नगरकोट सडकको बाधक टोले ‘डन’

२०७४ साउन २६ गते ९:०२ मा प्रकाशित
कमल न्यौपाने

nagarkot-sadak--1-- copy

भक्तपुर । पर्यटकीय क्षेत्र नगरकोट जाने सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । सडक निर्माणको जिम्मेवारी लिएका ठेकेदारहरूको लापरबाही र सडक डिभिजन कार्यालयको उदासीनताका कारण यो सडक जीर्ण बन्दै गएको हो । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने सडकका बीचमा भएका खाल्डाखुल्डीले सवारी दुर्घटनासमेत बढाएको छ । यस सडकमा चालक मात्र नभई पैदल यात्रुलाई समेत सास्ती भइरहेको छ । सडकमा देखिएका यी खाल्डाखुल्डी मर्मत गर्ने तथा सडक सुधारको गतिलाई तीव्र पार्नेतर्फ कसैको ध्यान जान नसकेको खरिपाटीका स्थानीय बताउँछन् ।

सडक मर्मतका लागि भनेर खनिएका खाल्डाखुल्डी पुर्ने कामसमेत निर्माणको जिम्मा लिएका निकायले गर्न चासो नदेखाएको स्थानीयको गुनासो छ । तीन वर्षअघि विस्तार थालिएको कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तारमा अझै ढिलाइ भएको छ । निर्माण कम्पनीको लापरबाही मात्र नभई चाँगुनारायण नगरपालिकाले समेत उक्त सडक तत्काल निर्माण तथा मर्मत र सुधारमा चासो देखाएको छैन ।

चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका स्थानीयको भनाइअनुसार ठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम प्रत्येक दिनजसो बढेको छ ।  घाम लाग्दा धुलाम्मे र पानी पर्दा सडक हिलाम्मे हुने हुँदा सडक छेउछाउका बासिन्दाको स्वास्थ्यमा समेत असर पर्दै आएको स्थानीय बताउँछन् । राजनीतिक आड र पाखुराको भरमा लिइएको ठेक्कामा अहिले यी दुबै पहुँचका आधारमा ठेकेदारले निर्माणमा चासो नदेखाएको पाइएको छ । यस क्षेत्रका राजनीतिक दलसमेत यो सडक तत्काल निर्माण हुनुपर्ने विषयमा गम्भीर देखिएका छैनन् । सडक जस्ताको त्यस्तै छ । बजेट ठेकेदारले खर्च गरिसकेका छन् एक स्थानीयले भने, ‘अझै सडक बन्ने सम्भावना छैन ।’

स्थानीय तहको निर्वाचनका बेला भोट बैंकका रूपमा रहेको उक्त सडक विस्तारमा अहिले चाँगुनारायण नगरपालिकाका नगर प्रतिनिधिको समेत उक्त सडकमा ध्यान जान नसकेको स्थानीयको गुनासो छ । सडक जीर्ण बन्दै जाँदा पर्यटकीय क्षेत्र नगरकोटमा आउजाउ गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई एकदमै सास्ती भइरहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।  एक्जिम बैंक इन्डियाको सहयोगमा करिब २८ करोडको लागतमा विस्तार थालिएको उक्त सडकको निर्माण आर्थिक वर्ष ०७२÷७३ भित्र सक्ने लक्ष्य रहेपनि यसअघि भूकम्पको कारण देखाउँदै ठेकेदारले ०७४ साल मंसिरसम्म पूरा गर्ने सम्झौताअनुसार म्याद थप गरिएको थियो ।

उक्त सडक निर्माणको जिम्मेवारी लिएको शैलुङ कन्स्ट्रक्सन प्रालिका मेनेजर विनोद अधिकारीका अनुसार अहिलेसम्म ४० प्रतिशत सडक निर्माण भएको छ । निर्माण कम्पनीले काम तीव्र रूपमा अघि बढाउन खोजेपनि स्थानीय टोले ‘डन’हरूको चलखेल र अवरोध तथा धम्कीका कारण निर्माणमा ढिलासुस्ती भएको अधिकारीले जानकारी दिए । शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले १६ किमी सडक निर्माण गर्न म्याद थप गरेको जानकारी दिँदै मेनेजर अधिकारीले आगामी जेठसम्म सडक निर्माण पूरा गर्ने योजना रहेको बताए । अहिलेसम्म उक्त सडक निर्माणमा १८ करोड खर्च भइसकेको छ । आधाभन्दा बढी रकम खर्च हुँदा पनि टोले डनका रूपमा चिनिएका जगत लामाको समूहले धम्की दिने, काममा अवरोध गर्ने गरेको कारण आधा काम हुन नसकेको शैलुङका साइट इन्चार्ज प्रकाश लामिछानेले बताएका छन् ।

लामाको समूहले पटक पटक सडक मर्मतमा संलग्न मजदुरलार्ई समेत ज्यान मार्ने धम्की दिएको बताउँदै आफूहरूले ज्यान सुरक्षाका लागि भक्तपुर प्रहरीमा निवेदनसमेत दिएको लामिछानेले जानकारी दिए । तर, उक्त सडकका कारण नगरकोटबाट देखिने हिमशृंखला, सूर्योदयलगायतको आकर्षक दृश्यावलोकन, स्वच्छ हावापानी, शान्त वातावरणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया