चिन्तन -कुरा धर्म र ओशोको

मा प्रकाशित

आनन्द छ आफु भित्र बाहिर खोज्दा भेटिँदैन, धन, पद जति जोड तृष्णा कहिलै मेटिँदैन । धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आआफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् । त्यस्तै हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एकएक थरी धर्म अँगालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौं । तिनै ईश्वर प्राप्तिका लागि भनेर पूजापाठ गर्ने, खसीबोका, हाँसकुखुरा बली दिने गर्छौं । कोही मूर्तिका सख्त विरोधी छौँ त कोही अन्धभक्त छौँ । हिन्दूले लक्ष्मी माता मानेर पूजा गर्नेे गाई मुस्लिमको अल्लाह खुसी पार्ने आधार बन्दछ । यसप्रकार विरोधाभाषी क्रियाकलापमार्फत हामी मान्छे कर्तव्य निर्वाह र धर्म प्राप्तिको मार्गमा सरिक छौँ । फलस्वरूप धनजनको संहार गर्ने धर्मयुद्ध भएका छन्, भइरहेका छन् ।

धर्मको प्रचार र रक्षार्थ भनी खर्चिला यज्ञयज्ञादि, तीर्थयात्रा, गोष्ठी, सम्मेलन आदि भइरहेकै छन । र, पनि न मानसंहार रोकिएको छ, न त धन विनास थामिएको छ । आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहंकार र ईष्र्या जागा अवस्थामा छ । कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावनाले गर्दा मानवता नै हराउन थालेको छ । आजका हामी ढोंगी, स्वार्थी, संकीर्ण, आडम्बरी भएर स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिर्सी लुच्चा, लपंmगा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु भइरहनु मानव सभ्यताकै दुर्भाग्य हो । मौखिकरूपमा हामीले सुमार्गमा फर्केका हुन सक्छौँ, तर हाम्रो मन फर्कन सकेको छैन । मन फर्काउन चित्तशुद्धीको अभियानमा सरिक रहनु आवश्यक हुन्छ । यसका अनगिन्ती मार्गमध्ये ध्यान, योग, प्रणायमको मार्ग एक महत्वपूर्ण मार्ग हो ।

ओशो विचार र वर्तमान ध्यान भनेको ऊर्जा, उत्प्रेरणा, स्फुरण र ऊर्वरताको अर्को नाम हो । ध्यानसाधना पथमा डुबुल्की लगाउनेले जीवनमा असिम अनुभूति आर्जनका संयोगहरू प्राप्त गर्दछ । ध्यान गर्ने पनि छुट्टै किसिमको विधान छ । कुनै कुरा नसोची, कुनै विचार नगरी, कुनै कुराको चाहना र कामना नगरी सिर्फ श्वासप्रश्वासको आउने जाने प्रक्रियामा साक्षी भएर हेर्दै जाने हो भने एउटा क्षणमा पुगेर निर्विचार साक्षीभावलाई समात्न सकिन्छ । त्यसपछि भने असिमताको अनुभूति हुनथाल्छ । यसले विवेक र प्रज्ञा, समझ र संवेदना बढाउँछ । हिन्दू धर्मले सत्य, चेतना र आनन्दमय (सचितानन्द) मानेको हामीभित्रको विशाल ऊर्जा जसलाई सक्रिय पार्न ध्यान, योग, प्रणायमको आवश्यकता पर्दछ । चन्द्रमोहन जैन नामले बाल्यकालमा चिनिएका ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेश, जवलपुरमा जन्मेका र १९ जनबरी १९९० मा देह त्याग गर्न पुगेका ध्यान, योग, प्रणायम र सशक्त विचारबाट विश्वलाई नै विउँझाउने एक दार्शनिक ओशोले मान्छेलाई सरल र सहज तवरले जिउने कला सिकाएका छन् ।

