वायुसेवा निगमबाट अनलाइन बुकिङ सुरु

२०७४ साउन २ गते १०:०४ मा प्रकाशित

nepal bayusewa nigamकाठमाडौं २ साउन । नेपाल वायुसेवा निगम आइतबारदेखि अनलाइन बुकिङ प्रणालीमा प्रवेश गरेको छ । अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ गर्नसक्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले एक समारोहका बीच अनलाइन बुकिङ सेवाको समुद्घाटन गरेका हुन । उनले व्यवस्थापन सुधारको एउटा अंग सूचनाप्रविधिको पूर्ण एवं उपयोगी प्रयोग पनि हो भन्दै त्यसतर्फ थप प्रयास आवश्यक भएको बताए ।  हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ प्रणालीमा आवद्ध गरिनेछ । यसका लागि केही समय लाग्नेछ ।

उक्त अवसरमा महाप्रवन्धक सुगतरत्न कंसाकारले निगम नयाँनयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताए । उनले आफ्ना ग्राहकहरूलाई अनलाइन बुकिङमा समावेश गर्न पाएकोमा खुसी व्यक्त गरेको पनि निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  इन्फर्मेसन टेक्नोलोजी डिभिजनका उपनिर्देशक अमृतमान श्रेष्ठले निगम अत्याधुनिक प्रविधिलाई सेवामा लगाई उच्चस्तरीय सेवा दिन सक्षम हुँदै गएको बताए । आधिकारिक ट्रेड युनियनका महासचिव हिम लम्सालले विमानहरू पूर्ण क्षमतामा उडाउन आग्रह गरे । भारतको वर्ड इन्फर्मेसन सिस्टम तथा थाइल्यान्डको टुसिपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङको थालनी गरिएको छ ।

तपाइको प्रतिक्रिया