अविवाहिता सदावहार रेखाको ‘रंगीन सिउँदो’

मा प्रकाशित

Rekha 1
न्यु दिल्ली २ साउन । सदावहार बलिउड अभिनेत्री रेखा प्रेमविनाको अधुरो जीवन बाँचेकी छन् । फिल्मी अभिनयको जीवनमा धेरै अभिनेताका प्रेममा परेकी रेखाले वास्तविक जीवनमा ती सबै कुरा पाउन सकिनन् । फिल्मी पर्दाको प्रेममा सदा सफल रेखाले बलिउडलाई धेरै हिट फिल्म दिइएकी छन् । ती फिल्मलाई आज पनि धेरैले सम्झने गरेका छन् । एक समयमा बलिउडकी टप अभिनेत्री रहेकी रेखाले हाल ६२ वसन्त पार गरिसकेकी छन्। यद्यपि, रेखाको सुन्दरता र जवानीमा कुनै कमी आएको छैन । सायद रेखाको जीवनको सफलता नै उनको सुन्दरता हो । त्यही सुन्दरतामा लागिपर्ने अझै पनि हजारौं छन् तर पनि उनी एक्लो जीवन बिताइरहेकी छन् । यो उनको जिन्दगीकै नियति मानिएको छ । रेखाले फिल्म ‘सावन–भादो’ बाट फिल्मी करिअरको सुरुवात गरेकी थिइन् ।

उनका प्रेमप्रसंग सूचीमा विनोद मेहरा, अमिताभ बच्चन, सञ्जय दत्त र चंकी पाण्डेको समेत नाम सामेल छ । रेखाले व्यापारी मुकेश अग्रवालसँग विहे गरेकी थिइन् । तर, मुकेशसँगको विहे केही महिना मात्र टिक्यो । पछि मुकेशले रेखाको सलमा झुन्डिएर आत्महत्या गरेका थिए । सफल विवाहिता जिन्दगी चाहेर पनि नियतिको खेलमा असफल बन्यो । प्रेम तथा रोमान्सको प्रसंगमा फिल्म सिलसिलाबाट रेखा र अमिताभ बच्चनबीच प्रेमका अंकुर टुसाए। त्यसले यति विकराल रूप लियो कि सारा विश्व नै उनीहरूको प्रेममा नतमस्तक बन्यो । अमर प्रेमको प्रतीकका रूपमा रेखा र अमिताभको जोडीलाई मान्ने गरिए पनि यी दुई बीचको प्रेम केवल प्रेममा सीमित भयो । रेखालाई अमिताभका हरेक हाउभाउ मन पर्थे । अझै पनि अमिताभलाई रेखाले मन पराउने गरेको तथ्य अत्यन्त छोटो एक सिनको भूमिकामा भए पनि हालै रिलिज भएको फिल्म ‘समिताभ’ मा अभिनय गरेकी छन् ।

Rekha 2

फिल्म समिताभमा रेखा गेस्ट रोलमा रहेकी छन् । जो बलिउडकी वास्तविक वरिष्ठ हिरोइनको सम्मानित रोलमा देखा परेकी छन् । आवाजविहीन हिरोलाई अवार्ड दिने क्रममा अमिताभ वच्चनको त्यही बोल्ड आवाज उक्त हिरोको बोलीमा पाउँदा अवार्ड प्रदान गर्ने क्रममा रेखालाई झस्काएको देखाइएको छ । यस हिसाबले पनि अमिताभको प्रेममा अझै पनि झस्किने गरेको यो पछिल्लो दृष्टान्त मानिएको छ । लामो अन्तरालपश्चात रेखाले अमिताभद्वारा अभिनित फिल्ममा अभिनय गरेको भन्ने नै यो वर्ष रिलिज भएको फिल्म ‘समिताभ’ हो । यसअघि पचासको दशकमा निर्मित फिल्म कुलीपछि कुनै पनि फिल्ममा रेखाले अमिताभसँग अभिनय गरेकी थिइनन् । यी दुईले एकसाथ अभिनय गरेका फिल्म सिलसिलाको कथाजस्तै उनीहरूको वर्तमान जिन्दगी रहेको छ ।  विवाहित अमिताभले श्रीमती जया वच्चनका कारण रेखासँगको प्रेममा आफूलाई सदा पछाडि नै राखे । जयाले अमिताभसँगको प्रेम सम्बन्धलाई फिल्म सिलसिलामा जस्तो निको मानिनन् । यसले गर्दा केही समय रेखा र जयाबीच निकै ठूलो ‘शीतयुद्ध’ नै चल्यो ।

त्यो शीतयुद्धको सिलसिला करिब पच्चीस वर्ष कायम रह्यो । यसै वर्ष आयोजित एक फिल्म अवार्ड कार्यक्रममा जया वच्चनको पाउ छोएर रेखाले माफी मागेपछि अन्त भएको छ । रेखा जया वच्चनलाई निकै नै आदर गर्ने गर्छिन् । ठूलदिदीको दर्जामा राखेर आफूले अमिताभ वच्चनलाई प्रेम गरेर जयाको आत्मसम्मानमा पु¥याएको चोटको लागि सार्वजनिक समारोहमा नै माफी माग्नुलाई अर्थपूर्ण रूपमा लिइएको थियो । जया वच्चनले पनि आफ्नो श्रीमान्को अमर प्रेमलाई लाञ्छना लगाउन जानिन् । दुवै बीचको प्रेमलाई ढिलै भए पनि माफी दिएर आत्मसाथ गरेको बुझिएको छ । रेखा र जयाबीचको त्यस सामिप्य र दोहोरो सम्बन्धलाई नजिकबाट हेर्दै रहेका अमिताभले त्यस पल आँखाबाट आँसु चुहाएको बताइन्छ । अमिताभ वच्चनसँग रेखाको प्रेममा दरार उत्पन्न भएपछि गुपचुप तरिकाले अभिनेता विनोद मेहरासँग प्रेम तथा विहे भएको खबर बलिउडमा चलेको थियो । तर, रेखाले उक्त खबरलाई अफवाहबाहेक केही नभएको बताएपछि त्यस खबरले खासै मूर्तता पाएन र त्यतिकै सेलायो पनि ।

रेखा अमिताभकै लागि जन्मेको र अमिताभकै प्रेममा मर्ने अभिनेत्री भएकैले व्यापारी मुकेश अग्रवालसँगको असफल वैवाहिक सम्बन्धपछि फेरि विवाह गर्ने सोच कहिल्यै पनि ल्याइनन्, बरु एकोहोरो अभिताभलाई चुपचाप मन पराइरहिन् । यो सिलसिला अझै पनि रोकिएको छैन ।  अझै पनि अमिताभ वच्चनकै प्रेममा रहेकी रेखाले आफ्नो सिउँदो कहिले पनि खाली राखिनन् । विभिन्न सभा–समारोहमा देखा पर्दा रेखाले सिउँदो रंग्याउने गरेकी छन् । विनासिन्दूर कहीँ कतै नजाने रेखाको अनौठौ बानी रहेको छ । रेखाको उक्त सिउँदोको सिन्दूर अरू कसैको नामको नभई अमिताभ वच्चनकै नामको हो भन्ने केही समय अगाडि मात्र पुष्टि भएको छ । रेखाले यसलाई सार्वजनिक रूपमा स्वीकार गरेको अवस्था नभए पनि बलिउड कलाकार पुनित इस्सरकी पत्नी दिपाली इस्सरले खुलासा गरेकी छन् ।

फिल्म कुल्लीको सेटमा पुनित इस्सरसँगको फाइटमा अमिताभ वच्चन नराम्ररी टेबलमा ठोकिएर गम्भीर घाइते बनेका थिए । त्यसबेला रेखा विभिन्न फिल्महरूमा व्यस्त भएकीले चाहेर पनि अस्पतालमा अमिताभ वच्चनलाई केयर गर्न सकिनन् । त्यसबेला जया भादुरीले अमिताभको स्याहारमा निकै समय दिएकी थिइन् । जयाको केयर अनि प्रेमले ज्यादै पग्लिएका अमिताभ वच्चनले जयासँगै नै विहे गरेका थिए । जयासँग अमिताभ वच्चनको विहेपश्चात रेखा विछिप्त भए पनि रेखाको जीवनमा अमिताभ वच्चन ओझेलमा परेनन् । एकोहोरो प्रेम गरिरहिन् । अमिताभकै नामको सिन्दूर लाएर अमर प्रेमको चिनारी दिने कार्य रेखाबाट भएको छ ।

तपाइको प्रतिक्रिया