आठ घन्टे अखण्ड काव्यपाठ

२०७४ जेठ २४ गते ९:०८ मा प्रकाशित

– होम सुवेदी
एउटा आयोजकले विशेष रूपमा अखण्ड काव्यपाठका लागि विशेष प्रबन्ध गरेको थियो । गीत गाउनेहरूलाई आफ्नै शैलीबाट बाजा बजाइदिने र काव्यपाठमा नृत्यको आवश्यकता परिगयो भने नृत्यमा सामेल हुने गरी केही रेडिमेड नर्तक÷नर्तकीहरू पनि आयोजकले तयारी अवस्थामा तैनाथ पारेको थियो । यस कार्यक्रमको मूल स्वरूप काव्यपाठ भए पनि बीचमा गजल गीत आदिको पाठ गरेर, हास परिहास, टुक्कावाचनलगायतबाट भए पनि यसको निरन्तरतालाई खण्डित हुन दिनुहुन्न भन्ने आयोजकको आग्रह थियो । एघार बजेदेखि सात बजेसम्मलाई समय निर्धारण गरिएको थियो । यस अखण्डतालाई खण्डित हुनबाट जोगाइराख्न नानाथरिका कविहरू आए । पुत्ले पाँग्रे गजलकारहरू अनि झिल्के गीतकारहरू पनि आए ।

केही तुकबन्दी लगाउने कथ्थकेहरूको पनि आगमन भयो । तयारी अवस्थामा राखिएका बाहेक दर्शक श्रोताहरूमध्येबाट पनि कोही काव्यपाठको माझमै झुम्न थाले भने कोही गीतको माझमा नाच्न पनि थाले । यो देखेर दर्शकलाई अस्ति माथिल्लो घरे मुखियाकोमा लागेको पुरानमा महिलाहरू नाचेको झल्को पनि आइरहेको थियो । साँचो कुरा थाहा नपाउनेहरूका लागि यहाँ कुनै अर्कै पुरान लागेको हो कि भन्ने भान पनि भइरहेको थियो । पुरान भनेपछि नाच्नै पर्ने मान्यता बोक्नु हुने केही महिलाहरू यहाँ पनि नाच्ने अवसरको खोजीमा हुनुहुन्थ्यो । यसै बीचमा केही महिलाहरू सभामा आएर जुता फुकाल्दै भित्र पसे । ‘खै गहँुत कता छ ? यसो टीका लगाइदिने गणेश खोइ कता छन् ? अनि जुत्ता राख्ने ठाउँ पनि देखिएन, कता छ ?’ सोध्न थाले ।

यसबाट त्यहाँको अखण्ड काव्यपाठ भनेको कुनै पुराणै हो भन्ने भान सर्वसाधारणमा परिरहेको थियो भन्ने कुरा पनि स्पष्ट हुँदै थियो । अखण्ड काव्यवाचनशाला बाहिर ठूलो अक्षरमा ‘आठ घन्टे अखण्ड काव्यपाठ’ लेखिएको तुल टाँसिएकोले पनि यो भ्रम परेको हुन सक्थ्यो । अस्ति यता केराबारी महाजनको घरमा लगाएको २४ घन्टे अखण्ड भजन लगाएजस्तै कुनै अखण्ड भजन कीर्तन हुनुपर्ने कुरा सर्वसाधारणले बुझेजस्तो देखिन्थ्यो । एक जनाले ता भनिन् पनि, ‘आठै घन्टे अखण्ड पाठ मात्र ता रहेछ नि । केराबारी महाजनको जति लामो ता रैनछ ।’ यसरी सभाको बाहिरतिर ‘आठ घन्टे अखण्ड काव्यपाठ’ लेखेर बोर्ड राखिएको हुँदा केही सर्वसाधारण झुक्किएका थिए । अस्ति भर्खर राजभण्डारीको घरमा लगाएको पुराणमा गरिएको अखण्ड कीर्तन जस्तै यो पनि कुनै नौलो किसिमको कीर्तन होला भन्ने भान अन्य कतिपय साधारणहरूमा परिरहेको थियो । तर, यो काव्यवाचन गजलगान, गीतसंगीतले युक्त काव्यपाठ नै थियो ।

यहाँ गहुँत थिएन । यहाँ जुता फुकालेर भित्र पस्नै पर्दैनथ्यो । त्यसैले बाहिरै जुत्ता फुकाल्ने र राख्ने बन्दोबस्त थिएन । यहाँ प्रसादको व्यवस्था थिएन । पाती चढाइरहनुपरेको थिएन । तैपनि केही भक्त महिलाहरू सानो पोलिथिनमा केही फूलपाती, प्रसाद र मालासमेत लिएर मञ्चमा पुगी काव्यपाठ गरिरहेका कविलाई तिनै कवि मूल पण्डित होलान् भन्ने ठानेर माला लगाइदिए । केही भेटी पनि चढाइदिएको देखियो । केरा स्याउ र अरू केही फलफूल प्रसादको रूपमा चढाइदिएको दृश्य पनि देखियो । यो सबै देखेर कोहीकोही श्रोता हाँसो थाम्न नसकेर बाहिर निस्केको पनि देखियो । यो कविता पाठ गर्ने पण्डित कविले अन्तमा काव्यपाठ सक्ने बेलामा आयोजकलाई सविनय सोध्नुभो, ‘यो दक्षिणा कसले लिने ?’आयोजकको तर्फबाट यसबारे भरे निर्णय हुने कुरा निज कविलाई सुनाइयो । अब पालो थियो कवि धर्मनाथ धर्मप्राणनाथ भार्गवको । उनको धार्मिक कविताले ता अखण्डकाव्यपाठलाई पूरापूरी पूराणकै रूप दियो । उनको वाचन लय र कविता पढ्नुपूर्व बाँधिएको भूमिकाको प्रवचनले सभालाई तीर्थालुहरूको जमघट जस्तै पारेको देखियो । कृष्ण जन्मको बारेमा लेखिएको उनको धार्मिक कविताको असर निकै परेको देखियो ।
केही महिलाहरूले आयोजकलाई तल श्रोता बस्ने स्थानबाटै सोधे, ‘माखनचोर कृष्णजन्मोत्सव र कृष्णलीला कहिले हुने हो ?’ यहाँ म ता अखण्ड काव्यपाठको दृश्यको वर्णन मात्रै गरिरहेको छु । आयोजकले ती भक्त महिलाहरूलाई के भनेर बुझाए त्यो चैं नभनौँ क्यारे ! अखण्ड काव्यपाठमा अब पालो थियो कवि परजीवीजीको । नाम मात्र नभई उनी साँच्चैका परजीवी नै थिए भन्ने बुझिएको छ । अरू ता अरू जाबो खैनीमा समेत उनीमा आत्मनिर्भरता छैन ।  ‘हे…हे…हे यसो थियो कि…?’ भनेर हातले खैनी माड्दै गरेको मुद्रा बनाएर उनी जोसुकैसँग खैनी माग्ने गर्छन् । कुनै दाताले ता खैनीको साटो गुट्खा नै टत्र्mयाएको पनि देखिन्छ । ‘धन्यवाद, धन्यवाद ! ढुंगा खोज्दा देउता मिल्यो भनेको यही हो’ उनी त्यो अवस्थामा यसै भन्छन् ।  ‘मरोस् मोरो मगन्ते !’ भनेर धेरैजसोले उनीलाई खैनी चढाउँछन् । उनी दाँतको माथितिर ओठ उधिनेर खैनी च्याप्छन् र ‘क्या स्वादिलो रहेछ !’ भनेर तारिफ गरिदिन्छन् ।

अहिले ता उनको ध्यान खैनीका साथै गुट्खातिर पनि जान थालेको छ । ‘परजीवी हुँ जे पाउँछु त्यो खान्छु हे…हे… !’ भन्छन् । केही स्थानमा उनलाई खरो पानी सेवन गर्ने अवसर पनि नपरेको होइन । यस वस्तुको मूल्य केही बढी नै हुने हुँदा परजीवीलाई यसको अवसर उति परिरहन्न । खैनी जतिको लत पनि यस तत्वमा उनको बसिसकेको छैन, अनि जति सहज रूपमा खैनी उपलब्ध हुन्छ यसको उपलब्धता सहज पनि छैन । उनलाई यो तत्व सेवन गर्ने सुविधा उति परिरहन्न । अलिक मुगो परेर होला । खैनी भएपछि उनको काव्यको छाँगो दिमागबाट पहाडको झर्ना झरेझैँ झरिरहन्छ । अनि किन चाहियो र खरो पानी । सम्भवतः परजीवीले यो खरो पानी सेवन गरेको उति देख्न नपाइनुको कारण यही हो । पानभोगी महानुभावहरूले पान खाएर उँभो मुख फर्काएर मुख भरी पानको थुक बोकेर नथुकी बोलेजसरी उनी पनि मुखको खैनीबाट आएको थुक एकछिन मुखै भरि पारेर केही बोल्नुपर्दा बोल्ने गर्छन् ।

