भुटान अतिक्रमणको विरोध यसकारण

२०७४ साउन २७ गते १२:२७ मा प्रकाशित
सूर्यबहादुर खड्का

suryaचीन र भारत विश्वका सबैभन्दा ठूलो जनसंख्या भएका मुलुक त हुन् नै, त्यसबाहेक विकास, समृद्धि र सम्पन्नताको होडमा पनि उत्तिकै प्रतिष्पर्धी नेपाली छिमेकी हुन् । संसार साक्षी छ, साम्यवादी देश चीन हरेक हिसाबले विश्वको मुख्य शक्ति राष्ट बन्दै छ । उसले सन् ९० को दशक ताका सोभियत युनियनको विघटनपछि एकल साम्राज्य चलाउँदै आएको अमेरिकी दम्भलाई आर्थिक, वैज्ञानिक, प्राविधिक र विकासका सबै उपायद्वारा दिनदिनै जित्दै, किच्दै र पछि पार्दै गइरहेको छ । संसारलाई पलपल जितिरहेको तर कसैलाई बिझाउने, दुःखाउने नगरी विश्व शक्ति नायक बन्दै गइरहेको नेपालको असल उत्तरी छिमेक हो चीन भन्नेमा कसैको विमति हुन सक्दैन ।

यता आफूलाई दक्षिण एसियाको सुपरपावर भन्ने दम्भ पाल्दै आएको भारत न छिमेकीहरूलाई रिझाउन सकिरहेको छ, न जित्नै सकिरहेको छ । तर, यही बेला भारत भने निहुँ खोज्न चम्किरहेको छ । अहिले भुटान र चीनको सीमानाका दोक्लममा भारतले चिनियाँ सेना सामु गरिरहेको हुक्काँ पनि भारतको आफ्नो आँगमा भैँसी हिँडेको नदेख्ने, अर्काको आँगमा जुम्रा देख्ने दृष्टिदोषकै परिणति हो ।

नेपालको तीनतिरको भूगोलको छिमेकी भारत त्यस्तो छिमेक हो, जो सधैँ सँधियार देशसँग दुश्मनी गरेर श्रेष्ठताको दम्भ देखाएर बिरलै थाक्छ । पाकिस्तानसँगको उसको जन्मजात दुश्मनी, भुटानमाथिको उसको पुस्तौनी थिचोमिचो, बंगलादेशप्रतिको बक्रदृष्टि वा नेपालमाथिको निरन्तर हस्तक्षेप वा चीनसँगको बेमौसमी निहुँ खोजाहा प्रवृत्ति भारतीय हैकमका ताजा उदाहरण नै हुन् ।

नेपाल चीनसित भौगालिक सीमाना जोडिएका १४ वटा मुलुकमध्येको एक हो । चीनको नेपालसित सीमा विवाद छैन । नेपाल चीन संबन्धको असल पक्ष यही हो । र, अन्य ११ वटा देशसितका सिमानासम्बन्धी विवाद पनि उदाउँदो विश्व शक्ति देश चीनले सुल्झाइसकेको छ । चीनको असल छिमेक नीतिको गतिलो उदाहरण यही हो । नसुल्झेको भनेको खालि भारत र भुटानसितको मात्र हो । त्यो पनि चीनको कारण नभई, भारतका कारण भइरहेको रेडिमेड विवादको जड हो ।

भारतीय पराजयको इतिहास ः
१ हजार ३ सय ८३ सैनिककोे इहलीला समाप्ती, १ हजार ६ सय ९६ सैनिक बेपत्ता, वा ३ हजार ९ सय ६८ सेना चिनियाँ जनमुक्ती सेनाका युद्धबन्दी । सन् १९६२ को भारत चीनबीचको युद्धमा नेपालको ३ तिरको छिमेकी भारतले पाएको क्षतिको श्यामश्वेत तस्बिर त्यही हो । हो, सन् ६२ को युद्धमा भारतका मारिएका, १ हजार ३ सय ८३, बेपत्ता १ हजार ६ सय ९६ र चिनियाँ बन्दक बनाइएका ३ हजार ९ सय ६८ भारतीय सेना मध्ये घाइते २६ सैनिक त चिनियाँ भूमिमा नै देहत्याग गर्न विवश भए ।

बाँकी बन्दी सन् १९६३ मे महिनामा भारत फिर्ता भए जसमा ब्रिगेडिएर जोन पी डाल्भीसमेत थिए । भारतले ३ वर्षपछि मानवीय नोक्सानीको यो विवरण सार्वजनिक गरयो । युद्ध जितेको चिनले आफ्ना सैन्य तथा सामरिक क्षतिको विवरण सार्वजनिक नगरे पनि उसले कम क्षतिमा भारतविरुद्ध युद्ध जितेको भारतीय सैन्य तथा सामरिक क्षतिको गणितले नै प्रमाणित ग¥यो ।