हाँसोको माध्यमबाट मान्छेभित्रको आनन्दलाई उपयोग गर्न सकिने कुरा बताएका छन् । उनले परिस्थितिलाई होइन मनस्थितिलाई बदल्न र जीवनदेखि डरले भागेर होइन जागेर होससहितको कृत्यमा सरिक हुनुपर्ने जनाएका छन् । होस नै पुण्य र बेहोसी नै पाप भन्ने उनको दार्शनिकताको मूल पाटो हो । करिब ६ सय ५० पुस्तक ५० भन्दा बढी भाषामा प्रकाशन गरिसकेका ओशोले विविध विषयमा आफ्ना विचार प्रकट गरेका छन् । प्रस्तुत छन्, तीमध्ये वर्तमानलाई पक्रने केही विचारहरू– राजनीति– ‘राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरूमाथि विजय पाउनु छ, त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजय प्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन । जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ त्यस दिन राजनीति खासमा राजनीति नै रहनेछैन । राजनीतिको गुणवेत्ता नै अर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ । मलाई लाग्छ, त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रूपान्तरण हुनेछ ।’ गुरु– ‘धर्मलाई नष्ट गरिदिए पण्डित एवं पूजारीले । ठीक के हो भन्ने जान्ने मान्छे अरूलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न ।

अनुयायीले झमेला खडा गर्छन्, संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही कसैका शिष्य नबनून् । अनि मात्र हिन्दू, जैन, क्रिस्चियन, इस्लामबीच भएको मतभेद टुंगिन्छ । कुनै राम, कृष्ण, क्राइस्ट, बुद्ध, मोहम्मदहरूले कहिल्यै मतभेद ल्याएनन् । यी सब अनुयायीहरूले खडा गरेको चुनौती हो । मान्छेले स्वविवेकले काम गर्न सक्नुपर्छ ।’ देवता– ‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी पनि आफूलाई देवतामा परिणत गर्न सक्छौ ।’ मृत्यु– ‘मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ, तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो ? म¥यो ? तन्नेरी थियौ, अब बुढो भयौ । त्यो तन्नेरी कहाँ म¥यो त ? जसरी मानिसको उमेरअनुसार रूप परिवर्तन हुँदै जान्छ, मृत्यु पनि रूप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ ? आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।’

क्रान्ति– ‘अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुई÷चार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।’ पाखण्ड– ‘जो सहजताका साथ बाँच्छ, जसको कुनै आदर्श हुँदैन, जो आफ्नो स्वभावमा बाँच्छ, उसको जीवन पाखण्ड हुँदैन ।’ पुरुष÷स्त्री– ‘पुरुष एक प्रकारको सतह हो, जहाँ सक्रियता छ, आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो, जहाँ सबै मौन र शान्त छ । तर, ख्याल रहोस् पुरुषको जुन सक्रियता छ, स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु, स्त्री केन्द्रमा छ, पुरुष परीधिमा छ ।’

भोजनकला– ‘भोजन गर्ने बेलामा तिमी भोजनलाई राम्ररी हेर, सुँघ । कुनै हतार नगर । भोजन ग्रहणलाई नै ध्यान बनाऊ । कसैले तिमीलाई पागल ठान्छन् भने ठान्न देऊ । खानालाई चारैतिरबाट ओल्टाइपल्टाई हेर । अनि आँखा बन्द गरेर त्यसलाई छोऊ । गालामा लगाऊ । हर प्रकारले खानाको महसुस गर । अनि थोरै मुखमा लेऊ र त्यसलाई धेरै बेरसम्म स्वाद लिई चपाऊ । त्यसको पूरापूरी स्वाद लेऊ । त्यसबेला तिमीलाई थोरै खाना पनि पर्याप्त हुन्छ ।’
प्रेम– ‘प्रेम स्वभाव हो, सम्बन्धको कुरा होइन । प्रेम हो स्टेट अफ माइन्ड । प्रेम हामी भित्रै छ । प्रेम हाम्रो स्वभाव हो, जसलाई खोज्न कहीँ जानुपर्दैन ।’