कहिलेकाहीँ कविता पनि यसै विधिबाट गाउँछन् । उनी बढो शिष्ट र भलाद्मी पनि छन् किनभने पान खानेले थुकेझैँ उनी जहाँसुकै र जतासुकै थुक्दैनन् । घुटुक्क निल्छन् । जहिले पनि मुखमा राखिएको खैनी गुट्खाको खार र राखले भरिएको हँड्याइँदो थुक घुटुक्क निल्दै बाँकी कामतिर लाग्छन् । परजीवीजी यस्ता छन्, उनको जीवनचक्र यस्तो छ । उनको मूल पेसा कविता कर्म हो तापनि अहिले ‘देश गुनाको भेष’ भनेझैँ उपपेसा गजलकारितातिर पनि सरेको छ । ‘अब देशमा जे चलन आउँछ, त्यसमा ता लाग्नै परेको छ हे… हे… !’ भन्छन् ।  गजलवाचन वा काव्यवाचनमा परजीवीजीको जीवचक्र पनि अरूकै स्थानमा चल्दछ । उदघोषकलाई यसो कानमा तेल मालिस गरेर काव्य वा गजलवाचनको मध्य समयमै उनी आफूलाई समाविष्ट गराउन रुचाउँछन् । यसै कारण बढो बाठो छन् उनी । सुरुमा पनि श्रोता सबै आएका हुन्नन् । अन्तमा ता सभापति र प्रमुखअतिथि मात्र हुन्छन्, त्यो पनि कुनै सभामा ता प्रमुखअतिथि पनि राखिन्न, अन्तमा ता एक्लो सभापति मात्र रहन्छ ।

उदघोषक पनि बिदा लिइसक्छन् र बांगो ढाड लगाएर शौचालय जाने बहानामा हलबाहिर निस्कन्छन् । सभापतिलाई ता जहाँ सुनाए पनि ता भयो नि । उनलाई ता बाटोमै सुनाए पनि भयो वा घरमा गएर सुनाइदिए पनि भयो । अरू नभएपछि आखिरमा सभापतिलाई मात्र सुनाउनु न हो । उनको सिद्धान्त वा तर्क यही हुने गर्छ । साँचोमा श्रोता रहने भनेको कुनै पनि कार्यक्रमको मध्यसमय हो । यसैले मध्यसमयमा सुनाउनुमा नै केही लाभ हुन्छ । उनको यो तर्क बढो व्यावहारिक छ । अहिलेको उनको यो पालो पनि अर्का कविको अनुपस्थितिले गर्दा आएको थियो । धन्न लाइनको कविलाई यसै बेला शौचालय जानु परेकोले उनले पालो पाए । उनी यस्तै पालोका पर्खामा हुन्छन् । अहिले पनि यस्तै प¥यो नत्र फेरि पछि पर्ने थिए । परजीवीजीले काव्यपाठको क्रममा मञ्चमा गएर पहिले गलो सफा गरे । त्यो बेलासम्म मञ्चमा मान्छेहरू निकै थिए । खैनी ता आखिर परजीवीलाई जसले पनि दिन्छ ।

त्यसैले खैनी केही अधिक खाने बानी परेको हुँदा गलोमा खकार जमेर खोक्ता खेरि खकारका फाल्सा फाल्सा आउने गर्छन् र अँझ कडा खोक्नु पर्दा उनको गलाबाट सानातिर खकारपिण्डहरू हावामा उछिट्टिने गर्छन् । अहिले पनि यस्तै भयो । केही खकार पिण्डहरू पोडियममा छरिए । केही वरपरि पुगे । मुखैमा रहेका खकारका लाप्साहरू खुप्लुक्क निलेर कविले गजल निकाले खल्तीबाट । अँझै पनि केही खाकखाक खुकखुक गरेपछि उनको गजलवाचन सुरु भयो । उनको गजलको शीर्षक थियो निद्रा । श्रोताहरू निद्राले अघिदेखि नै सताइएका भए पनि परजीवीको गजलवाचनमा सारै मुस्किल पर्न थाल्यो । तिनीहरूलाई ब्यूँझै रहने स्थिति हुन छाड्यो । एकातिर शीर्षक नै निद्रा हुनु र अर्कातिर श्रोतामा पनि निद्राको प्रभाव सारै आएकोमा कविलाई आफ्नो गजलको प्रभाव आफू मञ्चमा आउनासाथ परेको आभास भइरहेको थियो ।

