गल्फर सचिन र प्रतिमाले अमेरिकामा प्रशिक्षण लिने

२०७४ असार २ गते ९:३३ मा प्रकाशित
सौर्य समाचार

02_Asar_2

काठमाडौं २ असार । प्रो.गल्फर सचिन भट्टराई र सफल महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकामा गल्फ प्रशिक्षण लिने भएका छन् । उनिहरूले अमेरिकाको क्यालिफोर्नीयास्थित गल्फ कोर्समा प्रशिक्षणका साथै ३ प्रतियोगिता खेल्नेछन् । अमेरिकी दम्पती मिकेल र तान्या स्मिथको विशेष सहयोगमा गल्फरद्वय सचिन र प्रतिमाले प्रशिक्षणको अवसर पाएका हुन् । प्रतिमाको प्रशिक्षकसमेत रहेका सचिनले क्यालिफोर्नियामा गल्फ फिजिकल फिटनेस कोर्स र गल्फ म्यानेजमेन्ट कोर्स लिनेछन् । उक्त कोर्स पूरा गर्नका लागि सचिनले परिक्षासमेत दिनुपर्नेछ ।

sachin n pratima

यसै सिजन १७औँ प्रो.गल्फरमा उक्लिएका सचिनले क्यालिफोर्नियामा विशेष प्रशिक्षण र प्रतियोगिताबाट सिकेको ज्ञान नेपालको गल्फ विकासका लागि योगदान दिने बताए । यसअघि सचिन ३३औँ स्थानका प्रो.गल्फर थिए । नेपालकी नम्बर १ गल्फरको रूपमा स्थापित हुँदै गरेकी प्रतिमाले अमेरिकामा करिब २ महिना प्रशिक्षण लिनेछिन् । प्रतिमाले जुलाई १८ देखि २१ सम्म टाइटलिस्ट म्याच प्ले च्याम्पियनसिप, जुलाई ३१ मा फाउन्डर कप र अगस्ट ५ देखि ६ मा टेलरमेड टुर च्याम्पियनसिप गरी ३ प्रतियोगिता खेल्नेछिन् ।

जुनियर गल्फरतर्फ च्याम्पियन प्रतिमा पछिल्लो समय महिलातर्फ पनि च्याम्पियनको रूपमा स्थापित हँुदै छिन् । प्रतिमाले सो दौरान विभिन्न गल्फ कोर्सको प्रशिक्षणसमेत लिनेछिन् । प्रशिक्षणमार्फत सिकेको ज्ञानले देशका लागि केही गर्ने अठोट रहेको प्रतिमाले बताइन् ।

तपाइको प्रतिक्रिया