‘को १ छ छ १ छ’ शुक्रबारदेखि मञ्चन हुँदै

२०७४ साउन २५ गते ९:३१ मा प्रकाशित
केशव भट्ट

ko ek chha cha ek chhकाठमाडौं २५ साउन । भन्नेहरूले ‘जीवन यात्रा हो’ भन्छन् । यात्रानै जीवन हो पनि भन्छन् । यी दुई कुरालाई मिसाएर निष्कर्ष निकाल्ने हो भने जीवनमा हुने घटनाहरूलाई यात्राका मोडहरू भन्न सकिन्छ । सामान्यतया जीवनलाई यात्राका आधारमा वर्गीकरण गरिन्छ भने यात्राहरूलाई दुरीका आधारमा वर्गीकरण गरिन्छ । छोटो तथा लामो दुरीका कुनै पनि यात्रामा नसोचेका तर, अविष्मरणीय कुरा भइदिन्छन् ।

ती नसोचेका त्यस्ता घटनाहरूले जीवनमा लामो समयसम्म पनि घचघच्याई रहन्छन् र मानिसको हृदयलाई त्यो अविष्मरणीय क्षणको समयमा पु¥याइदिन्छन् ।जीवनको छोटो दुरीको यात्रामा एउटा युवकले भोगेका घटनाका अनुभूतिमा आधारित नाटक हो, ‘को १ छ छ १ छ’ । एउटा ग्रामीण भेगको युवकले आफ्नो एक दिवसीय बस यात्रामा एउटी युवतीलाई भेट्न पुग्छ । ती युवतीको सुन्दरताबाट प्रभावित भएर बसभित्रै युवकले अनेकौं काल्पनिक यात्राको उडान भर्छ ।

आफ्ना मनका भाव युवतीसमक्ष प्रकट गर्ने उपायहरूको खोजीमा भौँतारिएको युवकले कल्पनामा कस्ता कस्ता तहहरू कसरी पार गर्छ भन्ने कुरा समेटिएको नाटक ‘को १ छ छ १ छ’ आगामी २७ साउनदेखि मण्डला नाटकघर अनामनगरमा मञ्चन हुँदैछ । उक्त नाटकमा गीतसंगीतको प्रधानता छ भने चलनचल्तीकाभन्दा अलि बेग्लै शैलीका संवादहरू प्रयोग भएको जानकारी आधासुरले दिए ।  नयाँ नेपाली संगीतका आसलाग्दा प्रतिभाकारूपमा रहेका ‘आधासुर’ भनेर चिनिने रोशनराज थापाको कथा, परिकल्पना र निर्देशनमा ‘को १ छ छ १ छ’ नाटक तयार भएको छ । थापाले यसअघि पनि चर्चित नाटक ‘डिग्री माइला’, ‘मितज्यू’, ‘शिरूमा रानी’, ‘एक बोली एक दाम’ मा प्रत्यक्ष संगीत दिएका छन् ।

उनले तयार पारेका गीतहरू ‘कबड्डी’, ‘डाइङ क्यान्डल’, ‘धनपति’ जस्ता चलचित्रमा सुन्न सकिन्छ । नेपाली रंगमञ्च, सिनेमा र व्यवस्थापन क्षेत्रका पारखी एवं कलाकारहरूद्वारा खोलिएको लेट्स इन्टरटेनमेन्टले यस नाटकलाई प्रस्तुत गर्दै छ । मञ्चमा अमृत ढुंगाना, निशा कार्की, रियर राई, आयान खड्का, मिलन कार्की, रोहित पौडेल, अनुप न्यौपाने, सागर दाहाल, पुष्कर कार्की देखिने छन् । संगीतमा आधासुर, गीतमा सरूभक्त, विवेक ओझा र सिजन दाहाल र वाद्यवादनमा आधासुर, दीपक श्रेष्ठ, दीक्षित अधिकारी र निरज रेग्मी रहेका छन् ।

तपाइको प्रतिक्रिया