कर्मचारी पर्खंदै स्थानीय तह

मा प्रकाशित

गोविन्द सुवेदी

2पोखरा । पहिलो चरणमा निर्वाचन भएका सबैजसो स्थानीय तहमा निर्वाचित प्रतिनिधिले काम थालेका छन् । गाउँसभा र नगरसभा समेत सम्पन्न भइसके । केहीमा क्रम अझै चलेको हुन सक्छ । सिंहदरबारको अधिकार गाउँमा आएको बताइए पनि कर्मचारी अभावले जनप्रतिनिधि छट्पटाएका छन् । कर्मचारी अभावले नियमित काम प्रभावित भएको जनप्रतिनिधि बताउँछन् ।

एउटा महानगरसहित ५ स्थानीय तह रहेको कास्कीमा अहिलेसम्म ४ वटा गाउँपालिकालाई ४६ कर्मचारी खटाइएको कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले जानकारी दिए । खटाइएका मध्ये धेरै कर्मचारी अझै गाउँपालिकामा हाँजिर भएका छैनन् । यसैबाट अभाव कतिहोला भन्ने सहज अनुमान लगाउन गाहे छैन । अहिले सबैजसो स्थानीय तह कर्मचारी पर्खाइमा छन् ।

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले कर्मचारी अभावले नियमित काममा समस्या आएको बताए । ‘कर्मचारी मिलान हुँदैछ, तपाइले केही गर्नुपर्दैन भनेका हुन्, बाटो हेरेर बसेका छौं’, उनले भने, ‘कर्मचारीको निकै अभाव छ ।’ उनका अनुसार मादीका १२ वडा मध्य ४ वडामा अहिलेसम्म वडा सचिव पुगेका छैनन् । ८ जना वडा सचिवले सबै वडा हेर्नुपर्ने बाध्यता छ । गाउँपालिका कार्यलयमा समेत कर्मचारी अभाव छ । कार्यकारी अधिकृत सहित ६ कर्मचारी गाउँपालिकामा छन् । त्यसमा पनि दुई जना कार्यालय सहयोगी करारमा राखिएको हो ।

यता, अन्नपूर्ण गाउँपालिकामा कार्यकारी अधिकृत र एकजना लेखा हेर्ने कर्मचारी मात्र कार्यालयमा छन् । ११ वटा वडा रहेको उक्त गाउँपालिमा जम्मा ५ सचिवले काम चलाएका छन् । ६ जना कार्यालय सचिव आफूलाई अभाव रहेको गाउँपालिका अध्यक्ष युवराज कुँवर बताउँछन् । उनले आफूहरूलाई गाडि र सुविधा नचाइएको तर जनताको काम गर्न तत्काल कर्मचारी खटाइदिन आग्रह गरे । काम ठूला हुने तर, व्यवहारमा कर्मचारी पनि नपठाइदा समस्या परेको उनको भनाइ छ ।

माछापुच्छ«े गाउँपालिका कार्यलय पनि दुई कर्मचारीका आधारमा चलेको छ । जम्मा ९ वडा रहेको उक्त गाउँपालिकामा भने ८ सचिव रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । स्थानीय तह सञ्चालन सम्बन्धी निर्देशिका र कर्मचारी नपाउँदा अप्ठ्यारोमा परेको उनले बताए । जनप्रतिनिधि आएपछि केही हुन्छ भनेर आशा गरेका जनता निराश बन्ने चिन्ता आफूमा छाएको उनले सुनाए । ७ वडा रहेको रूपा गाउँपालिकामा ३ सचिवले काम चलाइरहेका छन् । त्यहाँ पनि गाउँपालिका कार्यालयमा एक कार्यकारी अधिकृत र बाँकी एक कर्मचारी गरेर दुई जनाले काम चलाइरहेका छन् ।

