शाही हैसियत त्याग्दै प्रेम विवाह

मा प्रकाशित

biheजापान २१ भदौ । यहाँ सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले शाही परिवार बाहिरका आफ्ना प्रेमीसँग विवाह गर्ने औपचारिक निर्णय गरेकी छन् ।
माकोले आफ्नो ‘इन्गेजमेन्ट’ को घोषणा गरेको जापानी राजपरिवार इम्पेरियल हाउसहोल्डले जनाएको छ । पछिल्लो निर्णयको अर्थ उनले आफ्नो राजपरिवारको सदस्यको हैसियत भने गुमाउनेछिन् ।जापानको एउटा विवादास्पद कानुनअन्तर्गत शाही परिवारका महिला सदस्यहरूले सर्वसाधारणसँग विवाह गरे आफ्नो शाही हैसियत गुमाउनेछन् तर पुरुष सदस्यहरूलाई त्यस्तो विवाह गर्न छुट रहेको छ । एउटा पत्रकार सम्मेलनमा उनले आफूले पहिलोपटक आफ्नो प्रेमी केइ कोमुरोलाई देख्दा उनको मुस्कान सूर्यको जस्तो लागेको बताइन् ।

उनले भनिन्, ‘मलाई सानैदेखि थाहा थियो विवाह गरेपछि मैलै शाही हैसियत गुमाउनेछु, मैले हाम्रा सम्राटलाई सहयोग गर्न र शाही परिवारको सदस्यको रूपमा आफ्नो जिम्मेवारी वहन गर्न सकेसम्म प्रयास गरेको छु तर म मेरो व्यक्तिगत जीवनबाट पनि प्रसन्न छु ।’आइतबार जापानको शाही परिवारले उनीहरू दुवैबीच विवाहको कुरा छिन्ने काम हुन लागेको घोषणा गरेको हो । राजकुमारी माको राजगद्दीको उत्तराधिकारी होइनन् किनभने सन् १९४७ को कानुनले शाही वंशको पुरुष सदस्य मात्रै सम्राट बन्ने व्यवस्था गरेको छ । २५ वर्षका उनका भावी पति केइ कोमुरो एउटा ल फर्ममा काम गर्छन् ।

दुवैबीच एउटै विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा ५ वर्षअघि पहिलोपटक भेट भएको थियो । एउटा टेलिभिजन कार्यक्रममा उनले राजकुमारीलाई आफूले ‘चन्द्रामाले जसरी एक टहकले हेर्ने’ व्यक्तिका रूपमा व्याख्या गरे । २५ वर्षीय राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन् । उनले विद्यावारिधि गरिरहेकी छन् र एउटा संग्र्रहालयमा अनुसन्धानकर्ता रूपमा काम गर्दै आएकी छन् । यो घोषणा जुलाइ महिनामा नै आउने अपेक्षा गरिएको थियो तर पश्चिम जापानमा वर्षाले विपद् निम्त्याएपछि योजना स्थगित गरिएको थियो ।  जापानको सार्वजनिक सञ्चार प्रदायक एनएचकेले उनीहरूको बिहे अर्को वर्ष हुने ठानिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया