वायु ऊर्जामा लगानीकर्ताको चासो

२०७४ असार ४ गते ८:४८ मा प्रकाशित
सौर्य समाचार

bau urja

काठमाडौं ४ असार । व्यावसायिक रूपमा वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले चासो देखाउन थालेका छन् ।  जलविद्युत् आयोजना निर्माणका लागि लामो समय लाग्ने र लगानी पनि धेरै हुने भएकाले वायु ऊर्जाका क्षेत्रमा लगानीकर्ता आकर्षित हुन थालेका हुन् । पछिल्ला दिनमा विद्युत् विकास विभागमा विभिन्न चार कम्पनीले वायु ऊर्जा उत्पादनका लागि अभिरुचि देखाएका छन् ।  ऊर्जा मन्त्रालयअन्र्तगत विद्युत् विकास विभागमा पछिल्लो दिनमा मुलुकका विभिन्न चार स्थानमा कुल १० मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनको सर्वेक्षणका लागि निवेदन दिएका छन् । तीमध्ये मुस्ताङमा मात्रै दुईवटा कम्पनीले सर्वेक्षणको लागि आवेदन दिएका छन् ।  कागबेनी विन्ड पावर परियोजनाका लागि मुस्ताङको कागबेनीमा पाँच मेगावाटको वायु ऊर्जा प्रणाली जडानसम्बन्धी अध्ययन एवम् सर्वेक्षणका लागि आवेदन दिएको छ । यस्तै एभरेस्ट विन्ड इनर्जीले कागबेनीमा नै एक मेगावाटको वायु ऊर्जा प्रणाली जडानका लागि सर्वेक्षण गर्ने अनुमतिका लागि आवेदन दिएको छ ।
त्यस्तै नवलपरासीको रत्नपुरमा तीन मेगावाट क्षमताको परियोजना अगाडि बढाउने लक्ष्यका साथ वायु ऊर्जा प्रालिले आवेदन दिएको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिइ) बाबुराम अधिकारीले जानकारी दिए । गत १८ जेठमा बसेको लगानी बोर्डको बैठकले समेत मुलुकभरको वायु प्रवाहको अवस्था एवम् हावाबाट बिजुली निकाल्ने सन्दर्भमा डेनमार्कको एक कम्पनीलाई अध्ययन गर्ने स्वीकृति दिएको थियो । डेनमार्कको कम्पनीले उसकै खर्चमा एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्न गरेको मागका आधारमा बोर्डले स्वीकृति दिएको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मुलुकका विभिन्न दस स्थानमा वायु ऊर्जाका लागि उपयुक्त स्थानको रूपमा घोषणा गरेको छ । केन्द्रले ओखलढुंगा, नगरकोट, रूपन्देही, कागबेनी, थिनी मुस्ताङ, बतासेडाँडा पाल्पा, रामेछाप, फाखेल मकवानपुर, नेटा प्यूठानमा गरेको अध्ययन तथा वायुको अवस्थाका बारेमा लगानीकर्तालाई जानकारी गराएको छ ।  पछिल्लो पटक जुम्लामा पाँच सय किलोवाट क्षमताको वायु ऊर्जा प्रणालीको जडान कार्य सुरु भइसकेको जुम्लाका पूर्वसभासद् एवम् माओवादी केन्द्रका नेता नरेश भण्डारीले बताए । नवलपरासीको धौवाडी र मकवानपुरमा यसअघि नै वायु ऊर्जा प्रणाली जडान भएर सञ्चालनमा आइसकेको छ । प्रविधिमा आएको विकास एवम् विस्तारका कारण पछिल्लो दिनमा वायु ऊर्जाको क्षेत्रमा लगानीकर्ता क्रमशः आकर्षित हुन थालेको एभरेस्ट विन्ड इनर्जीका प्रमुख डिल्लीराज पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया