निरन्तर संवादमा छौं ः एमाले

मा प्रकाशित

सौर्य समाचार

uml_leadersकाठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले मधेसकेन्द्रित राजनीतिक दलहरूसँग आफूले नै पहल गरेर परिणाम देखिने गरी वार्ता गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीेनिवास बालकोटमा आइतबार बसेको स्थायी समिति बैठकले परिणाममुखी वार्ताका लागि मधेसकेन्द्रित दलहरूसँग अनौपचारिक वार्ता जारी राख्ने निर्णय गरेको छ । ओली नेतृत्वको सरकार बनेदेखि नै मधेसवादी दलहरूसँग चिसिँदै आएको सम्बन्धलाई सुधार गर्न पछिल्लो अनौपचारिक वार्ता सकारात्मक हुने एमालेको निष्कर्ष छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले मधेस केन्द्रित दलहरूसँगको वार्ता टुंगोमा पुगेपछि मात्र त्यसलाई सार्वजनिक गर्ने बताए ।

एमालेले मधेस केन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतसँग अनौपचारिक छलफल भइरहेको जनाएको छ । केही दिनअघि मधेसी बुद्धिजीवीहरूसँगको छलफलमा अध्यक्ष ओलीले अब एमालेले मधेस समस्या समाधानका लागि विशेष पहल गर्ने बताएका थिए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि मधेसकेन्द्रित दलहरूसँग निरन्तर संवाद भइरहेको र त्यसलाई सकारात्मक निष्कर्षमा पु¥याउन पार्टी केन्द्रित रहेको बताए । ‘एमाले मधेसको समस्याबारे गम्भीर छ’, उनले भने, ‘जे कुरा सम्भव छन् । ती पूरा गर्न एमालेले अगुवाइ गर्छ ।’

त्यस्तै, पहिलो र दोस्रो चरणमा चुनाव भएका ६ प्रदेशमा पहिलो पार्टी बनेकोे एमालेले अब २ असोजमा हुने तेस्रो चरणको चुनावमा पनि प्रदेश नम्बर २ को पहिलो पार्टी बन्ने गरी तयारी थाल्न आफ्ना सबै तहका कमिटीहरूलाई निर्देशन दिएको छ । यही साउन महिनाभित्रै बैठकले ६ प्रदेशका निर्वाचित जनप्रतिनिधिलाई साउन महिनाभित्रै काम कर्तव्य र अधिकारबारे प्रशिक्षण दिने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया