साकी प्याला भरिदेऊ

मा प्रकाशित

–    सुरेस खनाल
साकी, भरिदेऊ अझै
प्याला माथि प्याला !
सबै पिएको हैन मैले,
आधि गिलास त छचल्किएरै पोखिएको हो ।

तिमीलाई थाहा छैन,
आज अझै चुर हुनु छ मलाई ।
भर्खर त साँझ प¥यो,
भर्खर त मेरो गाला र घाँटी रसिलो भयो ।
उनको नशामा जति म मातेको थिएँ,
त्यति मात्न परेको छ आज मलाई !
अहो !
हल्का उनको छायाँ देख्दै छु !
साकी, भरिदेऊ अझै
प्यालामाथि प्याला !
सबै पिएको होइन मैले,
आधी गिलास त छचल्किएरै पोखिएको हो ।
तिमीलाई विश्वास छैन,
आँखा त मेरो पहिले नै लाल थियो,
किनकि म पहिला आँखाले पिउने गर्थें !
अहिले त्यो लाली मेटाउन पिउँदै छु ।
बल्ल त आँखामा उज्यालो आयो ।
अहो !
हल्का बत्ती बलेको देख्दै छु !
साकी, भरिदेऊ अझै
प्यालामाथि प्याला !
सबै पिएको हैन मैले,
आधी गिलास त छचल्किएरै पोखिएको हो ।
तिमीलाई केहि अनुमान छैन,
नालीमा म पहिले नै लडिसकेको छु ।
त्यसैले भरिदेऊ फेरि अर्को गिलास !
भर्खर त छाती तातो भयो ।
मेरो दुई कन्चटबाट एउटा तातो लहर,
टाउकोमा एक फन्का घुमेर
कान तताउँदै मेरो शरीरमा हिँड्यो !
मेरो तन्तु तन्तु फड्फडायो !
अहो !
भित्र कतै केही जलेको देख्दै छु !

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला !
सबै पिएको हैन मैले,
आधी गिलास त छचल्किएरै पोखिएको हो ।
तिमीलाई, बोध छैन,
धेरै घाउहरूमा तिमीले मलम लगायौ ।
एक रात मलाइ बास देऊ
र मेरो घाऊलाई अलिकता सास देऊ !
घरको बाटो पहिले नै भुलिसकेको छु,
त्यसैले कतै पुग्नु छैन मलाई !
एक क्षणको लागि मलाइ साथ देऊ ।
अहो !
तिमीमा उनको अनुहार देख्दै छु !

तपाइको प्रतिक्रिया