स्वरोजगार बन्दै दलित समुदाय

२०७४ साउन २ गते १०:०३ मा प्रकाशित

राम योङहाङ

samanइलाम । भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमबाट सीप मुलक तालिम लिएपछि इलामका दलित समुदाय स्वरोजगार बन्दै गएका छन् ।

आर्थिक अवस्था कमजोर भएका दलित समुदाय लक्षित गरी इलाम नगरपालिका उद्योग विकास शाखाले इलामका गाउँपालिका र नगरपालिका क्षेत्रका विभिन्न वडामा सीप मुलक तालिम प्रदान गर्दै आएको छ ।

परम्परागत रूपमा व्यवसाय गर्दै आएका दलित समुदायका युवा युवती र उद्यमीको व्यवसायीकरण गर्न जिल्लाको गाउँपालिका र नगरपालिकामा उद्यमशिलता तालिम प्रदान गरेको थियो । उद्योग विकास शाखाका कार्यक्रम संयोजक खड्ग बस्नेतका अनुसार उद्यमशिलता तालिम सूर्योदय नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माईजोगमाई गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिका क्षेत्रका वडामा सञ्चालन गरिएको थियो ।

भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमबाट ढाका कपडा बुनाई, मौरीपालन तथा मह प्रशोधन, एडभान्स सिलाई कटाइ, कृषि औजार निर्माण, व्युटीपार्लर, सिलाइ कटाइ, मोटर ड्राईभिङ तालिम सञ्चालन गरिएको उद्योग विकास शाखा इलामका कार्यालय प्रमुख नवीनकुमार पौडेलले बताए ।

यस्तै, भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमअन्तर्गत इलाम नगरपालिका वडा नम्बर ४ र ५ मा आधुनिक कृषि औजार तालिम सम्पन्न भएको छ । इलाम नगरपालिका उद्योग विकास शाखाको आयोजना र दलित अधिकार मञ्चको सह–आयोजनामा १५ दिने आधुनिक कृषि औजार तालिम सम्पन्न भएको हो ।

दलित अधिकार मञ्चका अध्यक्ष रुद्र दर्नालको अध्यक्षता र उद्योग विकास शाखाका प्रमुख नवीनकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा १५ दिनमा बनाइएका कृषि औजारको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष नुतनदेव दुलाल, वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै इलाम नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष नुतनदेव दुलालले आगामी आर्थिक वर्षका कार्यक्रममा दलित समुदायको आर्थिक विकास हुने खालका कार्यक्रम सञ्चालनका लागि पहल गर्ने बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले दलित समुदायमा भएको सीपको स्तरउन्नतिका लागि १५ दिने तालिम उपलब्धिमूलक भएकाले आगामी दिनमा थप तालिम प्रदान दिनुपर्नेमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया