शर्माविरुद्ध १० अर्बको भ्रष्टाचार मुद्दा दायर

२०७४ साउन २ गते १०:५२ मा प्रकाशित

सौर्य समाचार

chudamani-sharmaकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय २४ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कर फस्र्योट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत एवं सदस्यद्वय शर्मा र उमेश ढकालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। अख्तियारले गत १९ गते शर्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। शर्मा पक्राउ परेलगत्तै महत र ढकाल भने फरार भएका थिए । उनीहरूको नाममा अख्तियारले वारेन्ट नै जारी गरेको छ ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले गठन गरेको आयोगले ३० अर्ब रुपैयाँ कर फस्र्योट गर्दै २१ अर्ब रुपैयाँ व्यवसायीलाई फिर्ता दिएको थियो । सरकारी अडिट गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले यसरी छुट दिनु गैरकानुनी भन्दै प्रश्न उठाएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

महालेखाले आफ्नो ५४औँ प्रतिवेदनमा सर्वसाधारणले तिरेको भ्याटसमेत व्यवसायीलाई फिर्ता दिएको भन्दै आयोग पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गरेको थियो । निजी क्षेत्रका व्यवसायीलाई भारी मात्रामा कर छुट दिई सरकारी संस्थानलाई नाम मात्रको छुट दिएको पनि महालेखाले जनाएको थियो ।

अख्तियारले आयोगको प्रतिवेदन माग गर्दा शर्माले सुरुमा उपलब्ध गराउन मानेका थिएनन् । त्यसपछि उनले प्रमाण नष्ट गर्न सक्ने आशंका भएपछि अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको थियो। बिहीबार नै मुद्दा दायरका लागि शर्मालाई विशेष अदालत पु¥याइएकोमा समय अभावका कारण पछि सरेको थियो । शुक्रबार सर्वोच्च अदालतमा शर्माको बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ रहेको कारण उक्त दिन पनि मुद्दा दायर हुन सकेन । सोही कारण अख्तियारले आइतबार कार्यालय खुल्नेबित्तिकै मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया