिँदो रहेछ । र, दुखाइको हिस्सा पूर्णतः मेरो भागमा प¥यो ।

सोचेजस्तो, खोजेजस्तो र रोजेजस्तो विदेश हुँदैन । र त, सुरुआती दिनहरू निकै कष्टकर बने । मनमा गाँठो परे । फुकाउन धेरै समय लाग्यो पनि । धेरैले भन्थे मनको बह भरिन दिनुहुँदैन पोखिरहनुपर्छ । तर, मलाई कहिल्यै विश्वास लागेन ! जब धरामा अँध्यारो चढ्न थाल्थ्यो, तब म सम्झनाका फिलामेन्ट बाल्थेँ आँखाअगाडि उज्यालो बनाउँदै । फिलामेन्ट तताउने तारहरू थिए– घर, परिवार र देशको सम्झना ।जसरी रात अनिँदै सुत्छ, त्यसैगरी परदेशीहरू पनि अनिँदै रहन्छन् । अझ भन्छु, घर परिवारको याद आँखामा नआउला भनेर परदेशीहरू आँखा झिम्मसमेत पार्दैनन् । कदाचित् ढकनी बन्द भए पनि भोलिपल्ट सम्झनाहरू आँखावरिपरि झुत्ती खेल्न थाल्छन्, फिल्डमा सैनिकहरूले बुट बजारेभै !जब परिवार र देशको मायाले मन भरिन थाल्थ्यो, खाँदै गरेको खाना बेस्वादे लाग्थ्यो । अथवा भनुँ मेरो जिब्रोले स्वादको आँकलन गर्दैनथ्यो, बिर्सन्थ्यो नै । स्वदेशी गुन्द्रुक ढिँडोका अघिल्तिर विदेशका परिकारहरू फिक्का लाग्थ्यो मलाई ।काठमाडौंको तापक्रम २४ डिग्री भनिरहँदा म काठमाडौंको छानामाथि बतासिइरहेको थिएँ । झन्डै पाँच घन्टा उडेपछि तापक्रम ४४ डिग्री भनिरहँदा मेरा पाइला जमिनतर्फ सोझिइरहेका थिए ।

काठमाडौंको २६ डिग्री तापक्रमलाई मैले ४४ डिग्रीमा कतिबेला साटेँ, मलाई कुनै अन्दाज छैन ।यो सटहीमा मैले कति भावनात्मक घाटा बेहोरेँ भन्ने कुराको कुनै लेखाजोखा छैन । जब हवाइजहाजबाट बाहिरिएँ अनि मेरो मनको क्याल्कुलेटरमा यी कुराहरूको हिसाबकिताब हुन थाल्यो । मनभित्रको क्याल्कुलेटरले भावनात्मक घाटा यति धेरै निकाल्यो कि, जस्को लागत राख्न निश्चित रूपमा असम्भव थियो ।वियोगको भारी बोकेर खाडीमा पसेको पनि १२ दिन भइसकेछ । मलाई भने १२ वर्षभन्दा कम लागेकै छैन । मनमा घरको सम्झनाले नायग्रा फल्सको पानी सबै मेरो मुटुमा बज्रिरहेभैmँ लाग्छ । कहिले सम्झनाको आँधिहुरी आइदिन्छ । म भगवान्सँग प्रार्थना गरिरहन्छु– मनमा जेजे आए पनि आओस् तर मन नभत्कियोस् । मन भत्किएन भने आँट र साहस पलाउन सक्छ । आफूले आफैँलाई सम्हाल्न सक्छु ।
सोच्दै थिएँ, तीन जना मानिस म भएको ठाउँमा आए । साथमा क्यारिफोर गएर फर्कने दाइ पनि थिए ।‘भाइ हामी तपाईंलाई लिन आएका हौँ । नरबहादुरले तपाईंका बारेमा सबै कुरा सक्नुभो,’ तीमध्ये एकजनाले यसो भने । त्यति धेरै बेर कुरा गरेको दाइको नाम र ठेगाना सोध्नै बिर्सेंछु । मसँग कुरा गर्ने नुवाकोटका नरबहादुर तामाङ रहेछन् । बल्ल पो थाहा भयो । उनीहरू सँगै बसेर खाना खाऔँ भनेर निम्तो लिएर आएका रहेछन् । खबर सुनेपछि मेरो आँखाबाट माछापुच्छ्रे« पग्लिन थाल्यो । ड्युटीमा थिएँ । जिम्मेवारी चटक्क छोडेर जान मिल्दैनथ्यो । तर, रामनारायण चौधरी दाइले चिन्ता नलिन अनुरोध गर्दै भने, ‘मलाई अरबी आउँछ, केही परे म भन्छु ।’म खोरबाट उम्केको बाख्रोजस्तो भएँ ।

मेरा पाइला उनीहरूले बाटो देखाएतिर मोडिन थाले । जम्मा सात जना नेपालीहरू बस्दा रहेछन् एउटा कोठामा । चार जना मलाई लिन आएका थिए भने बाँकी खानेकुरा तयार पार्न बसेछन् । तीन कोठाको घर । एउटा कोठामा पाकिस्तानीहरूले अड्डा जमाएका रहेछन् । अर्कोमा बंलादेशीहरू र तेस्रो नेपालीको कोठा थियो । एउटै घरमा तीन देशका तीनथरि मान्छेहरू बसे पनि भान्छाकोठा भने साझा थियो । मलाई लिन आउनेहरू कन्स्ट्रक्सन कम्पनीमा कार्यरत रहेछन् । ४५÷५० डिग्रीको एकतमासको गर्मीमा इँटा बोकेर घर बनाउने जिम्मा थियो उनीहरूको । हात पटपटी फुटेका, कलेंटी परेका ओठ । विदेशको जीवन कहाँ सजिलो हुन्थ्यो र ! जस्तै आपतमा पनि मुस्कुराउन नबिर्सने नेपालीको बानी देखेर कहिलेकाहीँ त कहालिन्थ्यो मेरो मन !
खाना खाने बेला त भयो तर मुखमा गाँस हाल्नभन्दा उनीहरूका कुरा सुन्न हतार हुन्थ्यो मलाई । वास्तवमा दाजुभाइहरू भेट्दा र माया पाउँदा नै म अघाइसकेको थिएँ ।अन्तिममा उनीहरूले मलाई म कार्यरत स्थानसम्म पु¥याउन आए र अमिलो अनुहार बनाएर फर्किए । परदेशमा पसिना बगाउन म मात्रै आएको छैन । झन्डै आधा करोड जनसंख्या विदेशमै छ । यो जनशक्ति सबै स्वदेशमा भइदिएको भए मुलुक स्वर्गै बन्थ्यो होला । आधा रातसम्म मन कुँडिइरह्यो । सोच्दासोच्दै थाहै नपाई निदाएछु । भोलिपल्ट ब्युँझदा उस्तै टीठलाग्दो दिन थियो ।

तपाइको प्रतिक्रिया