रमाइलो त के भने करिब ४ हजार भारतीय सेना चिनियाँ युद्धबन्दी हुँदा भारतीय फौजले चीनको एक जना सिपाहीसमेत युद्धबन्दी बनाउन सकेन । भारतले निहुँ खोज्यो, तर यद्धमा आपैmँ धुलो चाट्यो, त्यो पनि अकल्पनीय मानवीय तथा सैन्य क्षतिका साथ । हो, नेपाली क्यालेन्डर अनुसार ०१९ साल कात्तिक महिनामा नेपालका २ ठूला छिमेकी देश सिमानाकै कारण सैन्य युद्धमा होमिए । त्यतिबेला नेपालमा राजतन्त्र थियो र ०१७ सालमा राजा महेन्द्रले सुरु गरेको पञ्चायती एकदलीय व्यवस्था भर्खर वामे सर्दै थियो ।
नेपालले पञ्चायती संविधान भर्खरै पाएर संवैधानिक अभ्यास गर्दै गर्दा युद्धमा होमिएका २ छिमेकीको त्यो युद्ध १ महिना चल्यो र त्यसमा भारतले पराजय बेहोर्नु प¥यो । युद्धका क्रममा जनधनको अकल्पनीय क्षति र नोक्सानी त भयो नै त्यसको साथसाथै भारतले भूभाग पनि गुमाउनु प¥यो । निहुँ खोजुवा पनि भारत, हार्ने पनि भारत र भूमि गुमाउने पनि भारत । त्यही थियो १९ सालको युद्धको परिणाम ।

०१९ साल ४ कात्तिक अर्थात सन् १९६२, २० अक्टोबरका दिन चीनबाट पहिलो आक्रमण हुँदा भारत राम्रो तयारीको अवस्थामा नै थिएन । चिनियाँहरूले अति भएपछि पहिलो आक्रमण गरेर भारतलाई विनाकारण छिमेकसँग टिमेका लिनुहुन्न भन्ने महँगो युद्ध सवक सिकाएका थिए । उतिबेलाको युद्धमा चीनले फेरि ठोक्यो, ठोकिरह्यो भारतलाई ।
रक्षात्मक अवस्थामा भारतीय सेना र आक्रामक रूपमा चिनियाँ सेना भिडेका थिए । चिनियाँ आक्रमकको दमदार युद्धले भारततर्फ निरन्तर थप क्षति गरायो ।

आफ्नै बलबुताले चिनियाँ जनसेनाविरुद्ध युद्ध जित्नु भारतका लागि फलामका चिउरा चपाउनुसरह थियो । त्यसैले भारत अमेरिकासित सैनिक सहायता माग्ने रणनीतिमा अग्रसर भयो । जसै भारत अमेरिकासँग सैन्य सहायताको गुहार मागेर चीनलाई थप प्रत्याक्रमण गर्ने प्रयाशमा अघि बढ्दै थियो त्यसैबखत चीनले एकतर्फी युद्धविराम घोषणा गरिदियो । माओत्सेतुङकोे जनमुक्ति सेनाको अगाडि जवाहरलाल नेहरूको भारतको सैन्यबल टिक्न सकेनन् । भारत हा¥यो । उसले अमेरिकालाई निम्तो दिने प्रयाश पनि सफल पार्नै सकेन । चीनले एकतर्फी युद्धविराम गरेर विदेशीलाई खेल्ने मौकामा नै वुद्धिमतापूर्वक पूर्णविराम लगाइदियो ।

सन् ६२ को युद्धबारे भारत सरकारले धेरै कुरा आधिकारिक रूपबाट सार्वजनिक गरेको छैन किनभने त्यो युद्ध नेहरूको ‘अग्रगामी नीति’ को प्रतिकार गर्ने क्रममा चीनबाट सुरु हुन पुगेको थियो । तर, भारतको कांग्रेस पार्टी र सरकारहरूले नेहरूको कमजोरी प्रकट हुने विषय बाहिर ल्याउन चाहेनन् । तर, सन् २०१४ मा अस्ट्रेलियाका पत्रकार नेभाइल म्याक्सवेलले सन् ६२ को युद्धको उद्घोष चीनले होइन, नेहरूले गराएका हुन् भनेर लेखिदिएर भारतीय चेहरा उदांग पारिदिएका थिए । उनले उसबेलाको द्वन्द्वबारे सरकारले गराएको गोप्य छानबिनमा आधारित ‘हेन्डर्सन ब्ब्रुक्स रिपोर्ट’ भनिने प्रतिवेदन सार्वजनिक गर्दै भारतको क्षतिको रहस्य यति बलियो रूपमा सार्वजनिक गरिदिए कि भारतीय रक्षा मन्त्रालयले म्याक्सवेलले गरेको यो रहस्योद्घाटनको खण्डन गर्नसम्म पनि सकेन कथित संवेदनशील र अति गोप्य मामिलाबारे केही भन्न नमिल्ने वक्तव्य जारी गरेर चुपचाप बस्नबाहेक ।

