भलिबल संघका अध्यक्ष र महासचिव नेदरल्यान्डतर्फ

मा प्रकाशित

volleyball
काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द मंगलबार नेदरल्यान्ड प्रस्थान गरेका छन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द त्यसतर्फ प्रस्थान गरेका हुन् । बुधबारदेखि नेदरल्यान्डमा सुरु हुने विश्व लिग भलिबल र विश्व वीच भलिबल टुरको अवलोकनका लागि शर्मा र चन्द त्यसतर्फ प्रस्थान गरेका हुन् । विश्व लिग भलिबल र विच भलिबल टुर जुन १८ सम्म सञ्चालन हुनेछ । नेदरल्यान्ड बसाइँका क्रममा डच प्रशिक्षक म्याट भान विजलसँग सम्झौता हुने महासचिव चन्दले जानकारी दिए ।

नेपाल भलिबल संघको विशेष अनुरोधमा विश्व भलिबलको सर्वोच्च संस्था एफआइभिबीले आफ्ना इन्स्ट्रक्टर म्याट भान विजललाई नेपाल पठाउन लागेको हो । ६ दिने नेदरल्यान्ड बसाइँका क्रममा अध्यक्ष शर्मा र महासचिव चन्दले नेदरल्यान्डको भलिबल एकेडमी, जिम र अन्य भौतिक पूर्वाधारको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छन् । ‘एफआइभिबीले नेपाली भलिबलको स्तर वृद्धिमा सहयोग प¥ुयाउन आफ्ना इन्स्ट्रक्टरलाई नेपाल पठाउन लागेको महासचिव चन्दले एयरपोर्टमा सञ्चारकर्मीलाई जानकारी दिए ।

नेदरल्यान्डपछि स्वीजरल्यान्डको लुजानमा रहेको एफआइभिबीको मुख्यालयको अवलोकन गरिने महासचिव चन्दले जानकारी दिए । उनले स्विट्जरल्यान्डमा रहँदा दुई पक्षीय सहयोगका विषयमा पनि छलफल हुने जानकारी दिए । अध्यक्ष शर्मा र महासचिव चन्दलाई भलिबल संघका सचिव श्याम श्रेष्ठ, सदस्य रिता कोइराला, अन्तर्राष्ट्रिय रेफ्री क्यानिडेड चन्दवदना राई, प्रशिक्षक, खेलाडीहरूले एयरपोर्टमा बिदाइ गरे । उनीहरू १४ असारमा नेपाल फर्किनेछन् ।

तपाइको प्रतिक्रिया