विभिन्न कार्यक्रम सहितका गरेर अहिले पोखरा लेखनाथ महानगरमा तीन सय ९१ कर्मचारी छन् । निजामति तर्फबाट केही कर्मचारी आए पनि धेरै अप¥याप्त रहेको मेयर मानबहादुर जिसीले बताए । उनले ३३ वडामा वडा सचिव अधिकृत स्तरका कर्मचारी खटाइने भनिएपनि सुब्बास्तरका कर्मचारीले काम चलाउनु परेको छ । महानगरसँग अहिले जम्मा ११ जना अधिकृतस्तरका कर्मचारी छन् । महानगरलाई कति कर्मचारी आवश्यक हो भन्ने जिज्ञासामा उनले अहिले यतिउतिभन्दा पनि आवश्यक कर्मचारी जिल्लास्तरीय स्थानीय तह सहजीकरण तथा कर्मचारी ब्यवस्थापन समितिले पठाउने भनेकामा नपठाएको गुनासो गरे । ‘कुरा मात्र भए तर, कर्मचारी खटाउने काम भएन’ उनले भने ।

नेपाल सरकारले गत ९ फागुनमा मन्त्रिपरिषद्बाट पारित गरेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश, २०७३ बमोजिम यो समितिको संयोजक सम्बन्धित जिल्लाको सिडिओको संयोजकत्वमा समिति गठन हुन्छ । कास्कीका सिडिओ तारानाथ अधिकारीले कर्मचारी खटाउने कार्य भइरहेको र अपुग रहेको ठाउँमा पठाउने काम जारी रहेको बताए । जनताका कार्य सम्पादनमा समस्या आउन नदिन आफू चनाखो भएर कर्मचारी व्यवस्थापनमा लागेको उनको भनाइ छ । यसका लागि स्थानीय विकास अधिकारीलाई अध्ययन गर्न र ब्यवस्थापनमा लाग्न भनेको उनले सुनाए ।

कास्कीका स्थानीय विकास अधिकारी ढकालले पोखरा लेखनाथ महानगरपालिकामा साविकका पोखरा उपमहानगर र लेखनाथ नगरपालिकाका कर्मचारी मिलान हुँदा कार्यसम्पादनमा खासै असर नपर्ने भएकाले आफूहरूको ध्यान गाउँपालिका तर्फ रहेको बताए । उनले कास्कीमा थोरै स्थानीय तह रहेकाले कर्मचारी व्यवस्थापनमा खासै समस्या नरहेको सुनाएका छन् । कर्मचारी स्थानीय तहमा खट्न नमानेका विषयमा जिज्ञासा राख्दा उनले सरकारले खटाएको स्थानमा जानु र काम गर्नु कर्मचारीको दायित्व हुने उल्लेख गरे ।
स्थानीय विकास अधिकारी ढकालले कर्मचारी स्थानीय तहमा जान आनाकानी गरेको घुमाउरो पाराले स्वीकार गरेका छन् । ‘जान्नौ भन्नुभएको छैन, अहिले रोजेको कुनमा जानुहुन्छ भनेर सोधेका छौं’, उनले भने, ‘अहिले कास्कीका सुगम स्थानीय तहमा जानुस् भन्दा आनाकानी गर्नेहरू भोली बेजिल्लाका स्थानीय तहमा पुग्नुपर्छ, त्यसो भन्दै उहाँहरूलाई सम्झाएको छु ।’ जनप्रतिनिधिका गुनसाका सवालमा उनले खटेका कर्मचारी नयाँ अर्थिक वर्षका कारण नपुगेका हुनसक्ने बताए । ४६ कर्मचारी गाउँ पुगेपछि केही समस्या हल हुने उनले धारणा व्यक्त गरे ।

ती कर्मचारीलाई कार्यालय सचिवदेखि जुनसुकै काममा समेत खटाउन हाललाई सबै स्थानीय तहलाई अधिकार दिइएको जानकारी दिए । थप कर्मचारी विषयगत कार्यालयका प्रमुखसँग सहजीकरण गर्दै पठाइने बताए । जिल्ला समन्वय समिति कास्कीका योजना अधिकृत अर्जुन न्यौपानेका अनुसार यस अघि ३६ कर्मचारी गाउँपालिका पठाइएकोमा आइतबार थप १० कर्मचारी पठाउने निर्णय भएको हो ।

तपाइको प्रतिक्रिया