सन् ६२ को युद्धमा भारतको ‘लज्जाजनक’ हारको जिम्मेवार नेहरू हुन् भन्ने निष्कर्ष भारतकै लेखक र विश्लेषकहरूले पनि निकालेका छन् । अंग्रेजले छोडेको विवादग्रस्त नक्साको आडमा चीन अधिनस्थ भइसकेको तिब्बतको सिमाना उत्तरतिर घचेट्ने विस्तारवादी मिचाहा भारतीय चाहनाको परिणाम थियो त्यो युद्ध । त्यो भारतीय हैकमवादको एक रूप थियो । तत्कालीन भारतीय शासक नेहरूले आन्तरिक असहमतिका कतिपय स्वरको बेवास्ता गर्दै जर्नेल बी एम कौल र गुप्तचर प्रमुख बी एन मल्लिकमाथि आफूलाई बढी निर्भर तुल्याएर शासकीय भुलमा उत्तरी छिमेकसँग पौठेजोरी खेल्न गरेको मुर्खता पनि थियो त्यो युद्ध ।

भारतीय लेखक ए जी नुरानीकै शव्दमा अहिले डोक्लामको सम्बन्धमा लिइएको नीतिले सन् ६२ को भन्दा गम्भीर जोखिम निम्त्याउन सक्छ । त्यस बेलाका चिनियाँ राजदूत पान सुलीले भारतसित मैत्रीभाव कायम राख्न कामलाग्ने सूत्रहरू दिएका हुन् तर भारतीय पक्षले निरन्तर तिनलाई बेवास्ता गर्दै गयो । चीनले अहिले त भारतलाई फेरि पाठ पढाउने बाध्यता नआओस् भन्ने सन्देश दिई नै सकेको छ ।

छिमेकको टिमेक, नेपालको भूमिका के ?
आधुनिक नेपालका एकीकरणककर्ता राजा पृथ्वीनारायण शाहकै शव्दमा नेपाल, भारत–चीनबीचको दुई ढुंगाको तरुल हो । तर, भारत–चीन अर्थात दुई ढुंगा आपसमा लड्दा पनि तरुलरूपी नेपाल जोगियो । पृथ्वीनारायण शाहकै सन्तती राजा महेन्द्रले भारत–चीन युद्धमा नेपाललाई तटस्थ राख्ने उदाहरणीय भूमिका उतिबेला देखाएको इतिहास साक्षी छ ।

चीनद्वारा भारतमाथि पहिलो हमला भएको पाँचौँ दिन संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा तत्कालीन नेपाली राजा महेन्द्रले दिएको सन्देशमा छिमेकमा सुरु भएको युद्धबारे भनिएको थियो, ‘नेपालले आफ्नो सबभन्दा नजिकको महान् छिमेकी राष्ट्र भारत र चीनबीचको अत्यन्त नरमाइलो र डरलाग्दो संघर्ष यथाशीघ्र दुबैलाई मर्का नपर्ने किसिमसँग शान्तिपूर्ण तरिकाले समाधान होस् पनि नभनिरहन सक्तैन ।’

त्यसको एकवर्षपछिको त्यसै अवसरमा राजा महेन्द्रले तटस्थ नेपाल नीतिलाई फेरि दोहो¥याएका थिए, ‘…भारत र चीनबीच उत्पन्न भएको अमैत्रीपूर्ण सम्बन्धले गर्दा नेपाल आफूलाई असजिलो परेको अनुभव गर्दछ ।’ त्यसबखतसम्म चीन संयुक्त राष्ट्रसंघको सदस्य थिएन र राजा महेन्द्र सदस्यता दिलाउने पक्षमा थिए । भारतलाई नचिढ्याइकनै चीनियाँ पक्षमा नेपालको साथको नमुना पनि थियो स्व. राजा महेन्द्रको सो नीति ।

दुई छिमेकीको युद्धले नेपाललाई अप्ठ्यारो पारे पनि नेपाल आफ्नो सर्वोपरि हितका लागि विवादमा नफसेरै जोगियो । दुई छिमेकबीच विवाद नचर्काउन पुग्ने सानो योगदानसमेत तटस्थताको नीतिको अवलम्बनबाट गर्ने राजा महेन्द्रको नीति सही सावित पनि भएको थियो ।

अहिले नेपाल किन मौन ?

भनिन्छ, मौन कूटनीति पनि साना मुलुकका लागि सही हो । दोक्लममा भारतले अहिले चीनले बनाइरहेको सडकको निहुँमा बेकारमा तनाव झिकेको हो । यो तनावको भूगोल भारतको पनि होइन । भुटानको भूगोलमा भारतीय सेनाले चीनसित निहुँ खोज्नुको मतलव भारतको ज्यादती हो । अर्को देशको भूमिमा भारतको सैन्य उपस्थिति आपैmँमा भारतीय गल्तीको ज्यूँदो प्रमाण हो । भूमि भूटानको । सीमा भुटान र चीनको । अनि भुटान र चीनको सीमा भूगोलमा भारतीय सेनाको जबर्जस्त तैनाथी र तनाव । यही नै कारण हो की नेपाल भारतको मिचाहा ज्यादती र प्रवृत्तिविरुद्ध बोल्नु नै पर्दछ । सार्वभौम देश नेपालले यो भारतीय अतिक्रमणको दर्शक भएर होइन, सत्यवादी भएर मुख खोल्नुपर्दछ ।

त्यसैले नेपालले अब भारतको ज्यादतीविरुद्ध बोल्ने साहस गर्नुपर्छ । सन्तुलित रूपमा उसले भारतीय हैकमको विरोध कूटनीतिक, राजनीतिक रूपमा गर्नु नै नेपालको हितमा छ । भारतले भुटानको सुरक्षा जिम्मा लिने उसको हैकमवादी चरित्र दोक्लममा चीनसित लडने तहमा ओर्लिुनपर्ने कुनै कारण नै छैन । कांग्रेस–माओवादी गठबन्धन सरकारका प्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा विदेशमन्त्री भएको यो बेलामा दोक्लममा देखिएको भारतीय हैकमविरुद्ध उचित प्रतिकार नगर्नु भनेको सरकारी लाचारी मात्रै हुने छैन, भारतीय हैकम भोलिका दिनमा नेपालमा थप बिस्तार हुन दिने प्रपञ्च पनि हुनेछ । किनभने भारतसँग नेपालको तीनतिर सीमा छ र सबैतिर कुनै न कुनै रूपमा तनाव छ ।

इतिहास साक्षी छ की, कालापानी नेपालको हो । तर, कालापानीमा भारतीय सेना तैनाथ छ । तै पनि नेपाल चुप छ । लिपुलेक नेपालको हो । तर, त्यहाँ पनि भारतीय प्रभुत्व कायम छ । र, नेपाल चुप छ । सप्तरीको तिलाठीमा गतवर्ष भएको तनाव ताजै छ । कन्चनपुरमा अस्ती भर्खरै एक होनाहार युवाले सीमा तनावकै कारण भारतीय सैनिकको गोली खाएर शाहदत प्राप्त गरेको रगत आलै छ ।

एकातिर नेपाल आपैmँ भारतीय सीमा अतिक्रमणबाट निरन्तर आक्रान्त छ । अर्कोतिर ऊ छिमेकीको समस्यामा पनि बोल्दैन भने नेपाल सरकार भारतीय मतियार बनेको सन्देश जान्छ । तर, यथार्थ त्यस्तो होइन नै । नेपाल खासमै भारत विरोधी जनमनहरूको, स्वाभिमानी भारत विरोधी जनहरूको पवित्र सार्वभौम देश हो ।

जनताको पुरै हिस्सा भारत विरोधी छ, केही नेता र दलका भारतमुखी तप्ककाका अलावा । त्यसैले नेपाल सरकारले भारतीय हैकमविरुद्ध बोल्नुपर्छ दोक्लम प्रकरणमा । किनभने छिमेकको निदहराम गर्ने भारतले नेपालको पनि निदहराम गरिरहेकै छ । सर्प, सर्प नै हो, उसको विषले भुटान चीनलाई मात्रै होइन नेपाललाई पनि सताएको तथ्य नेपाल सरकारले बिर्सन हुँदैन । तर, खोई किन चुप छन् प्रधानमन्त्री देउवा र विदेशमन्त्री महरा ?

तपाइको प्रतिक्रिया