कुश्माको अग्ला पुलमा आन्तरिक पर्यटकको घुइँचो

मा प्रकाशित

parbat bridgeफलेवास (पर्वत) २२ साउन । सात साथीको समूह बनाएर अग्ला पुल घुम्न राजधानीबाट आएका विकास महर्जनले गत शनिबार यतै बिताए । कास्कीका सनम रेग्मी पनि स्थानीय क्याम्पसका केही साथीका साथमा कुश्माका अग्ला पुल र बागलुङसम्मको दुईदिने घुमघाममा शनिबार यहाँ आएका थिए । उनीहरू पर्वतका अग्ला पुल घुम्न आएका हुन् । अधिकांश विद्यालय र क्याम्पसमा भएको बर्खे बिदाको उपयोग गरेर यहाँ घुम्न आउनेको दैनिकजसो भीड देख्न सकिन्छ । असारसँगै आवको पनि समाप्ति भएपछि फुर्सदिला कर्मचारी, सामाजिक संघसंस्था, वित्तीय संस्थालगायत कर्मचारी र सञ्चालकका लागि पनि पर्वतका अग्ला पुल पहिलो गन्तव्य बनेका छन् । ‘धेरै साथीबाट अग्ला पुलबारे सुने पनि हेर्न आउन भ्याएको थिइन’, राजधानीका महर्जनले भने, ‘रमाइलो लागेको छ ।’ मनसुनी वर्षा पनि रोकिएकाले विभिन्न जिल्लाका युवा क्लब, आमा समूह, सहकारी, सामाजिक संस्थालगायतमा आबद्ध व्यक्ति बस नै लिएर यहाँ घुम्न आउन थालेका छन् ।
एसियाकै अग्ला दाबी गरिएका कुश्मा–ज्ञाँदी, कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा झोलुंगे पुल, कुश्मा–बलेवा केबलकार, कुश्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा लर मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । होटल व्यवसायी विषकुमार श्रेष्ठका अनुसार मध्यअसारमा समेत यस वर्ष पर्यटक आगमन घटेन । ‘हिजोआज नेपालीले पनि राम्रै खर्च गर्छन्’, श्रेष्ठले भने, ‘विदेशीलाई मात्रै पर्यटक मान्ने सोच अब परिवर्तन गर्नुपर्छ ।’ उनको होटलमा दैनिक २० देखि ५० जनासम्म आन्तरिक पर्यटक बास बस्ने गरेका छन् । पर्यटन व्यवसायी नेत्र पराजुलीले कुश्मामा पर्यटनको सम्भावना बढेको बताए । ‘अग्ला पुलको मात्रै प्रचारले पनि आन्तरिक पर्यटकको संख्या बढेको छ’, पराजुलीले भने । कुश्मा आसपासका पर्यटकीय क्षेत्रको प्रचार हुन सके आन्तरिक पर्यटकको संख्या अहिलेको भन्दा दोब्बर हुने उनको जिकिर छ ।

मुक्तिनाथ जाने र पोखरा आउने पर्यटक सीधै फर्किने गरेकामा अग्ला पुलको प्रचारकै कारण यहाँ घुम्न आउने गरेको पर्यटन व्यवसायीले बताए । स्थानीय तह पुनःसंरचनापछि कुश्मा र आसपासका बजारकेन्द्रित व्यवसाय खस्किने बहस चलिरहेका बेला व्यवसायीहरू हल्लामा केन्द्रित बहसको पछि लाग्न नहुने तर्क गर्छन् । राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट कालीगण्डकी करिडोर, मोदीमा निर्माणाधीन जलविद्युत् र कालीगण्डकीको महत्वबारे प्रचार गर्न सके अर्बौंको पर्यटन कार्यक्रम बिक्री गर्न सकिने व्यवसायीको अनुमान छ ।  कुश्मालाई दुई किनारबाट छुट्याएका मोदी र कालीगण्डकी किनारका प्राकृतिक संरचनामा चट्टानारोहण, प्याराग्लाइडिङ, पौडी, जलयात्रा र बञ्जिजम्पका लागि आउने पर्यटकबाट मात्रै बर्सेनि करोडौँ डलर भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ । यहाँ मुलुककै अग्लो बञ्जिजम्पको निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । महाशिला गाउँपालिकास्थित लुंखुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिलामा पहिलो पटक घण्ट स्थापना गरिएको छ ।

सक्रिय साहित्यकार तथा महाशिला गाउँपालिकाका लेखापाल टुकनाथ रेग्मी बेलुरामको एकल लगानीमा १५ किलोग्राम तौलको घण्टा राखिएको हो । पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण मानिएको महाशिला दुर्गम गाउँमा भएका कारण उचित प्रचारप्रसार हुन नसकेका बेला बेलुरामको पहलमा पहिलो पटक घण्टा स्थापना भएपछि यहाँ आउने भक्तजन तथा पर्यटकलाई सहज भएको छ । विकट गाउँमा रहेको एसियाकै ठूलो भनिएको महाशिलाको प्रवद्र्धन गर्ने उद्देश्यले आफूले व्यक्तिगत लगानीमा घण्टा स्थापना गरेको बेलुरामले बताए । एक दशक पहिलेसम्म महाशिलाको उचित संरक्षणका साथै हरेक चाडपर्वमा मेला लाग्ने गरे पनि पछिल्लो समयमा बूढापाकाको मृत्यु हुँदै जानु र युवा पलायन हुनुले महाशिलाको प्रचारप्रसार हुन सकेको थिएन ।

सदरमुकाम कुश्माबजारबाट करिब ४० किमीको दूरीमा पर्ने लुंखुदेउरालीमा रहेको ठूलो महाशिलालाई स्थानीयस्तरमा मेहलढुंगा भनिन्छ । विश्वकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । लुंखुदेउरालीमा मोटरबाटोको सुविधा पुगेपछि भने पोखराबाट सिधै पर्यटक आउने गरेका छन् । स्थानीयवासी भन्छन्, ‘महाशिला (ढुंगा) एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्छ । झन्डै दुई चार सय मिटर पैदल हिँडेर परिक्रमा गरेपछि गुफाको चारैतिर घुम्न सकिन्छ । भौगोलिक हिसाबले भिरालो स्थानमा रहेकाले एक पटक फन्को मार्नका लागि १० मिनेटभन्दा बढी समय लाग्छ ।’ महाशिलामा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षय तृतीयालगायत चाडपर्वमा मेला लाग्छ ।

तपाइको प्रतिक्रिया