लघुकथाः काट्टो

मा प्रकाशित

खेमराज पोखरेल

रमा चुपचाप सोफामा पल्टिएकी थिइन् । उनी धेरै उदाश भइन् भने यसो गर्छिन् । नत्र उनको कामै कहिल्यै सकिन्न । उनको छेउमा पुगेँ । कपाल सुम्सुम्याएँ । उनले मेरो हात पन्साइदिइन् । मैले उनलाई भनेँ, ‘परार साल आजकै दिन हामी टेन्टमा थियौँ हगि रमा’
उनले अलि उदाशी स्वरमै भनिन्, ‘भो नसम्झाउनुहोस्, सम्झिन पनि मन छैन, त्यो ज्यानमारा भुइँचालो’

उनको अगाडि पत्रिकाको रास थियो । प्रायः पत्रिकाहरूले भुइँचालोले गरेको विनासको फोटो छापेका थिए । र, भुइँचालोको विनासको पुनरुत्थानको कार्यमा भएको भ्रष्टाचारको फेहिरिस्त पनि दिएको थियो । यसैले गर्दा रमा उदाश भएकी हुन् भन्ने सोच्न मलाई गाह्रो भएन ।
मैले सोधेँ,  ‘के भयो रमा ?, पत्रिका हेरेरै यस्तो उदाश हुने हो त ?’

उनले भनिन्, ‘दुई वर्ष भयो मान्छे अझै पालमा छन्, कस्तो सरकार होला ? कस्ता पार्टी होलान् ? कस्ता कर्मचारीहरू होलान् ? मानवीय संवेदना पनि नभएका ?’

मैले उनको भनाइमा होमा हो मिलाउँदै भनेँ,
‘तेइ भुइँचालोको पैसाले मचान घरे ठाइँलाका छोराले त फेरि बैनीका नाममा काठमाडौंमा सपिङ् कमप्लेक्स नै किने रे नि, खुदो पल्टेको छ उनीहरूलाई । सत्र परेको छ सरकारलाई । मान्छे फेरी फेरी लुँड्याएका छन् मुर्दारहरूले’

रमाको रिस झन चर्को भयो । उनले भनिन्ः ‘काट्टो खानु नि बरु त्यो भुइँचालोको पैसा खानु भन्दा त’
हामीसँगै बसेको छोराले सोध्यो, ‘काट्टो भनेको के हो आमा ?’

रमाले भनिन्, ‘काट्टो भनेको मरेको मान्छेको गिदी हो छोरा ।’
मेरो छोरोले मलाई कोट्याएरै भन्यो, ‘छ्या, त्यो काट्टो चाहिँ हामी नखाऊँ है बाबा !’
धापासी, काठमाडौं ।

तपाइको प्रतिक्रिया