गाउँको विद्यालय

मा प्रकाशित

–ओमप्रकाश घिमिरे (अटल क्रान्तिकारी)

omg

ऊ त्यही हो त्यो मेरो गाउँको विद्यालय
कहिलेकाहीँ हुन्छ प्रार्थना
कसैकसैले सुनेका छन् रेडियोमा राष्ट्रिय गान
पोहोर सालै च्यातिएको छ कक्षा गीतको पाना

१० बजेर ३० मिनेटमा मात्र प्रवेश गर्छन्
कक्षामा पाठहरू
टिफिनमै भाग्दछन् शब्दहरू
अंग्रेजी शिक्षकको घन्टीमा
धारामा लाइन लागेका हुन्छन् एबिसिडीहरू
बाख्रा चराउँदै हुन्छन् जोडघटाऊ
हलोको अनौंमा झुन्डिएको छ अतिरिक्त क्रियाकलाप

साह्रै ढिलो हिँड्छन् पाठ्यपुस्तकहरू
सहरदेखि चैत्रको टन्टलापुर घाममा हिँडेभने
साउनको झरीमा रुझ्दै रुझ्दै गाउँ आइपुग्छन्
साह्रै चकचके छन् डेस्कबेन्चहरू
खुट्टा भाँच्चिएर काँटी निस्किएर मात्रै बस्न रुचाउँछन्
महँगीको उचाइमा पुगेका छन् मार्कल, डस्टर र ह्वाइट बोर्डहरू
यी भन्दा त सस्ता छन् आपैmँ पढ र राम्ररी बुझ भन्ने
गुरुका आदर्श वाक्यहरू

धेरै कम भएको छ समय ४५ मिनेटको
केही समय सर्टको टाँक मिलाउनमा
केस मिलाउनमा र टोपी सिधा बनाउनमा
र, रहेको समय ठिक्क हुँदो रहेछ
गुड बाई क्लास, थ्याङ्क यू सरम्याम भन्नमा

साह्रै अल्छे छ पुरानो भवनको सिलिङमा झुन्ड्याइएको घन्टी
दिनभरी बल्लतल्ल पाँचौंसम्म चाँही अझै पनि बज्दै छ
अफिसको भित्ताबाट धमिराको देवल पञ्छाउँदै चिहाइरहेछ–
प्रत्येक सालको वार्षिक कार्ययोजना
र, गिज्याइरहेछ–
दैनिक पाठयोजना बनाउन नसक्ने टेबलहरूलाई
दिनभरी हाइ काट्दै निदाइरहन्छ
हेडसरको टेबलमा रहेको चन्द्रसूर्य अंकित झन्डा
नजिकै छ सरस्वतस् मन्दिर
भाङ खाएर जति लात्त ः तोडे पनि हुन्छ
मस्त निद्रामा छिन् सरस्वती माता
न त उनी मान थाहा पाउँछिन् न त अपमान नै

हस्याङफस्याङ मेलोबाट फुर्सद निकालेर
माइन्युटमा हस्ताक्षर गर्न मात्र पुग्छन् व्यवस्थापन समितिहरू
दलका नेता, शिक्षकका रंग, गाउँ जाने अप्ठ्यारा बाटाहरू
यिनै छिचोल्न सक्दैनन् निरीक्षकहरू
घरी टेबलमुनिबाट, घरी टेबलमाथिबाट
बहाली र बर्खास्तीको तोकादेश गर्न मै व्यस्त छ
जिल्ला शिक्षा कार्यालय
आसिन हुने मन्त्रीलाई स्वागत
स्वागतपछि तत्कालै बिदाइको तयारी
यस्तैमा भुलियो शिक्षा मन्त्रालय

कैयौं बन्दुकको नालबाट निस्के क्रान्तिका कुरा
सिंहदरबारका अगाडि घन्किए परिवर्तनका नारा
तर, बुर्जुवा पाठशालाकै विरासत थाम्दै
बसिरहेका छन्–
योद्धा जन्माउने मेरा गाउँका विद्यालयहरू

अब गर्नुपर्छ परिवर्तन यिनै गाउँका विद्यालयहरू
जन्माउनुपर्छ नयाँ बिहानी गाउँकै विद्यालयबाट
हुर्काउनुपर्छ देशका भविष्य गाउँकै विद्यालयबाट
र, छर्नुपर्छ आशाका किरण
सुन्दर भविष्य बोकेका कलिला मुहारहरूमा

तपाइको प्रतिक्रिया