बलियो यमनविरुद्ध नेपालको सुन्दर खेल

मा प्रकाशित

nepal-vs-yeman-copyकाठमाडौं । निकै सुन्दर र आक्रमक खेल प्रस्तुत गरे पनि नेपालले घरेलु मैदानमा भएको एसियन कप फुटबल छनोटको तेस्रो चरणको खेलमा यमनविरुद्ध जित निकाल्न सकेन । फिफा वरीयतामा नेपालभन्दा ४५औँ स्थानमाथि रहेको यमनविरुद्ध घरेलु टोलीले सुरुआतदेखि नै आक्रमक खेल प्रस्तुत ग¥यो । मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा भएको खेलमा नेपालले यमनसँग गोलरहित बराबरीमै चित्त बुझायो । मध्यान्तरअघि र मध्यान्तरपछि गरी नेपालले गोल गर्ने आधादर्जन अवसर खेर फालेको थियो । यमनका केही प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए । यो खेलमा नेपाललाई हारबाट जोगाउन गोलरक्षक किरण चेमजोङको महत्वपूर्ण भूमिका रह्यो । म्यान अफ दि म्याच बनेका चेमजोङले यमनका खेलाडीले गरेको दुई खतरनाक प्रहारलाई विफल तुल्याएका थिए ।
यसअघि शारीरिक रूपमा निकै बलियो भारतसँगको मैत्रीपूर्ण खेलमा अधिकांश लङ पास खेलेर २–० ले खेल गुमाएको नेपालले छनोट खेलमा भने त्यो गल्ती दोहो¥याएन । नेपालले खेलको सुरुआतदेखि नै निकै सटिक रूपमा छोटो पास खेल्दै यमनसँग बल आफ्नो नियन्त्रणमा राख्यो । खासै राम्रो प्रदर्शन गर्न नसकेको यमनमाथि नेपालले खेलेको छैठौँ मिनेटदेखि नै दबाब बनाइराखेको थियो । खेलको १३औँ मिनेटमा अहमद अलीको प्रहार पोस्टभन्दा केही माथिबाट बाहिरिएको थियो । त्यस लगत्तै नेपालका भरत खवासले लेफ्ट कर्नर साइडबाट गरेको प्रहार पोस्टमै लागेर बाहिरियो । खेलको १८औँ मिनेटमा अहमद नबिलको सुन्दर हेड नेपालका गोलरक्षक किरण चेम्जोङले सहजै नियन्त्रणमा लिए । खेलको २५औँ मिनेटमा विशाल राईको कर्नर पासमा भरत खवास र सुजल श्रेष्ठ यमनका गोलरक्षक मोहम्मद इब्राहिम बिट भएको अवस्थामा गोल गर्नबाट चुके । त्यसपछि खेलको २७औँ मिनेटमा नेपाल र ३८औँ मिनेटमा यमन गोल गर्नबाट चुकेपछि पहिलो हाफ गोलरहित बराबरी रोकियो ।
दोस्रो हाफमा भने यमनको तुलनामा भने धेरै पोस्ट आक्रमण ग¥यो । खेलको ४७औँ र ६४औँ नेपालका अन्जन विष्ट गोल गर्न असफल भए । त्यसअघि खेलको ५३औँ मिनेट र ६३औँ मिनेटमा यमनका अहमद नविलले नेपाली रक्षापंक्तीको तालमेलको फाइदा उठाउँदै गरेको उत्कृष्ट प्रहार किरणले बचाउँदै पाहुना टोलीलाई अग्रता दिएनन् । त्यसपछि खेलको ७५औँ र ७७औँ मिनेटमा नेपालका रोहित चन्दको आक्रमक पोस्ट प्रहारलाई यमनका कप्तानसमेत रहेका इब्राहिमले उत्कृष्ट बचाउ गरेपछि नेपाली दर्शक निराश बनेका थिए । खेलको अन्तिम समयमा यमनले घरेलु टोलीमाथि दबाब बनाउँदै गोलका लागि अवसर सिर्जना गरे पनि किरणले नै त्यसलाई विफल पारेका थिए । यसअघि भने नेपालले कम्तीमा नहार्ने रणनीति लिएर खेल्ने बताएको थियो । खेल बराबरीमा सकिए पनि नेपाली खेलाडीले यसअघिका गल्ती–कमजोरी भने हटाउन सकेनन् । खेलपछि म्यान अफ दि म्याच गोलरक्षक चेम्जोङले आफ्नो खेलबाट खुसी रहेको बताए । उनले भने, ‘मेरो खेलबाट खुसी छु । देशका लागि केही गर्ने मौका पाएँ । अझै योगदान दिन चाहन्छु ।’ नेपालका प्रशिक्षक ग्योतुकी कोजीले यमनसँग नेपालले राम्रै खेलेको बताए । उनले भने ‘नेपालको प्रदर्शन खराब होइन, राम्रो गरेको हो । तर, गोल हुन सकेन । आशा राम्रो थियो । त्यस अनुसार भने भएन ।’

यमनसँगको नतिजामा सुधार
फिफा वरीयतामा यमन १२४औँ रहेको छ भने नेपाल १६९औँ स्थानमा छ । योसँगै नेपालले यमनसँग ३ खेल खेलेको छ । यसमा नेपाल २ खेलमा पराजित भएको छ । सन् २००० मा एएफसी एसियन कपमै ३–० र सन् २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २–० गोल अन्तरले पराजित भएको थियो । एसियन कप छनोटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । यमनले ताजकिस्तानलाई २–१ ले हराएको थियो । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । मंगलबारको खेलमा नेपालसँग बराबरी गरेपछि यमन २ खेलबाट ४ अंक जोड्न सफल भएको छ । नेपालको भने २ खेलबाट १ अंक मात्रै भएको छ । र, समूहको तेस्रो स्थानमा रहेको नेपालको दोस्रो चरण पुग्ने सम्भावना कायम छ । नेपाललाई पराजित गरेको फिलिपिन्स १ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । अंकविहीन ताजकिस्तान पुछारमा छ ।

सन् २०१९ को जनवरी ५ देखि १ फेबु्रअरीसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपमा २४ टिमको सहभागिता रहनेछ । अहिलेसम्म प्रतियोगिताका लागि १२ टिम यसअघि नै छनोट भएका छन् । थप १२ टिममा पर्नका लागि अहिले प्रतिस्पर्धामा छन् । यो तेस्रो चरणको छनोट प्रतिस्पधा हो । अब नेपालले आगामी वर्षको २७ मार्चमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले आफ्नो तेस्रो खेलमा ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग घरेलु मैदानमै खेल्नेछ । नेपालले १० अक्टोबरमा ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । होम एन्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्नेछन् । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष २ मा पर्ने टोलीले २ वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

तपाइको प्रतिक्रिया