कृषि विकास बैंकको ७८ लाख जोखिममा

मा प्रकाशित

kirsi-bank_0GKgQGxShg

रुकुम ४ असार । कृषि विकास बैंक शाखा रुकुममार्फत ऋण दिएका ३ दर्जन बढी ऋणीहरू सम्पर्कविहीन रहेका छन् । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषअन्तर्गत कृषि विकास बैंक बैकिङ कार्यालय रुकुमले लगानी गरेको कुल एक करोडमध्ये झन्डै आधाभन्दा बढी ऋण लिएका विभिन्न व्यक्ति तथा संस्थाहरू ऋण समयमै तिर्नुको साटो सम्पर्कविहीन भएका हुन् । सरकारले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ युवा स्वरोजगार कोषको जिल्ला सचिवालयले गरेको सिफारिसका आधारमा बैंकले आफू स्वरोजगार हुनका लागि योजनासहित आएका युवा र समूहलाई विनाधितो एक करोड नगद परिचालन गरेको थियो ।

व्यक्तिका नाममा प्रतिव्यक्ति ५० हजारदेखि एक लाखसम्म र समूहका नाममा प्रतिसमूह दुईदेखि १० लाख रुपैयाँ लिएका जिल्लाका सात वटा समूह र २९ जना व्यक्तिहरू ऋण तिर्न छोडेर सम्पर्कविहीन भएको कृषि विकास बैंक रुकुमका प्रबन्धक प्रकाशकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार २०६९ साल माघमा समूह र व्यक्ति गरी ६५ जनाले ऋण लिएका थिए । उनीहरूलाई ऋण तिर्न बारम्बार पत्रिकामा सूचना प्रकाशित गरेर जानकारी गराइए पनि ऋण असुली नभएको हो । व्यवसायमार्फत स्वरोजगार भई उक्त व्यवसायबाट आएको नाफाबाट तीन वर्षमा अर्थात् २०७२ माघभित्र उक्त ऋण फिर्ता गरिसक्नुपर्ने थियो ।

तर, ती ६५ जनामध्ये हाल समूह र व्यक्तिका नाममा गरी ३६ जनाको नाममा रहेको साँवा ५४ लाख र अहिलेसम्मको ब्याज रकम २४ लाख ४८ हजार गरी कुल ७८ लाख ४८ हजार रकम उठ्न बाँकी रहेको बैंकको तथ्यांकले देखाउँछ ।

तपाइको प्रतिक्रिया