विश्व अर्थतन्त्रमा खतराको बादल

मा प्रकाशित

sankat

काठमाडौं २ असार । बजारका सूचकहरु नियमित रुपमा तलमाथि गरिरहनु नौलो होइन । बजारमा ‘बबल’ देखिनु पनि सामान्य कुरा हुन् । तर डिजिटल करेन्सी ‘बिटक्वाइन’ को हाल देखिएको बुम भने असामान्य छ । गत मे २४ मा यसको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी दुई हजार चार सय २० डलर पुगेको थियो । यदि कसैले सन् २०१० मा एक हजार डलरको विटक्वाइन किनेको रहेछ भने, त्यसबेला त्यसको प्रतिक्वाइन (इकाइ) मूल्य ० दशमलब ०५ डलर थियो र अहिले त्यति बिटक्वाइनको मूल्य ४६ मिलियन डलर भैसकेको छ । झण्डै ८० बिलियन डलरको सामूहिक बजार मूल्य भएको बिटक्वाइनको बजार यसरी बढ्नुले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?  बिटक्वाइनको मूल्यमा देखिएको यो बढोत्तरी निरन्तर रहिरहन भने कठिन छ । अहिले बिटक्वाइनमा ‘बबल’ भन्ने शब्द जोडिइरहेको छ । केले गर्दा यसको मूल्य यसरी माथि गएको हो भन्ने प्रश्न महत्वपूर्ण भएर आएको छ ।

बिटक्वाइनको बजार अनुमान र सम्भावनाको भरमा मात्र चलिरहेको छ र त्यसै अनुमानका कारण नै यसको बजार मूल्य बढिरहेको देखिन्छ । तर के यसले विनिमयको माध्यमको रुपमा वा सञ्चिती मूल्य भएको कारण बजारमा कारोबार गर्न सक्षम छ त भन्ने प्रश्नको उत्तर आवश्यक छ ।  सत्रौं शताब्दीमा हल्याण्डमा भित्र्याइएको ‘ट्युलिफ’ फूलको क्रेज यतिसम्म बढ्यो कि यसको गानोको मूल्य बजारमा तोकिएभन्दा दश गुना बढीसम्म पुगेको थियो । मानिसहरुमा केही सोचबिचारै नगरी यसमा पैसा खन्याइरहेका थिए । तर केही समयको बबलपछि ट्युलिपको ब्यापार धरासायी भयो । त्यसबेलाको ट्युलिपमेनियालाई अझै पनि इकोनोमिक बबलको राम्रो उदाहरणका रुपमा लिइन्छ ।  के बिट क्वाइन पनि त्यही ‘ट्युलिपमेनिया’ जस्तै हो ? वा यसको उपस्थिति सुन वा डलरको जस्तो दीर्घकालीन हुनेछ ? अथवा विटक्वाइन यी सबैभन्दा विल्कुलै फरक केही चिज हो, जसले बिनिमय बजारमा बिकल्पको रुपमा आफूलाई प्रमाणित गर्न खोजिरहेछ ।
बिटक्वाइनप्रति बजारमा एक किसिमको क्रेज देखिएको छ, जसका कारण यसको मूल्य बढिरहेको छ । खुद्रा लगानीकर्ताहरु बजारमा जमेर लागेका छन् । बिटक्वाइनमा लगानीका लागि धेरै किसिमका विकल्पहरु तयार गरिएका छन् । अदृश्य ढंगबाट भैरहेको यसको कारोबार अब खुलेरै इनिसियल क्वाइन अफरिङ अर्थात् आइसिओसमेत जारी गर्नेसम्ममा कुराहरु सार्वजनिक हुन थालेका छन् । विभिन्न फर्महरुले आइसिओ जारी गरी त्यसबाट लगानीकर्ताहरुले सजिलै डिजिटल टोकन किन्न सक्ने किसिमको कारोबार प्रणालीसमेत बिस्तार हुँदैछ । तर, बिटक्वाइन कुनै पनि बैंकिङ प्रणालीसँग जोडिएको छैन । न त यो कुनै पनि देशको केन्द्रीय बैंकसँग सम्बन्धित कारोबार प्रणाली हो । त्यसैले ठगी वा जालसाजी गर्नेहरुका लागि यो राम्रो थलो बन्न सक्छ । यो गैरकानुनी गतिविधि गर्नेहरुका लागि किन पनि लाभदायक छ भने, उनीहरुले यसबाट पिज्जादेखि कम्प्युटरसम्म किन्न सक्छन् ।

