मोरङमा चिया खेती फस्टाउँदै

मा प्रकाशित

सौर्य समाचार

MORANमोरङ । चियाको व्यावसायिक खेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् ।
तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गरेको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ ।

विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गरेको चियाखेती हाल ३ सय रोपनीमा विस्तार गरेका हुन् ।
गाउँमा व्यावसायिक कामको कुनै सम्भावना नभएका बेला चियाखेतीमा लाखौं रूपैयाँ खर्चेका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउँछन् ।

वैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उनले चियाखेतीमा लगाएका छन् । नारायणले ६ लाख विरुवाको चिया नर्सरी राखेका छन् । चिया विकास बोर्डले दुई लाख अनुदान सहयोग गरेपछि उनी झनै क्रियाशील भएर चियाखेतीमा लागेका हुन् । उनी भन्छन्, ‘चार रोपनीमा चियाको नर्सरी मात्र छ ।’ अबको एक वर्षपछि दुई हजार रोपनीमा चिया विस्तार गर्ने महत्वकांक्षी योजना बनाएका राई चियाको बिरुवाको माग रामेछाप, सिन्धुली र नुवाकोटबाट पनि आएको बताउछन् । गाउँमा पनि नारायण र उनकी पत्नी बिना खजुम राईको कामलाई पछ्याउने धेरै भइसकेकी छन् । उनी भन्छिन्, ‘सुरुका दिनमा चिया रोप्दा हाँसी उडाउनेहरू पनि अहिले चियाको विस्तारमा लागेका छन् ।’

अठार वर्षअघि उराठलाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खसी र सन्तुष्टि हुन नसकेको बताउँदै बिनाले भनिन्, ‘द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्न झनै कठिन भयो । तर, पनि उहाँहरू थाक्नुभएन ।’ उत्तरी मोरङको पहाडी गाउँ, न बाटो थियो न सञ्चार र सुरक्षा । तर पनि राई दम्पतीले चियाबाट प्राप्त सबै कमाइ त्यही डाँडामा खन्याए । अहिले चियाखेती हेर्न आउनेको घुइँचो लाग्न थालेको छ ।

उनी भन्छन्, ‘पैसा त कमाउन सकेको छैन, तर सम्मान र इज्जतबाट नै सन्तुष्ट छु ।’ उनको मातृभूमि टी स्टेट कम्पनीमा हाल तीन करोड ५७ लाख लगानी भइसकेको छ । वार्षिक चार हजार किलो ग्रिन टी उत्पादन गरिरहेको कम्पनीले आफ्नै प्रशोधन मेसिनबाट प्रशोधित ग्रिन टी (हरियो चिया) को उत्पादन गरिरहेको छ । हरियो चियाको माग उच्च भए पनि मागअनुसार उत्पादन गर्न नसकेको सञ्चालिका बिना खजुमले बताइन् ।

चिया बगानमा हाल गाउँकै ३२ जनाले रोजगार पाएका छन् । चियाखेतीमा लगातार लागेका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत ग¥यो । पुरस्कृत भएपछि चियाखेतीप्रति उनको झनै लगानी र उत्साह बढेको छ ।

बिना भन्छिन्, ‘धेरै जिम्मेवारी थपिएको छ । उनी त आजभोलि सामाजिक काम र चियाखेती विस्तारमै व्यस्त हुन थालेका छन् ।’
नारायण राईको दम्पतीले चियाबाट चमत्कार देखाएपछि स्थानीयवासी बुद्धमान राई, डकलसिंह राईलगायत थुपै्र किसानले आफ्नो पाखोबारीमा पैसा फलाउन थालेका छन् । डकल सिंहले भने, ‘भर्खरै सुरु गरेको छु । राम्रो भइरहेको छ ।’

उत्तरी मोरङका साविक आठवटा पहाडी गाविसमध्ये सबैभन्दा दुर्गम गाउँ विकास समिति हो, सिंहदेवी । २०६८ सालको जनगणनाअनुसार जम्मा दुई हजार चार सय ७८ जनसंख्या रहेको सिंहदेवीमा पाँच सय ६६ घरधुरी रहेका छन् । तर मोरङका अन्य पहाडी गाविसको तुलनामा निकै समृद्ध मानिएको सिंहदेवी गाविसबाट बसाइँ सर्ने क्रम रोकिएको छ ।

स्थानीयवासी मनोज अधिकारी भन्छन् ‘सिंहदेवीमा जेफाल पर्यटन विकास संस्थाको गठनसँगै घरवास ‘होमस्टे’ सुरु भयो । होमस्टे, नगदेबालीको खेतीमा आकर्षण र सडक जोडिएपछि हाल आएर तराईका मानिस यहाँ जग्गा किन्न थालेका छन् ।’ उनले सँगै जोडिएको लेटाङभोगटेनी नगरपालिकाका केही वडामा अझै विद्युतीकरण हुन नसकिरहेका बेला सिंहदेवीमा विद्युत्भार कटौती नहुने गरेको बताए ।

तपाइको प्रतिक्रिया