रात्रिकालीन पर्यटनका चुनौती

मा प्रकाशित

Biman limboo

पर्यटन विकासको कुरा गर्दा पर्यटन पूर्वाधारलाई विचार गर्नुपर्दछ । नेपालमा हालसम्म जे–जति पूर्वाधार बनेका छन्, ती सबै नाम मात्रका र कमजोर छन् । पूर्वाधार भन्नाले राम्रा र सुविधाजनक होटल, सफा र भरपर्दा यातायात, सरसफाइ, हरियाली, स्वच्छ वातावरण समयमै गन्तव्यमा सुरक्षित ढंगले पुग्न सकिने यातायात सञ्जाल पदर्छन् । त्यसैगरी, पर्यटकहरूका लागि सूचना केन्द्र, मनोरञ्जनस्थल, बैंक, स्वास्थ्यचौकी, अत्यावश्यक वस्तुको सहज आपूर्ति र छिटोछरितो अध्यागमन सेवा पनि पर्यटकका लागि नभई नहुने कुरा हुन् ।

कुनै पनि देशको विशिष्ट पहिचानका केही वस्तु हुन्छन् । त्यस्ता फरक पहिचानको जानकारी लिन र मन बहलाउन नै पर्यटकहरू खास–खास देशमा आउने गर्छन् ।नेपालका प्रमुख पर्यटकीय केन्द्रहरू काठमाडौंको ठमेल र पोखराको लेकसाइड २४ सै घन्टा खुल्ला राख्ने कुरा फेरि चर्चामा आएको छ । विगतमा पनि यो प्रसंग नउठेको होइन । यसपाली माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृहमन्त्री भएपछि यो कुरा उठ्नु संयोगको मात्र कुरा होइन ।जनार्दन शर्मा ऊर्जामन्त्री हुनासाथ उहाँले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरी लोडसेडिङमुक्त गराउनुभयो ।त्यसबाट मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङले राम्रै चर्चा बटुल्नु भयो र लोकप्रिय पनि बन्नुभयो ।

गृहमन्त्री शर्माले सुरक्षाको क्षेत्रमा पनि केही नयाँ आयाम थपेर लोकप्रियता आर्जन गर्न प्रयास गर्नु राम्रै कुरा हो । पर्यटन केन्द्रहरू चौबीसै घन्टा खुला राखेर रोजगारीका नयाँ अवसर खोज्ने र आर्थिक समृद्धि हासिल गर्ने मन्त्री शर्माका प्रयासलाई सकारात्मक नै मान्नुपर्छ । नेपालमा पर्यटन व्यवसायको विकास र विस्तारका थुप्रै सम्भावना छन् । कम लगानीबाटै पर्यटन व्यवसायको विकास र विस्तार सम्भव छ । पर्यटन क्षेत्र नेपालका लागि सम्भावनै सम्भावना भएको क्षेत्र हो । यसले स्वरोजगार सिर्जना गर्छ, आर्थिक विकासमा प्रत्यक्ष टेवा पु¥याउँछ र व्यापार घाटा कम गर्न पनि सघाउँछ । प्रत्यक्ष विदेशी मुद्रा आर्जन गर्ने पर्यटन व्यवसायले सामान आयात गर्न परिवर्तय विदेशी मुद्रा प्राप्त गर्न सहयोग पु¥याउँछ ।

नेपालको व्यापार घाटा वर्षेनी बढ्दो छ । हाम्रो देशबाट एउटा सामान निर्यात हुँदा १२ वटा सामान आयात हुन्छन् । अर्थात् नेपालको व्यापारघाटा १२ गुणा बढी छ भन्दा अत्युक्ति हँुदैन । व्यापार घाटा बढ्दै जाँदा र विदेशी मुद्रा आर्जन घट्दै जाँदा एक दिन इन्धनसहित कुनै पनि सामान भित्र्याउन नसकी देशै टाट पल्टिने खतरा छ । अहिलेसम्म विदेशमा निर्यात गर्ने स्तरीय औद्योगिक उप्पादन खासै केही छैनन् । केवल हस्तकला र गलैँचा गार्मेन्टजस्ता सानातिना वस्तु निर्यात गरेर व्यापार घाटा कम हुँदैन । पर्यटन व्यवसायको विकास र विस्तारले नै आज थाइल्यान्डको अर्थतन्त्र फस्टाएको छ । नेपालले आफ्ना पर्यटन गन्तव्यको राम्ररी विकास र प्रचार प्रसार गर्ने हो भने केही वर्षमै पर्यटन आगमन दोब्बर तेब्बर हुन बेर लाग्दैन । हाम्रो देशका धेरै पर्यटन गन्तव्य खुल्नै बाँकी छन् । खुलेका पर्यटन क्षेत्रमा पनि ज्यादै कम विदेशी पर्यटक आइरहेका छन् । कुनै खास सिजनमा मात्रै पर्यटक आउने हुनाले पर्यटन व्यवसायीहरूले २÷३ महिना पेसा चलाएर वर्षैभरि गुजारा गर्नुपर्ने अवस्था छ ।
विदेशी पर्यटक हिमाल, ताल, पहाड, वन्यजन्तु र खोलानाला हेर्न मात्रै नेपाल आएका होइनन्, नेपालको विविध भेषभुषा, संस्कृति, खानपिन–रीतिरिवाज र चाडपर्वले पनि पर्यटकहरूलाई तानिरहेको छ, तर हाम्रो देशका यस्ता सांस्कृतिक सम्पदाको न राम्ररी संरक्षण भएको छ, न प्रचार प्रसार नै । नेपालका प्राकृतिक सम्पदाहरू जस्तै फेवाताल, रूपाताल र हिमाल पनि अस्तित्वको संकटमा छन् । भाषा संस्कृति लोप हुने खतरामा छन् । परम्परादेखिका नाचगानजस्तै लाखे, सोरठी, चुड्का भजन पनि लोप हुँदैछन् । जात्रा निकाल्ने चलन घट्दो छ । मौलिक खानेकुरामा धेरै मिसावट भइरहेको छ । नेपाल घुम्न आउने पर्यटकहरू नेपालका मैलिक उत्पादनका सामानहरू जस्तै सारंगी, मूर्ति, सुर्के थैली, मुकुन्डा, करुवा, खुकुरी, थाङ्का, झोला, टोपी, ढाका कपडा, अल्लो कपडा आफूसँग उपहारको रूपमा लैजान चाहन्छन् । वेत, बाँस र निगालोबाट बनेका सामान र ढुंगाका मूर्ति पनि नेपालको परिचय झल्काउने सामान हुन् । यस्ता सामान पर्यटकका रुचि र भागअनुसार प्रशस्त उत्पादन भइरहेका छन् त ?
फेरि एकपटक रात्रिकालीन पर्यटन व्यवसायकै प्रसंग जोडौं । रातिको समयमा अर्थात् चौबीसै घन्टा पर्यटन उद्योग सञ्चालन गर्न नयाँ शैलीको व्यवस्थापन जरुरत पर्दछ । राति पनि पर्यटन प्रहरी र ट्राफिक प्रहरी परिचालन गर्नुपर्दछ । सबै ठाउँमा सीसीटीभी जोडिनुपर्दछ । अँध्यारा गल्लीलाई झिलिमिली पार्नु पर्दछ । बैंकिङ सेवा राति पनि खुल्ला राख्नुपर्ने हुन्छ । हाल ठमेल र पोखराको लेकसाइड चौबीसै घन्टा खुल्ला राख्ने हो भने कम्तिमा ती ठाउँमा पानीको सहज आपूर्ति र फोहोर व्यवस्थापनको नयाँ तरिका अपनाउनुपर्छ । अहिले पर्यटन केन्द्रमा होटल, लज, रेस्टुराँ, क्लब, डान्सबार, मदिरा पसल, खुद्रा पसल र अन्य पसल एकै ठाउँमा छन् । केही पर्यटकहरू नेपाली परिवेशमा रमाउन चाहन्छन् तर कतिपय होटल लजमा बस्ने अतिथिहरू राती शान्तसँग सुत्न चाहन्छन् ।

टे«किङ गरेर थाकेर आएका पर्यटक दिनरात होहल्ला हुने स्थानमा सुत्न सक्दैनन् । त्यस्तै अध्ययनका लागि आएका कतिपयलाई शान्त र सुरक्षित ठाउँ चाहिन्छ ।चौबीसै घन्टा पर्यटन व्यवसाय खुल्ला राख्दा शान्त वातावरण खोज्ने पर्यटकहरू कहाँ गएर वस्लान ? यस्तो होहल्लाले लज होटलमा सुतिरहेकालाई प्रत्यक्ष असर पर्छ । उनीहरूमध्ये कोही त सुतिरहेको ठाउँबाट राती नै भौंतारिएर अन्यत्र भाग्न पनि खोज्छन् । यो प्रश्नको उत्तर कसैसँग छैन । त्यस्तै २४ सै घन्टा बार, डिस्को र मदिरा पसलहरू खुल्ला राख्दा व्यापार व्यवसाय फस्टाए पनि त्यसबाट पैदा हुने होहल्लाले अन्य सामान्य नागरिकलाई के कस्तो प्रभाव पार्ला ? त्यसतर्फ सोच्नुपर्ला कि नपर्ला ? मदिरा सेवन गरी जथाभावी बोल्दै हिँड्ने र आफूखुसी पोसाक लगाई सडकमा लम्पसार पर्नेलाई कसले कसरी तह लगाउलान् ? हाम्रो देशमा हालसम्म पनि निश्चित ठाउँमा निश्चित पेसा व्यवसाय गर्ने खालको व्यापारिक केन्द्र छैनन् । विदेशमा पर्यटन क्षेत्र वा मनोरञ्जनस्थल नजिक सर्वसाधारणको बस्ती हुँदैन ।