सेक्स– ‘सेक्स परमात्माको शक्ति हो । आनन्दको द्वार हो । मैथुनको समयमा मन विचार शून्य हुन्छ । सोही विचार शून्य अवस्था नै आनन्दको वर्षाको कारण हुँदो रहेछ र म भन्छु, जुन रसको अनुभूति सेक्सको समयमा हुन्छ, त्यो विनासेक्स पनि बर्सिन सक्छ । त्यो सूत्र हो ध्यान । त्यसैले म सेक्सको शत्रु हुँ । तर, मेरो शत्रुताको अर्थ के होइन भने म सेक्सको निन्दा गर्छु । मेरो शत्रुताको मतलव के हो भने म सेक्सलाई रूपान्तरण गर्न चाहन्छु । सेक्सको निन्दा गर्ने होइन, बरु काम ऊर्जालाई राममा परिणत गर्ने हो ।’

धर्म– ‘तिमीभित्र जुन चेतना छ, त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ, त्यही प्रज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो, मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।’

हाँसो– ‘हाँसोले तिमीलाई निर्मल बनाउँछ । तिमीलाई जीवन्त, ऊर्जावान् तथा सिर्जनशील बनाउँछ । हाँसो मानिसले प्रकृतिबाट पाएको सबभन्दा गहिरो औषधि हो । हरेक बिहान जाग्नासाथ आँखा नखोलिकन पाँच मिनेट खित्का छाडेर हाँस । त्यसले पूरै दिन उत्सवमय बनाइदिनेछ ।’
गरिबी– ‘गरिबी प्रकृतिको सिर्जना होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर, मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।’

मानिस– ‘कुनै पनि मानिसमा उसका पहिलेका जन्महरूको स्मृति जगाउने हो भने थाहा हुन्छ, ऊ मानिस हुनुभन्दा पहिले गाई थियो आत्मिक विकासको हिसाबले । शारीरिक हिसाबले त ऊ बाँदर नै थियो । यसरी हेर्दा मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो ।’

जीवन– ‘जीवन नै परमात्मा हो र जीवन नै मोक्ष हो । जुन मानिस जिउने कला जान्दछ, जीवनको गहिराइमा तैरिन र उचाइमा पुग्न सक्छ । त्यस मानिसले कहिल्यै सोध्ने छैन कि जीवनको लक्ष्य के हो ? उसलाई त जीवन नै पर्याप्त हुनेछ ।’ मानिसलाई नीति सिकाएर हैन, प्रज्ञा दिएर, विवेकको आँखा खोलिदिएर ओशोले गरेर मान्छेलाई होसपूर्ण जीवन जिउन सिकाए ।

