भोजपुर नगरपालिका खुला दिसामुक्त बन्दै

२०७४ साउन २ गते १०:०८ मा प्रकाशित

विवेक राई

ldo2भोजपुर । भोजपुर नगरपालिका ७ लाई एक महिनाभित्र खुला दिसामुक्त क्षेत्र बनाउने पहल गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । भोजपुर नगर कार्यपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिहरूको रोहबरमा सरोकारवाला घरधुरीसँग समन्वय गरी एक महिनाभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भोजपुर नगरपालिका वडा नं. ७ मा अझै २ सय ७ घरले सेफ्टी ट्यांकी सहितको चर्पी बनाउन नसकेका कारण भोजपुर जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न सकिएकोे छैन । खुला दिसामुक्त बनाउने भनिए पनि विभिन्न चुनौतीका कारण खुला दिसामुक्त क्षेत्र घोषणा गर्न नसकिएको स्थानीय विकास अधिकारी सीता परियारले बताइन् । एक व्यक्ति मात्र लागेर नहुने हुँदा सम्पूर्ण घर लाग्नुपर्ने अधिकारी परियारले बताइन् । सो वडामा २ सय २१ घरधुरीको बसोबास रहेकोे छ ।

सन् २०१५ को अन्त्यसम्म भोजपुर साविकका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुला दिसामुक्त बनेको एक वर्ष हुन लाग्दा पनि भोजपुर नगरपालिकाको मुख्य बजार वडा नं. ७ खुला दिसामुक्त बन्न नसक्दा भोजपुर खुला दिसामुक्त बन्न नसकेको हो । भोजपुर नगरपालिकाअन्तर्गत सदरमुकामको मुख्य बजार पर्ने वडा नं. ७ लाई पटक–पटक खुला दिसामुक्त बनाउने प्रयास गरिए पनि अझै सम्भव भने भएको छैन ।

सरसफाइ तथा स्वच्छता समन्वय समितिले वडा नंं ७ लाई ६ पटकभन्दा बढी खुला दिसामुक्त घोषणाको लागि समय तोक्दै सार्दै गरेको छ । घरहरूबाट निकास गरिएको चर्पीको ढल जनसेवा निमावि आसपासको खोल्सा तथा बरबोट बजार आसपासको खोल्सामा मिसाइएको छ । मुख्य बजारको ढल खोला तथा खोल्सामा मिसाइएपछि सदरमुकाम आसपासमा निकै दुर्गन्ध फैलिएको हो ।

तपाइको प्रतिक्रिया