ढुंगा कुँदेरै धानिएको जीवन …

२०७४ जेठ २९ गते ८:३९ मा प्रकाशित
सुभानु आचार्य

dhungaहातमा सीप र मनमा जाँगर हुने हो भने जस्तै गरिब भए पनि सहरिया जीवनसमेत धान्न सकिन्छ भन्ने उदाहरण बनेका छन् कुस्वाडियाहरू । ढुंगा कुँदेर बेचेकै भरमा काठमाडौंको महँगीमा पनि छोराछोरी पढाएर, परिवार धानेरै बसेका छन् यी कुस्वाडियाहरू ।  लगानी गर्ने क्षमता भएकाहरूले यस्तो कडा परिश्रम गर्नुपर्ने क्षेत्रमा नगर्ने भएकाले आफूहरूको पेसा चलेको उनीहरूको बुझाई छ । आजको युगमा प्रतिस्पर्धा नभएको कुनै क्षेत्र छैन, तर यो पेसामा प्रतिस्पर्धा छ त उनीहरूकै जातिय समुदाय वा आफ्नै नाता, कुटुम्बबीच । अलिकता सीप अनि कडा मिहिनेतका कारण यो पेसा उनीहरूको जातीय समुदायको पेवाजस्तै बनेको छ ।

राजधानी काठमाडौंको चक्रपथका पेटीमा एउटा छातामा ओतिएर धुलो, धुँवा वा गाडीको कर्कश आवाजको वास्ता नगरी आफ्नै काममा दत्तचित्त भई ढुंगा कुँदेर सिलौटो, लोहोरा, ओखल, खललगायत सामग्री बनाइरहेको जसकसैले देखेको हुनुपर्छ । कसैले त उनीहरूले कुँदेका सामान किनेको पनि हुनुपर्छ । भान्साका लागि अत्यावश्यक ढुंगाका यी सामान बनाउने पौरखीहरू यिनै कुस्वाडियाहरू हुन् । घरहरूमा, होटलहोटलमा प्रयोगमा रहेका यस्ता सामग्री बनाउने व्यवसाय अपनाएको पाँच देखि सात वर्ष भएको चाबहिलको सडक किनारमा सिलौटो, खल, ओखल, जाँतो बनाइरहेका एक युवाले बताए ।

नेपाली नागरिकता नभएका कारण बुटवलमा एउटा सानो घर मात्र भएकाले जीवन धान्न गाह्रो परेर बालबच्चा च्यापी काठमाडौं भित्रिएको २२ वर्षिया गुडिया कुस्बाडियाले बताइन् । उनीहरूले कुँदेका सिलौटो, खल, ओखल, जाँतोको मूल्य पाँच सय ५० देखि साँढे तीन हजारसम्ममा बिक्री गर्ने गरेको गुडिया बताउँछिन् । ढुंगा कुँद्नभन्दा पनि ढुंगा पाउन र ओसारपसारका लागि निकै कठिनाइ रहेको उनहरूको गुनासो छ । सबै प्रकारका ढुंगाको सिलौटो, लोहोरा, खललगायत सामग्री नबन्ने भएकाले खास प्रकारकै ढुंगा प्राप्त गर्नु र ढुवानी गर्न ठूलै झन्झट रहेको उनीहरू बताउँछन् । यी सामग्री बनाउन आवश्यक पर्ने खास प्रकारमा ढुंगा दाङमा पाइने गरेको छ । दाङदेखि काठमाडौंसम्मको गाडी भाडा, दाङमै ढुंगा खरिद गर्न र कुँदेर बिक्री गर्दा खासै नाफा नहुने उनीहरू बताउँछन् । नाफा भने पनि मिहिनेतको शुल्क भने पनि एउटा सिलौटो बेच्दा सय रूपैयाँदेखि दुई सय रूपैयाँसम्म बच्ने गरेको छ । जबकी एउटा सिलौटो कुँद्न एक जनालाई दिनभरिजसो नै लाग्ने उनीहरू बताउँछन् । यसरी एक जनाले महिनामा अधिकतम १५ हजारसम्म कमाउने उनीहरूको कथन छ ।

 सम्पत्तीको नाममा सीप र जाँगर मात्र भएका कुस्वाडियाहरू आफ्ना छोराछोरीले यस्तो दुःख गर्नु नपरोस् भन्ने चाहन्छन् । ‘छोराछोरीले हामीलेजस्तो दुःख गर्नु नपरोस् भनेर विद्यालय पठाउने गरेका छौँ’ चाबहिलमै गुडियाकै छेउमा ढुंगा कुँदी रहेका राममिलन कुस्माडिया भन्छन्, ‘हाम्रा जातका कसैले पनि छोराछोरीलाई आफूसँग काममा लगाएका छैनन् । सबैले बालबच्चा स्कुल पठाउने गरेका छन् ।’आधुनिकता र नयाँ–नयाँ वैज्ञानिक आविष्कारले पुराना परम्परागत धेरै सामग्रीहरूलाई विस्थापित गरे पनि भान्साबाट सिलौटो, लोहोरा, खल आदिलाई विस्थापित भएका छैनन् । मिक्स्चर मेसिनले केही मात्रामा यस्ता सामग्रीको उपयोग घटाए पनि पूर्णरूपमा विस्थापित नगरेको कुस्वाडियाहरूको अनुभव छ ।

तपाइको प्रतिक्रिया