व्यक्ति–व्यक्तिमा करुणा, प्रेम, शान्ति, सद्भाव फैलाएर व्यक्ति विशेषको आन्तरिक इलाज गरी समाज र राष्ट्रलाई उँभो लगाउने महान् लक्ष्य प्राप्ति गराउन ध्यानले सहयोग पु¥याउने कुरा सत्य सावित भइसकेको छ । समाजमा मौलाउँदै गएको अराजकता, अशान्ति, राजनीतिक अस्थिरता र वैमनस्यताले मानवीय संवेदना नै ह्रास भइरहेकोले व्यक्तिको वैयक्तिक चिन्तनमा निखारता आउनु जरुरी भएको छ । आजको युगमा मान्छे आफूभित्रको सत्रुबाट भागिरहेको छ, अत्तालिरहेको छ, ध्यानमार्फत मान्छेको खराब आचरणमा सुधार ल्याई असल मान्छेमा रूपान्तरण गर्न सकिन्छ । यो संसार धेरै भोगवादी र थोरै त्यागवादी मिलेर बनेको छ । स्वर्ग र नर्क कसैले देखेको छैन । तसर्थ जीवन रहेसम्म भोग गर्नुपर्छ भनेर भोगवादी भन्छन् भने यो अनित्य र भ्रमपूर्ण संसारलाई त्यागेर ईश्वरलाई खोज्नुपर्छ भनेर त्यागवादी तर्क गर्छन् ।
कजानजाकिस भन्ने उपन्यासकारको ‘जोर्बा दि ग्रीक’ उपन्यासमा जोर्बा एक पात्र छ । ऊ थोरै कमाउँछ तर सधैँ प्रसन्न र आनन्दित रहन्छ । ऊ स्वच्छन्द जीवन बाँच्छ । वर्तमानलाई मज्जाले भोग्छ । ऊ पलपलको आनन्द लिइरहन्छ । दुःखमा पनि र सुखमा पनि आनन्द देख्छ । उसले लिने आनन्दको कुनै सीमा छैन । उसमा उत्सवको संगीत छ, प्रेमको नृत्य छ र जीवनको लालित्य छ । जोर्बाले भोगेको आनन्द आध्यात्मिक र मनोवैज्ञानिक पक्षसँग सम्बन्धित छ । तर, यहाँ नानाभाँती गरेर अकूत सम्पत्ति जोडेर भोग गर्नेहरू छन् । उनीहरूलाई कतिबेला विपत्ति आउला कि भन्ने डर छ ।

साँचो आनन्द पाउन सकेका छैनन् । अरूलाई रूवाएर आनन्द लिने यो एक पक्ष हो भने अरूलाई समेत हँसाएर आनन्द लिने जोर्बाको अलग्गै पक्ष हो । जोर्बामा उत्सवमय आनन्द छ तर मौनको शान्ति छैन । बुद्धमा मौन साधनाको शान्ति र सौहार्दता छ तर गीत, संगीत र नृत्यको उत्सवमय आनन्द छैन । यी दुबै अपूर्ण छन् भएकाले जोर्बा र बुद्धको एकै ठाउँमा मेल भएको ‘जोर्बा दी बुद्ध’ नै पूर्ण मान्छे हो भन्ने ठहर ओशोको छ । वास्तवमा भौतिक समृद्धि ल्याउने विज्ञान र आन्तरिक आनन्द दिलाउने आध्यात्म दुबै हाम्रो जीवनलाई आवश्यक छ । माक्र्सवादले भौतिक समृद्धि ल्याए पनि मनोक्रान्ति ल्याउन सकेको देखिन्न । बुद्धले शान्तिको मार्ग पक्रे तर भौतिक समुन्नतिको अध्याय छाडिदिए । यिनै अपूर्णतालाई पूर्ण गर्न र मानव जीवनको सांगोपांगो पक्षलाई बुझ्न पनि आध्यात्मिक क्रान्तिको खाँचो छ जुन धर्म र सम्प्रदायको पुच्छर पक्रेर र बुइ चढेर सम्भव छैन ।

निरपेक्ष भई ध्यानसाधनामा डुबुल्की लगाउनु उत्तम मार्ग हो । र, अन्यमा जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ, त्यसरी नै मानिसले पनि प्रकृतिको झैँ भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान गर्न सकेको छैन । आफूभित्र अन्तर्नि्हित ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ–पैसा भए सब थोक साथमा, नभए सब थोक पाखामा । पद र पैसाकै पछि लागेर मान्छेले धर्म छाडेको छ, बाटो विराएको छ । पुराणमा वर्णित महामुनि दत्तात्रयले ब्रह्माण्डका अनगिन्ती वस्तु तथा जीवमध्ये पृथ्वी, जल, वायु, आकाश, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, समुद्र, पुुतली, भँवरा, मौरी, हात्ती, मृग, माछा, वेश्या, चिल, बालक, कन्याकेटी, वाण बनाउने मानिस, सर्प, माकुरो, कुमालकोटी गरी २४ वटालाई गुरु थापेका थिए । यिनीहरूबाट उनले सकारात्मक शिक्षा मात्र लिएनन्, नकारात्मक शिक्षाको पनि लिए ।