कोही श्रोताहरू आफ्नो टोपी झिकेर मुख छोपी निदाउन थाले भने कोही पल्लो कुर्सीमाथि खुट राखेर जिउलाई तेर्सो पार्न थाले । कोही ता एकै छिनमा घुर्न पनि थाले संविधानसभाका सांसदहरू सभाचलिरहेको बेला घुरेझैँ । तर, कविजीको कविताले उनीहरूलाई सारै राम्रो निद्रा परेको अनुभूति भएझैँ भान भइरहेको थियो । गजलकै शीर्षक ‘निद्रा’ भएपछिलाई श्रोताहरूले सुतेको भान कतैबाट पनि परिरहेको थिएन ।
जता हे¥यो उतै मेरो गजलले ठाउँ पाएछ
यता हे¥यो यतै उँघ्ने सबैलाई बनाएछ ।
कति खोजौँ कति सोधौँ नसोध्ने बानी मेरो छ
गजलप्रेमीहरूलाई मिठो निद्रा लगाएछ ।।
उनको गजलको यस पहिलो लाइनलाई उनले दशपटक दोहो¥याए । उनको गजलमा बाजा बजाउनेहरूले केही तालबेतालका बाजा पनि ठोके । केही ब्यूँझेका भक्तहरूले उनीलाई पनि फूलमाला र अबिर लगाइदिए । एक जना महिला भक्तले यसै बेला गुनासो गरिन्, ‘लौ धूप पनि बाल्नुपर्ने ? कता बालूँ ? केही व्यवस्था गरेको छैन ?’ अर्को एक जना भक्त हातमा सयको नोट निकाल्दै अघि सरे र भने, ‘खै कता छ दानदातव्यका लागि तयार पारिएको दानपेटिकाको बाकस ?’ यसै बेला अर्की महिलाको आग्रह देखियो ‘रसिद काटेरै दान दिऊँ भनेको, केही पनि देखिन्न । कता होला ?’ यस्तै केके भएर परजीवीको गजलवाचन सकियो । यसपछि भएभरका कविहरूको, गजलकारहरूको, टुक्काबाजहरूको अनि गिदांगेहरूको पालो पुग्दै गयो । सभास्थल पनि रित्तो हुँदै गयो । श्रोताले पानी खाएको प्लास्टिकका बोतल र सभामा उपस्थित भएकाहरूले सभामा पारेको फोहोर सफा गर्ने एक सानो नानीलाई हेरेर उद्घोषकले भने, ‘नानीका पनि केही कविताहरू छन् कि सुनाउन सक्छौ भने आऊ सुनाऊ ।’ उदघोषकको आग्रहमा ऊ वाल्ल मात्र परेर हेरिरह्यो ।
‘अब कोही बाँकी हुनुहुन्छ कि ?’ अखण्ड काव्यकाठको कार्यक्रम सकिनसकिन लागेको बेलामा सञ्चालकले माइकबाट पुनः आग्रह गरे । भोजभतेरमा कोही भतेर खान छुट्यो कि भनेर सोधिएझैँ गरी सबैलाई एक–एक गरेर सोधियो । लभभग सबैको सकिएको बुझियो । ‘लौ उहाँको ता छुट्यो नि !’ मञ्चमा रहेका सभापतिले मतिर देखाउँदै मेरो पालो नआएको सूचना गरे र उद्घोषकले मलाई मेरो रचना पनि सुनाउन आग्रह गर्दै मेरो काव्यपाठ पछि सभापतिको मन्तव्य हुने र आफू पनि जानी नजानी कार्यक्रम सञ्चालन गरेकोमा क्षमा माग्दै बिदा भएको कुरा सुनाएर बिदा भए ।  अन्तमा म र सभापति मात्र थियौँ । मैले उहाँलाई कसरी र कस्तो सुनाएँ भनेर ता के भनिरहनु ? आफैँ रिपोर्टर भएपछि आफ्नै कुरा के लेख्ने । भैगो ।

तपाइको प्रतिक्रिया