तेक्वान्दो टोली कोरिया प्रस्थान

मा प्रकाशित

taekwondo team koreaकाठमाडौं २९ असार । दुई भिन्नाभिन्नै सहरमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया प्रस्थान गरेको छ । जुलाई १३ देखि १८ तारिखसम्म मुजुमा हुने ११औँ वल्र्ड कल्चरल एक्स्पोमा कुमार लामा घिसिङ, नोर्बु लामा, अभिनव शाक्य र नवीन श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषको फाइटतर्फ उज्ज्वल कटुवालले ४२ केजी, प्रतीक श्रेष्ठले ४५ केजी, प्रसुम तामाङले ३८ केजी, स्वरुप भण्डारीले ३५ केजी, अनिश महर्जनले ८७ केजी, रोहन माझीले १८ केजी, अभिभ श्रेष्ठले ३५ केजी, राहुल थापा मगरले ४५ केजी, राहुल माझीले ५४ केजी, दिविहाङ लिम्बूले ५८ केजी, प्रेमबहादुर भण्डारीले ८० केजी र रिमोन महर्जनले ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलाको फाइटतर्फ सुमित्रा खत्रीले १८ केजी, संगीता बस्यालले ६७ केजी तथा प्रतिज्ञा भण्डारीले ५८ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यो टोलीबाट खेल्ने कुमार घिसिङले टोली नेता, नोर्बु लामाले व्यवस्थापक र प्रेम भण्डारीले प्रशिक्षकको भूमिकासमेत निर्वाह गर्नेछन् । कल्चरल एक्स्पोमा भैरहवाको सिद्धार्थनगरस्थित हेभन्ली गार्डेन किड्स क्याम्पसका खेलाडी युनिशा न्यौपाने, सेली पौडेल, केशु गुरुङ, फ्लोरा खड्का, गौरवकुमार यादव, आर्यन पौडेल र सोमिल श्रीवास्तवले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उक्त टोलीको नेतामा रचना क्षेत्री, व्यवस्थापकमा पवनकुमार क्षेत्री र रेखा शर्मा ढकाल, प्रशिक्षकमा आठौँ सागका स्वर्ण विजेता कोसिसबहादुर खड्का तथा ट्रेनरमा सुरेशकुमार जयसवाल छन् ।
जुलाई २८ देखि १ अगष्टसम्म सिओलमा हुने विश्व तेक्वान्दो हान्मादाङ च्याम्पियनसिपमा अनिश, प्रेम, संगीता र प्रतिज्ञाले नेपालको चुनौती पेश गर्नेछन् । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले त्रिपुरेश्वरको दशरथ रंगशालास्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा भएको एक कार्यक्रमबीच बुधबारै बिदाइ गरे । उनीहरु बुधबार राती कोरिया प्रस्थान गरे । (सौस)

तपाइको प्रतिक्रिया