आइडब्लुएफएन कराते सुरु

२०७४ असार ४ गते ८:१३ मा प्रकाशित

2काठमाडौं । आइडब्लुएफएन कराते डो संघको आयोजनामा प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीबीच विभिन्न स्पर्धामा प्रतिस्पर्धा भएको छ । पुरुषको ३० केजीमा गोमन गिरीले सोनाम लिम्बू तथा विशाल शाहले सन्देश गुरुङलाई पराजित गर्दै सेमिफाइनलमा पुगे । ४० केजीमा सुविन सुनुवारले रविन श्रेष्ठ तथा राजन ब्लोन तामाङले अरुण मगरलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

iwfn karate suru

त्यस्तै पुरुषको ४५ केजीमा आकाश मण्डल र सरोज लामा, ३५ केजीमा आर्यामान भण्डारी र सुरेन्द्र तामाङ तथा २० केजीमा रमेश अर्याल र अपिल पौडेल सेमिफाइनलमा पुगे । महिलाको २५ केजीमा इशारा मगरले खुसी मण्डल तथा दीपा राईले मनीता घलेलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । प्रतियोगिताको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा नेपालबाट १ सय ३५ पुरुष र ७० महिला, भुटानबाट ९ पुरुष तथा भारतबाट १ सय ४० पुरुष र ३० महिला गरी जम्मा ३ सय ८४ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव उपेन्द्र शाहले जनाएका छन् । बंगलादेशको टिम आइतबार आउने बताइएको छ । दुईदिने प्रतियोगितामा २९ स्पर्धा समावेश छन् । (सौस)

तपाइको प्रतिक्रिया