जस्तो– सुन्दरता र प्रकाशको पछाडि अति मोहित भएर झुम्मिदा बत्तीमा डडेर मरेको पुतलीबाट, स्वादको आशक्तिले बल्छीमा उनिएको माछाबाट, अति संचयको कारणले मान्छेको मशालबाट झोसिएको मौरीबाट, श्रवण इन्द्रिय कानको आनन्दको निम्ति घन्टीको आवाजमा एकोहोरिँदा सिकारी र सिकारी कुकुरको फन्दामा परेको मृगबाट । त्यस्तै धर्मको आशक्ति, पार्टी, समूह र पन्थको अन्धो अनुयायी आदिका कारण वैचारिक स्खलन हुनबाट बच्नुपर्ने आवश्यकता छ । ओशोको वैचारिक पक्ष र ध्यानसाधनालाई अंगिकार गर्दै संसारभरि ओशो ध्यानकेन्द्र खोलिएका छन् । यसमा पनि दुई विचारका समूह रहेका छन् । ओशोके घुँघरु, ओशो प्रेमके गीत र कृष्ण भजनजस्ता तीन वटा भजन प्रकाशन गरिसकेका ओशो मधुवन माइधार, झापाका ओशोप्रेमी गणेश बराल ओशोधारा अंगाल्नेहरूले ओशोको नाममा राजनीति गरिरहेको आरोपसमेत लगाउँछन् । ओशोलाई परमगुरुको दर्जा दिएर सिद्धार्थ, शैलेन्द्र र प्रियाले आफूहरूलाई सद्गुरु घोषणा गरेको कुरासमेत उनी बताउँछन् । विश्वका सम्पूर्ण देशमा ध्यान केन्द्र रहेका सद्गुरु ओशो नै वर्तमान र भविष्यका लागि काफी रहेकोले ओशोको नाममा सद्गुरु कहलाउने अरू बनावटी गुरु यस समाजलाई आजसम्म खाँचो नपरेको विचारसमेत उनी पोख्छन् ।

एकले अर्कालाई आरोपप्रत्यारोपको खेल खेल्नु निश्चय नै साधनापथमा लागेकाहरूको बौद्धिक दरिद्रता हो । अतः माथि वर्णित प्रसंग पुतलीबाट अति मोह र अति आकर्षण सुखद नहुने शिक्षा अबलम्बन गर्नु आवश्यक देखिन्छ । ओशोमार्ग धर्म होइन । कुनै निश्चित नीति र नियमलाई अनुसरण गर्नुपर्ने कुनै नियम पनि छैन । यो त ध्यानसाधना गर्ने र ओशोका विचार बुझ्ने एउटा समूह मात्र हो । मानिसहरू भ्रमपूर्ण संसारलाई चिन्ने र मनका बेसुद्धिहरूको रूपान्तरणका लागि सक्रिय रहने मनसायले ओशोपथमा सक्रिय हुन्छन् । ‘संसारका विरोध संन्यास नही हैं, संसारकी सुद्धी संन्यास हैं’ भनेर ओशोले भनेका छन् । बेसुद्धिपनबाट मुक्त होससहितको मनोदशाको नाम नै सन्यास हो । उनले योग प्रणायामबाट जीवन, प्रेम र मृत्युको अनुभूति गराई मान्छेलाई सुयोग्य मानव भएर बाँच्न अभिप्रेरित गरेका छन् । हामीले पनि मानवधर्म स्वीकार गरी लोककल्याणमा आफ्ना कृत्यलगानी नचुक्नु आवश्यक भइसकेको छ ।

तपाइको प्रतिक्रिया