चीन–भारत तनाव र हिरोसिमा आक्रमणको ७२ वर्ष

मा प्रकाशित

Rudra prasad pathak विश्वका सबैभन्दा धेरै जनसंख्या भएको र महाशक्ति उन्मुख मुलुक चीन र भारत यतिबेला युद्धको तयारीमा छन् । सन् १९६२ मै आपसमा युद्ध लडेर चेतिसकेका यी दुई मुलुक फेरि युद्धमा गए तेस्रो विश्वयुद्ध निम्तिन सक्ने आँकलन गरिएको छ । तर, यी दुवै मुलुकले युद्धमा जाने निर्णय गर्नु अघि हिरोसिमा र नागासाकीको स्मरण गर्नैपर्ने हुन्छ । दुई वटा गोमन सर्पबीच जतिसुकै झगडा भए पनि एक अर्कालाई डस्दैनन् । एक अर्कालाई डस्नु भनेको दुबै सिद्धिनु हो भन्ने उनीहरूले बुझेका हुन्छन् । तर, दुईवटा भेडाहरू जुधे भने नमरेसम्म उनीहरूको लडाइँ जारी रहन्छ । चीन र भारत दुबै गोमन हुन्, भेडा होइनन् । गोमनको दाँतमा विष हुन्छ, भेडाको सिङमा विष हुँदैन ।

जापानको हिरोसिमा सहरमा ६ अगस्तका दिन दोस्रो विश्वयुद्धमा बम खसालेको दिनको सम्झनामा विशेष समारोह आयोजना गरी हिरोसिमा आक्रमणको ७२ औं स्मरण गरियो । हिरोसिमा सहरमा जम्मा भएका ८० देशका नागरिकले उक्त आक्रमणको स्मरण गर्दै त्यस आणविक बम आक्रमणबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरे । हिरोसिमा सहरमा बम खसालिएको स्थानमा प्रत्येक वर्ष जम्मा भई शान्तिको कामना गर्दछन् भने संसारमा यस्तो कहिल्यै नहोस् भनेर पनि कामना गर्दछन् । जापानका प्रधानमन्त्री सिन्जो आबेले आणविक हतियाररहित विश्व निर्माणका लागि जापानले गरिरहेको प्रयत्न संसारमा कुनै दिन सार्थक हुने बताएका छन् भने

हिरोसिमा नगरका मेयरले नरसंहार हेरेर पनि संसारले युद्धको पक्षमा कुनै धारणा राख्न नहुने बताए । बमरहित विश्व निर्माणका लागि जापान सरकारले जे गर्न सक्छ त्यो गरोस् भनी आग्रह गरे । यस्तो कार्यक्रमको आयोजनाबाट युद्ध नगर्न र शान्ति स्थापना गर्न प्रेरित गरेको छ भने युद्धले मानवीय सभ्यता एवं संवेदनशीलताको सधैँ खिल्ली उडाउँछ भन्ने सन्देश दिएको छ । दोस्रो विश्वयुद्धका बेला अमेरिकी सेनाले सन् १९४५ को अगस्त ६ मा जापानको हिरोसिमा सहरमा र अगस्त ९ मा नागासाकी सहरमा लिटिल ब्वाई नामका २ छुट्टाछुट्टै अणु बम खसालेको थियो । यी दुबै स्थानमा दुई लाखभन्दा बढीको ज्यान गएको थियो भने कैयौं शारिरीक एवं मानसिक घाइते भई उनीहरूले निकै पछिसम्म पनि शारिरिक र मानसिक समस्या झेलेर जीवनयापन गरेका थिए । अझै पनि ती सुन्दर सहरहरू युद्धका घाउबाट पूर्ण मुक्त हुन सकेका छैनन् । उक्त बम आक्रमणपछि जापानले अगस्त १५ मा अमेरिकासमक्ष आत्मसर्मपण गरी दोस्रो विश्वयुद्ध पनि समाप्त भएको थियो ।

यसरी दोस्रो विश्वयुद्धको अन्त्य जापानको आत्मसर्मपणसँगै हुनु त्यससँगै प्रत्येक व्यक्तिको मानवअधिकारको संरक्षण गर्न र सबै मुलुकको सार्वभौमिक समानता एवं सहअस्तित्वको अवधारणामा आधारित भएर दोस्रो विश्वयुद्ध समाप्तीलगत्तै २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको गठन भई मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी हुनु तथा प्रत्येक मुलुकको मूल कानुन मानिने संविधान पनि युद्ध समाप्तलगत्तै जापानसँग युद्ध गर्न आएका सेनाका जर्नल मार्थरले आफैँले बनाएर दिनु जस्ता कार्यको वर्तमान विश्व रंगमञ्चमा मानवीय स्वाभिमान अस्मिता, मानवीय सभ्यता, नैतिकता एवं मानवअधिकार संस्कृतिको धरातलमा न्यायिक चिरफार हुनु आवश्यक छ । एक जना अमेरिकी पूर्वप्रधानन्यायाधीशले भनेका थिए, ‘स्वतन्त्रता मानिसको हृदयमा रहन्छ जब त्यो हृदयभित्रै मर्दछ तब त्यसको रक्षा संसारमा विकसित कुनै पनि संयन्त्रले गर्न सक्दैन ।’

अणु बमको विनाश लीलाबाट एक सार्वभौम राष्ट्रलाई आत्मसर्मपण गराएर फेरि उसैलाई एक उही बम हान्ने युद्ध जनरलले संविधान बनाएर दिए पछि त्यो संविधानलाई त्यहाँका जनताले स्वीकार्नु पर्ने भएपछि संयुक्त राष्ट्रसंघले उल्लेख गरेको सहअस्तित्व एवं सार्वभौम समानताको परिभाषा कस्तो हुन्छ होला ? कसैलाई नौतिक बलमा आत्मसर्मपण गराउनु त मानवीय सभ्यताको उत्कृष्ट नमुना बन्न सक्ला, स्वाभिमान र अस्मिताको एक नमुना बन्न सक्छ होला ? तर, बम आक्रमणको विनाश लीलाबाट पाएको संविधानको अपनत्व कसरी जापानी जनताले ग्रहण गर्न सके होलान ? हिरोसिमा र नागासाकीमा बमको विनाशसँगै संसारका सबै द्वन्द्वलाई शान्तिपूर्ण समाधान गराउने सबै राष्ट्रको सार्वभौम समानताको सम्मान गर्ने उद्देश्यले गठन भएको संयुक्त राष्ट्रसंघले विश्वमा सबै द्वन्द्वको शान्तिपूर्ण समाधान गर्न सकेको छ त ? फेरि पनि विश्वमा अन्याय र अस्तित्वका लागि युद्धहरू किन चलिरहेका छन् ?

आणविक होडबाजी किन चलिराखेको छ ? अझ अमेरिकालेनै यस्ता युद्धग्रस्त ठाउँमा सेना किन पठाउँछ ? के युद्धविना न्याय र शान्ति सम्भव नै छैन ? संयुक्त राष्ट्रसंघ जस्तो ठाउँमा किन संसारका शक्तिशाली राष्ट्र भनी संसारका पाँच राष्ट्रले भिटो प्रयोग गर्ने अधिकार पाएका छन् ? के अणुबमको बलमा विश्वयुद्ध जित्ने राष्ट्रहरूलाई शक्तिशाली राष्ट्र भनी संयुक्त राष्ट्रसंघले नै वैधानिता दिएपछि राष्ट्रहरूको सार्वभौमिक समानताको सिद्धान्तको अवस्था कस्तो रहन्छ होला ? यस्ता कार्यबाट यो संसार मानवीय संवेदनशीलता एवं मानवीय सभ्यतामा चलेको हो कि जंगली भन्ने कुरा नै अन्योलग्रस्त अवस्थामा रहेको छ । अहिलेको संसारमा यी र यस्तै विषयको चिरफार भई मानवीय संवेदनशीलता एवं मानवीय सभ्यताकोे बारेमा गहिरो छलफल गर्नु आवश्यक छ । युद्धलाई आदिम हिंसाको विस्फोटको रूपमा चित्रण गरिन्छ । जब राष्ट्रहरू व्यक्तिहरू आफ्ना असहमतिहरू वा मत भिन्नताहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सक्दैनन् वा गर्दैनन् तब हतियारहरू आकस्मिक रूपमा मुखरित गरिन्छ । युद्धको अवश्यंभावी परिणामबाट मानिसहरूलाई असंख्य पीडा र भौतिक वस्तुहरूको कडा क्षति हुन्छ । अझै पनि राज्यहरूले युद्ध गर्न छाडेका छैनन् । र, कतिपय समूहहरूले सरकारबाट न्यायोचित ब्यवहार नपाएपछि निराश भएर हतियार उठाएका छन् । सानो राज्यले आफ्नो स्वतन्त्रतामाथि गरिएको आक्रमणविरुद्ध आफ्नो सुरक्षाका लागि छेडेको युद्ध तथा तानाशाही व्यवस्थारिुद्ध विद्रोह गर्ने जनताद्वारा छेडिएको युद्धको भत्र्सना कसैले गर्न सक्दैन । यसैकारणले हुन सक्दछ अन्तर्राष्ट्रिय कानुनले पनि अन्यायविरुद्ध शक्तिको सहरा लिनेबारे मौन रहेको छ ।

तर, हामी मानव जाति जसले मात्र विवेक पाएका छौं । त्यसैले संसारको विवेकहीन परिणाम स्वरूप असहमतिलाई शान्तिपूर्ण रूपान्तरण गर्न नसकेर जुन युद्धहरू भए सशस्त्र संघर्षहरू भए तीबाट पाठ सिकेर जस्तोसुकै असहमतिलाई शान्तिपूर्ण रूपान्तरण गर्ने, वैचारिक युद्ध भए पनि हतियारको युद्धले कसैको जित हँुदैन । यो सम्पूर्ण मानव सभ्यताकै हार हो भन्ने बोध सबैमा हुनु आवश्यक छ । विवेकको प्रयोग गरांै हतियारको होइन भन्ने सन्देश सबैमा जानु आवश्यक छ । दोस्रो विश्वयुद्धको नायक हिटलरले आखिर मानवीय संवेदनशीलतामा बगेर आफ्नै कञ्चटमा आफँै गोली हानेको दृष्टान्त सबैले बुझ्नु आवश्यक छ । संसारमा कसैले पनि शक्तिको आधारमा उदाएको भनी गर्व गर्नु व्यर्थ छ । बमको निर्माणले वा शक्तिको गठनले दिगो सुरक्षा दिन असमर्थ छ भन्ने सन्देश पनि सबैमा पुग्नु आवश्यक छ ।

तपाइको प्रतिक्रिया