बाथरोगबारे चेतना आवश्यक

२०७४ जेठ २४ गते ९:१५ मा प्रकाशित

बाथरोगबारे चर्चा गर्न र जनचेतना फैलाउने आवश्यक रहेको चिकित्सकले बताएका छन् ।  नेसनल बाथरोग सेन्टरको चौथो वार्षिकोत्वको अवसरमा सोमबार आयोजित कार्यक्रममा चिकित्सकले हातखुट्टा दुख्दा बाथ रोग हो भन्ने अनुमान गरे पनि कसरी लाग्छ, उपचार के हो भन्नेबारे अझै अनभिज्ञता रहेको बताएका थिए । बाथरोगले शरीरमा प्रत्यक्ष असर पार्ने समस्याका बारेमा जानकारी गराउँदै नेपालमा बाथरोगीको अवस्था पत्ता लगाउन सेन्टरले ‘नट कोर्ड’ नामक सर्वे पनि सुरु गरेको छ । एक वर्षमा सम्पन्न गरिने सर्वेबाट बाथरोगीको तथ्यांक बाहिर आउने विश्वास गरिएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बाथरोगबारे अझै पनि देशका कुनाकाप्चामा जानकारी र उपचार सम्भव नभएकाले सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘बाथरोग धेरै नेपालीलाई देखिने रोग भएकाले यसको सहज र सुलभ उपचारको आवश्यकता छ । केन्द्रमै भए पनि उच्चस्तरीय उपचार केन्द्र चाहिन्छ । सरकारबाट कुनै सार्वजनिक जग्गा लिएर यसको अस्पताल विकास र विस्तार गर्न पहल सुरु गरिनेछ ।’केन्द्रका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख जनसंख्यालाई विभिन्न प्रकारका बाथरोग भएको बताउँदै यसको समयमै उपचारको पहँुचमा अझै बिरामी पुग्न नसकेको उल्लेख गरे ।  उनले भने, ‘यो तथ्यांकको १५ प्रतिशत बिरामीले मात्र उपचारको दायरामा आउन सकेका छन् । ८५ प्रतिशत बिरामी अझै पनि उपचारको पहुँचमा आउन नसकेको अवस्था छ ।’बाथरोग विशेषज्ञ तथा सेन्टरका अध्यक्ष डा विनित वैद्यले मानव शरीरको अस्थिपञ्चरलाई अस्थिर बनाई दुखाइबाट हुने रोग बाथ भएको बताए । उनले भने, ‘शरीरभित्रै उत्पत्ति हुने रोग भएकाले जोर्नी दुखेर, मांसपेसीको कारणले हुने बाथ जसले छाला, आँखा, मुटु, मिर्गौलालाई असर गर्छ ।’
बाथ सयौँ किसिमको हुने भएकाले कुन प्रकारको बाथ हो भनी थाहा पाउन रगत परीक्षण गरी त्यसबाट हुने जटिलताबाट बच्न सकिने उनको भनाइ छ । बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । बच्चा, युवा र वृद्धवृद्धा सबैलाई हुने यो रोग नसर्ने रोग दीर्घ रोग हो । नेपालको युरिकएसिडबाट हुने बाथ, हाडजोर्नी सुन्निने दुख्ने, हड्डी खिइएर, मेरुदण्डको हड्डी दुख्नेखालका बाथका समस्या बढी देखिन्छ । साथै, बालबालिकालाई पनि अत्यधिक मात्रामा बाथरोगको समस्या नेपालमा देखिने चिकित्सकको भनाइ छ । डा.कक्षपतिका अनुसार बाथरोग लागेपछि खासगरी दुःखाइबाट सुरु हुन्छ । हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, बिहान उठ्दा हिँड्न समस्या हुने, हात मुठ्ठी पार्न समस्या हुने, घोडा, कुहिनोजस्ता जोर्नी दुख्ने, ज्वरो आउने, मेरुदण्डको हड्डी सुन्निने दुख्ने गर्छ । छातीका करङ दुख्ने, पिसाब पोल्ने पनि हुन सक्छ । त्यसैगरी बाथ भएमा गर्भवती महिलाको गर्भ खेर जाने पनि हुनसक्छ दुखाई दोहोरिएर हुनेजस्ता लक्षण जुनसुकै बाथ भएमा पनि देखिन सक्ने साझा लक्षण हुन् ।
यस्ता समस्या देखिएपछि बाथरोगको डाक्टरलाई देखाउनुपर्छ । रगत र अन्य विशेष जाँच गरेपछिमात्र कुन प्रकारको बाथ हो र कस्तो औषधि चलाउने भन्ने कुरा स्पष्ट हुन्छ । बाथरोग पूर्णरूपमा निको हुँदैन तर यसबाट हुने अन्य समस्या नहोस् भन्नका लागि रोकथाम मात्र गर्न सकिन्छ । डा. वैद्यका अनुसार बाथरोगीमध्ये ७० प्रतिशत बिरामीले बीचमै औषधि छाड्ने गरेका कारण समस्या झन जटिल बन्दै जाने र उपचारमा समेत समस्या हुने गरेको छ । बाथरोगको समयमै उपचार गरिएन भने यसले शारीरिक अंगभंग मात्रै नगरी ज्यानै जानसक्ने जोखिम रहन्छ । नेपाल बाथरोग निवारण संघका अध्यक्ष प्रशान्त मानन्धरले यो रोगका बारेमा अझै पनि कम चर्चा हुने गरेकाले सरकारले जटिल रोगका बारेमा स्वास्थ्यकर्मीलाई तालिम र शिक्षा दिन आवश्यक रहेको धारणा राखे ।

केन्द्रले वार्षिकोत्सवका अवसरमा एक हप्तासम्म निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । चार वर्षको अवधिमा केन्द्रले करिब ७५ हजार बिरामीको उपचार गरेको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया