वैदेशिक रोजगारले सिर्जना गरेका सम्भावना र समस्याहरू

मा प्रकाशित

Rani-Sharma-358x300कुनै पनि व्यक्तिलाई दैनिक आवश्यकता परिपूर्तिका लागि रोजगारीको आवश्यकता पर्दछ । रोजगारी पनि सकेसम्म आफ्नै गाउँघर वा सहरमा चाहन्छ । नभए आफ्नै देशको कुनै ठाउँमा, जहाँ या त परिवारसँग बस्न पाओस् वा बेला मौकामा सजिलै घर परिवारलाई भेट्न पाओस्, आफ्नै समाजमा बसेर काम गर्न पाओस् । तर, नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा लाखौँ युवाहरू रोजगारीका लागि बिदेशिनु परेको अवस्था छ ।अनौपचारिक तथ्यांकहरूले रोजगारीका लागि विदेशिने नेपाली युवाको संख्या पचास लाख भन्दामाथि रहेको अनुमान गरेका छन् । यसमध्ये न्यून संख्यामा मात्र दक्ष कामदारका रूपमा गएका छन् । अझ प्रोफेसनल वा विशेषज्ञस्तरमा विदेशमा रहेका नेपालीको संख्या निकै कम छ । दक्ष कामदार वा इन्जिनियर, डाक्टरजस्ता प्रोफेसनल सेवामा काम गर्न विदेशिएकाहरूले परिवारलाई (पत्नी, छोराछोरी) समेत लिएर जाने र सँगै राख्ने अवस्था छ । तर, अदक्ष कामदारका रूपमा भारत, खाडी मुलुकलगायत ठाउँमा जानेहरूले आफूसँग परिवार लैजाने व्यवस्था र अवस्था दुवै छैन ।

राज्यको ध्यान स्वदेशमा रोजगारी सिर्जना गर्नुभन्दा वैदेशिक रोजगार प्रवद्र्धनमा लागेको छ । मानौँ राज्यको उद्देश्य नै भाडाका कामदार उत्पादन गर्ने देशको रूपमा नेपाललाई परिचित गराउनु हो । सामान्य रूपमा हेर्दा वैदेशिक रोजगारीले समाज समृद्ध हुँदै गएको प्रतित हुन्छ, तर यस्तो समृद्धिले आफूसँगै ल्याएको नकारात्मक पक्ष पनि विचार गर्नुपर्ने आवश्यकता छ । देशमा रोजगारको अवस्था नरहेको कारण विदेशिएका नेपाली कामदारहरूले विदेशबाट कमाएर पठाएको÷ल्याएको रेमिटेन्सले केही हदसम्म आम जीवनमा उज्यालो ल्याएको प्रतित हुन्छ । माटो वा खरका घरहरू पक्की घरमा परिणत हुँदै गएका छन्, घरमा एलइडी टिभी, घरका सदस्यको हातमा मोबाइल फोन, इत्यादीको उपलब्धता बढेको छ । खानपान लत्ताकपडाको स्तरमा समेत सुधार आएको छ । अधिकांश विदेशिएकाहरूले केही जग्गा जमिन, घडेरी पनि जोडेका छन् । समग्रमा रोजगारीका लागि विदेशिएका नेपालीको परिवारको जीवनस्तरमा पक्कै सुधार आएको प्रतित जो कोहीले गरेका छन् । विदेशिएकाहरूको आर्थिक अवस्थामा आएको सुधारबाट प्रभावित युवाहरू नेपालमा भएको अवसरलाई पनि बेवास्ता गर्दै विदेश जान कस्सिएको अवस्था पनि रहेको छ ।

केही विदेशिएका युवाले स्वदेशमा फर्केर विदेशमा कमाएको पैसा लगानी गरेर आफ्नै राम्रो व्यवसायहरू पनि सञ्चालन गरेका छन् । तर यस्ता युवाको संख्या नगण्य छ ।अधिकांश युवाले विदेशमा कमाएको पैसा घडेरी÷जग्गा खरिद, पक्की घर बनाउन र विदेश जाँदा साहुबाट लिएको ऋण तिर्न खर्चिन्छन, अनि बाँकी पैसा मोटरसाइकल, मोबाइल र टिभीमा खर्चिन्छन् । फेरि विदेश जानु अगाडि साहुसँग चर्को ब्याजमा ऋण लिनु विदेशबाट नेपाल फर्केकाहरूको नियति नै बनेको छ ।वैदेशिक रोजगारीले राज्यको बेरोजगारीको चिन्तालाई कम मात्र गरेको छैन अधिकांश निम्न वर्ग र निम्न मध्यमवर्गका नेपालीको जीवन स्तर र आर्थिक अवस्थामा सुधार ल्याइदिएको छ । वैदेशिक रोजगारले परिवार, समाज र देशमा उज्यालो मात्र ल्याएको छैन । वैदेशिक रोजगारीका कतिपय नकारात्मक पक्ष पनि छन् । वैदेशिक रोजगारीका अँध्यारो पक्षहरू पनि छन् । रेमिटेन्सले ल्याएको खुसीका पछाडि विदेशमा काम गर्ने नेपालीको ठूलो दुःख र पीडा लुकेको छ । आप्mनो घर परिवार, समाज र देशबाट टाढा रहेर काम गर्नु आफ्नै कम पीडादायी छैन ।

त्यसमा पनि अधिकांश नेपालीले खाडी मुलुकमा निकै प्रतिकूल अवस्थामा काम गर्नु परिरहेको अवस्था छ । जोखिम मोलेर कमाएको पैसाले घर परिवार चलाउनेदेखि सम्पत्ति आर्जनसमेत गर्नुपरेको छ । वर्षौंसम्म घर परिवारसँग भेटघाट नहुँदा हुने पीडा र एक्लोपनको अनुभूति आफ्नै ठाउँमा छँदै छ ।लामो समय घर परिवारबाट टाढा रहँदा आपसी लगाव कम हुने र पारिवारिक घनिष्टता (बन्ड) समेत कमजोर हुँदै जाने अवस्था सिर्जना भइरहेको छ । यसबाट सम्बन्ध विच्छेदका घटना र अझ विदेशबाट फर्किंदा पत्नी नै अरूसित घरजम गरिसकेको अवस्थाहरू पनि प्रकाशमा आइरहेका छन् । त्यति मात्र होइन छोराछोरीसँग पनि भावनात्मक भन्दा पनि पैसा दिने व्यक्तिको रूपमा प्राविधिक सम्बन्ध विकास भइरहेको छ ।

अझ विवाह गरेर पत्नी भित्र्याएको केही हप्ता वा महिनामै रोजगारीका लागि विदेश जाने प्रचलन र बाध्यताले पतिपत्नीको बीचमा भावनात्मक सम्बन्ध वा लगाव नै राम्रोसँग बन्न पाउँदैन । अर्कोतर्फ विवाह भएको केही समयमै वर्षाैंका लागि बिछोडिनु परेपछि त्यसले अर्को नकारात्मक प्रभाव निम्त्याउँछ । युवा तथा अपरिपक्क उमेर र पतिपत्नीबीच भावनात्मक सम्बन्ध विकास हुन नसकेको कारण विकल्पको खोजी गर्ने अवस्थाहरू देखिएका छन् । यसले सामाजिक विकृतिहरू समेत निम्तिरहेका छन् । जसका कारण विदेशमा कमाउन गएको व्यक्ति स्वदेश फर्किंदा ऊसँग नकमाएको सम्पत्ति न त परिवार हुने कतिपय घटना बाहिर आएका छन् । वैदेशिक रोजगारबाट आएको पैसाबाट सुखीजस्तो देखिने घरपरिवारको आफ्नै पीडा पनि छ । पैसाले भौतिक सुख सुविधा त ल्याएको छ, तर आफन्तलाई टाढा बनाएकोे छ । केटाकेटीले बावुबाट पाउने प्रत्यक्ष माया र ममताको अनुभूति गर्न नपाएको अवस्था छ ।यसबाट बाल मनमा बाबुसँग हुनुपर्ने लगाव वा प्रेमको भावना कमजोर हुन्छ । अरूको बाबुले गरेको माया देख्दा विदेशिएकाको बालबच्चाको मनमा स्वाभाविक रूपमा पीडा हुन्छ नै, उसले आफूलाई कमजोर महसुस गर्छ ।

त्यस्तै बाबुआमाले बुढेसकालमा छोराछोरीको सामिप्यता खोज्ने र सेवा चाहिने बेला छोराहरू साथमा नरहँदा वृद्धवृद्धाको मनमा हुने पीडा पनि आफ्नै ठाउँमा छ । अर्को तर्फ विदेशिएकाले पनि बाआमाको स्याहार गर्न नपाउँदा मन दुख्छ नै । वैदेशिक रोजगारका लागि गएकाहरूको घरमा रहेकी पत्नीको अवस्था अझ दुःखदायी छ । पतिसँग वर्षौं टाढा बस्नुपर्ने बाध्यता त छँदै छ, उसैमाथि केही पर्दा कोसँग सहयोग माग्ने भन्नेसमेत समस्या छ । अर्कोतर्फ एक्ली महिलालाई हाम्रो समाजमा गिद्धे दृष्टि लगाउनेहरूको पनि कमी छैन । एक्ली महिलाले घर बाहिर मात्र होइन घरभित्र पनि विभिन्न किसिमका यातना र तनाव सहनुपर्ने अवस्था छ ।यौन उत्पीडनको प्रयत्न गर्नेले विरोध गर्दा विदेशमा रहेको पतिलाई बात लगाइदिने धम्की दिने गरेका विभिन्न घटनासमेत प्रकाशमा आएका छन् । कतिपय अवस्थामा यस्ता धम्की दिने र यौन उत्पीडन गर्नेमा परिवारकै पुरूष पात्रहरू रहने गरेका छन् ।

त्यति मात्र होइन विदेशबाट फर्किएका पतिले बात लगाइएको वा शंकाको भरमा पत्नीमाथि अविश्वास गरी पत्नीलाई सम्बन्धविच्छेद गरेको घटनासमेत भएका छन् । रोजगारीका लागि विदेश जानु नेपाली युवाको बाध्यता हो । वैदेशिक रोजगारीले केही समृद्धि ल्याए पनि यसले समाजमा ल्याएका नकारात्मक असर प्रति सचेत हुन आवश्यक छ । वैदेशिक रोजगारीमा जानेले पनि सधँैका लागि वैदेशिक रोजगारीलाई नै आफ्नाे नियती बनाउनुभन्दा एकपटक विदेशबाट कमाएर ल्याएको पैसाले घर जग्गा, र शोखका साधन जुटाउनुभन्दा पनि स्वरोजगारको व्यवस्था गरेर नेपालमै बस्नेतर्फ ध्यान दिनुपर्छ ।अर्कोतर्फ राज्यले देशमा उद्योगधन्दाको विकासको वातावरण बनाई वैदेशिक रोजगारी न्यूनीकरण गर्नुपर्दछ । विदेश जानेले पनि राम्रो तलब प्राप्त गर्ने र परिवारसमेत विदेशमा गएर बस्न सक्ने अवस्थाको सिर्जना गर्न दक्ष कामदार उत्पादनमा जोड दिनुपर्दछ । अन्यथा वैदेशिक रेमिटान्सले ल्याएको समृद्धिले समाजिक व्यवस्थालाई जर्जर बनाउँदै लैजाने पक्का छ ।

तपाइको प्रतिक्रिया