बिटक्वाइनको बजार स्थीर छैन । सन् २०१३ मा उचालिएर ११ सय डलरसम्म पुगेको बिटक्वाइनको मूल्य अर्को साल सन् २०१४ मै तल झरेर २ सय डलर भएको थियो । अहिले जुन किसिमले यसको मूल्य आकासिएको छ यो जुनसुकै बेला पनि गर्लम्म ढल्न सक्छ ।  डिजिटल गोल्डको रुपमा बजारमा उदाएको बिटक्वाइनले डलर, यूरो वा ऐनले जस्तो विनिमयको साधनको मान्यता पाउने आशा गरिरहेको छ । तर नियामक निकायहरुले बिटक्वाइनलाई गम्भीरतापूर्वक लिएका छन् । जापानले बिटक्वाइनलाई अन्य मुद्रासरह मान्यता दिने निर्णय गरेलगत्तै यसको भाउ ह्वात्तै बढेको हो । तर, बिटक्वाइन प्रणालीका पनि आफ्नै किसिमका सीमितता छन् । यसका डेभलपरहरु नै यसको विनिमय प्रणालीलाई कसरी बिस्तार गर्ने र कसरी ह्यान्डल योग्य बनाउने भन्ने बारेमा स्पष्ट छैनन् । चुस्त दुरुस्त कारोबार प्रणाली नभएका कारण औसत चार डलर सेवा शुल्क तिरेर पनि बिटक्वाइनको कारोबार कन्फर्म गर्न घन्टौ कुर्नुपर्ने अवस्था छ ।

यसको सुविधाजनक कारोबार हुन सकिरहेको छैन । यसको तुलना इन्टरनेट र डटकमसँग गर्न सकिन्छ । सन् १९९० को दशकमा आएको इन्टरनेटले जस्तै बिटक्वाइनले पनि आफैँमा प्रयोग तथा आविष्कारहरु गरिरहेको छ । इन्टरनेटले जसरी पब्लिक डेटाबेस तयार गर्छ त्यसरी नै पब्लिक डेटाबेस तयार गर्ने, व्यवस्थित गर्ने र विस्तार गर्नेतिर बिटक्वाइनका डेभलपरहरु लागिरहेका छन् । बिटक्वाइन खरिदका लागि आइसिओ जारी गर्नेसम्ममा प्रयोगहरुतर्फ भने निकै होसियार हुनुपर्ने देखिन्छ । बजार अध्ययन गर्दा बिटक्वाइनका फ्यानहरु चाहन्छन् बिटक्वाइन पनि एमेजन र फेसबुक जस्तै गरी बिकेन्द्रिकृतरुपमा विकास होस् ।  तर बिटक्वाइनमा कुनै पनि किसिमको प्रयोगको सोच हानिकारकसमेत हुनसक्छ । लगानीकर्ताहरु एकै झट्कामा टाट उल्टिन सक्छन् । यसले एकपछि अर्को वित्तीय प्रणालीमा हलचल पैदा गर्न सक्छ । तर यसरी मानिसहरु यस्ता मुद्रामा लगानी गरिरहेका छन् ?

के उनीहरु यस्ता किसिमका जोखिमहरुबारे जानकार छैनन् होला र ?  बिटक्वाइनका डेभलपरहरु प्रणालीगत रुपमा अघि बढिरहेकाले यसको कारोबार प्रणालीमा त्यत्ति सजिलै संक्रमण भइहाल्ने सम्भावना छैन तर बजारमा देखिएको बबल कतिको स्वस्थ हो भन्ने बारेमा नियामक निकायले निकै चनाखो भएर हेर्नुपर्ने हुन्छ । बिटक्वाइनबाट लागुपदार्थ कारोबारजस्ता कुनै पनि किसिमको आपराधिक गतिविधिहरु त भैरहेका छैनन् भन्ने बारेमा नियमन हुनु अत्यावश्यक छ । यस्तै बिटक्वाइन खरिदका लागि जारी गर्ने आइसिओका बारेमा पनि दोहो¥याएर सोच्नुपर्ने अवस्था देखिन्छ । यतिबेला बजारमा बिटक्वाइन ‘स्मार्ट’ त देखिएको छ तर यसले जुन बबल सिर्जना गरेको छ त्यो जतिबेला पनि फुट्न सक्छ भन्नेतर्फ पनि चनाखो हुनैपर्छ ।

तपाइको प्रतिक्रिया