हाम्रो देशमा गुरुयोजना बनाएर पर्यटन पूर्वाधारको विकास गर्ने काम कहिलेदेखि सुरु होला ? यसको जवाफ पनि कसैसँग छैन । पर्यटन व्यवसाय चलाउने व्यक्तिहरूको मानसिकता पनि फराकिलो र सुझबुझपूर्ण हुनुपर्दछ । अर्काले ठूलो होहल्ला गर्दा तुरुन्तै सिकायत गर्ने अनि आफूले हल्ला गर्दा अरुलाई परेको असरतर्फ ध्यान नदिने धेरै व्यवसायीको बानी छ । सहनशीलता र समझदारी पटक्कै छैन, यस्तो अवस्थामा रात्रिकालमा पर्यटन व्यवसाय सञ्चालन गर्न समस्या हुँदैन होला र ? सारांशमा भन्नुपर्दा पर्यटन क्षेत्रको विकास र विस्तार नगरी देशले आर्थिक विकासमा फड्को मार्न सक्दैन । देशमा रोजगारीका अवसर बढ्दैनन्, तर सरकारको यही कार्यशैली र बिनायोजनाको पूर्वाधार विकासले अपेक्षित विकास सम्भव देखिँदैन । रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालन गर्नु भनेको धेरै चुनौतीपूर्ण काम हो । यदि चौबीसै घन्टा पर्यटन केन्द्रहरू खुल्ला राख्ने हो भने प्रशासन र प्रहरीको कार्यशैली फेरिनुपर्दछ । रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालन गर्दा नेपालका मौलिक गीत, संगीत, नृत्य नाटक आदि पनि समावेश गर्नुपर्दछ ।

त्यस्तै नेपाली परम्पराका रेस्टुरा, होटलहरू पनि अझ बढी संख्यामा खोल्नुपर्दछ । पर्यटन व्यवसायाले दिनरात पर्यटकलाई केही मनोरञ्जन, सुविधा र नयाँ कुरा दिन नसक्ने हो भने केवल पेय पदार्थ बेचेर मात्रै पर्यटन व्यवसाय मर्यादित तरिकाले फस्टाउन सक्ला ? नेपालको आर्थिक विकासका लागि पर्यटन अत्यन्तै महत्वपूर्ण आधार हो । कृषि र जलस्रोतपछि पर्यटन क्षेत्रलाई बढी महत्व दिइएको देखिएको पनि छ । तर लगानीको तुलनामा प्रतिफल प्राप्त हुन नसकेको सत्य हो । वास्तवमा पर्यटन क्षेत्रलाई एक नम्बरमै राख्न हिचकिचाउनु नै पर्यटन विकासमा बाधक मुख्य कारक हो । पर्यटनको बहुआयमिक रूपले देश विकासमा टेवा पु¥याउँछ । पर्यटनले प्रत्यक्ष विदेशी मुद्रा आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र देशभित्र उत्पादित वस्तुहरूको खपत बढाई राजस्व वृद्धि गराउँछ । जलस्रोतको विकासबाट ऊर्जा प्राप्त हुन्छ, कृषिको विकासले पनि देशलाई आत्मनिर्भर बनाई खाद्यान्नजन्य उद्योग खोल्न सहयोग गर्छ ।

आर्थिक समृद्धिको सञ्चार, शिक्षा, स्वास्थ्य आदि क्षेत्रको समानुपातिक र समानान्तर विकास जरुरी छ । तर त्यसमा पनि पर्यटनको विशेष महत्व हुने कुरामा कुनै शंका छैन । देशको चौतर्फी विकास भनेको जनताको औसत आयु बढ्नु, मातृ तथा बालमृत्युदर घट्नु, मानिसहरू निरोगी हुनु, सबै साक्षर हुनु हो । त्यस्तै, बेरोजगारी नहुनु, अपराध न्यून विन्दुमा पुग्नु, भ्रष्टाचारमुक्त समाज हुनु, सुशासन कायम हुनु र सरकारको काम पारदर्शी हुनु पनि विकासका सूचकांकहरू हुन् । हाम्रो देशका यी सूचकांक उत्साहजनक छैनन् । व्यापारघाटा वर्षेनी बढ्दो छ, विकासको बजेट वर्षेपिच्छे फ्रिज हुन्छ । सामाजिक सुरक्षा छैन । अपराध, तस्करी, भ्रष्टाचार ढिलासुस्ती बढ्दो छ । राजनीतिक स्थिति तरल र अस्थिर छ । यस्ता खालका समस्या रहुञ्जेल देशमा वैदेशिक लगानी बढ्दैन । स्वदेशी पुँजी परिचालन हुन्न । सेयर बजारको विकास पनि हुँदैन । देशको पछ्यौटेपन हट्दैन अनि युवायुवती पलायन हुन बाध्य हुन्छन् । नेपालको हालको वास्ताविक अवस्था यही हो । (लेखिका पर्यटन व्यवसायी हुन्)

तपाइको प्रतिक्रिया