संस्कृति : पितृ पक्ष अर्थात् सोह्र श्राद्धको महत्व

२०७४ भदौ २४ गते १०:२६ मा प्रकाशित
नारायणप्रसाद निरौला उपप्राध्यापक नेपाल संस्कृत विश्वविद्यालय

narayan niraula narayan niraula  आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मका दिनहरूलाई पितृपक्ष भनिन्छ । पितृहरूको विशेष पर्व भएकाले पनि यो समयलाई पितृपक्ष भनिएको हो । पितृपक्षलई पितृको विशेष दिनका रूपमा पनि चिनिन्छ । शास्त्रमा पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भागमा बताइएको छ ।

हाम्रो एक महिना बराबर पितृलोकमा एक अहोरात्र(दिनरात) हुन्छ । हाम्रो कृष्ण पक्ष हुदा दिन र शुक्लपक्ष हुदा पितृलोकमा रात पर्ने गर्दछ । यिनै आश्विन कृष्णपक्षका तिथिहरूलाई महालय पनि भनिन्छ । नभस्यापरे पक्षे यत्र कन्यां व्रजेद्रविः । स महालयसंज्ञः स्याद् गजच्छायाह्वयस्तथा ।।(आख्यान चन्द्रिका) अर्थात् आश्विन कृष्णपक्षलाई महालय भनिन्छ । यस अवसरमा महालय श्राद्ध गर्ने वैदिक विधान छ । जसअन्तर्गत आफ्ना पितृहरूको स्मरण स्वरूप श्रद्धाभक्तिपूर्वक सम्पूर्ण पितृलाई तर्पण, श्राद्ध गर्ने वैदिक विधान रहेको छ । पितृ हाम्रा इतिहास हुन् । हाम्रा पूर्वज जसले इहलोकको अथाह ज्ञानराशि हामीलाई अर्पण गरेर गएका छन् । पितृहरूलाई स्मरण गर्ने विश्वमा भिन्नाभिन्नै चलन छन् । ती मध्ये सर्वप्राचीन पद्धति वैदिक विधि हो ।

                                                       kushe-aushe-fathers-day-1200x545_c

एक पक्षमा १५ दिन हुन्छन् । तिनै १५ दिन १६ श्राद्धका हुन् । १६ ओटा तिथिका श्राद्ध गरिने भएकाले पनि यस समयमा गरिने श्राद्धलाई १६ श्राद्ध भनिएको हो । प्रतिपदादेखि औंसीसम्म १५ र पूर्णिमा तिथिको श्राद्ध गरी जम्मा १६ वटा तिथिको श्राद्ध यस समयमा गरिन्छ । यसमा सौरदिनका गतेलाई महत्व दिइँदैन । चान्द्रमासको जुन तिथिमा आफ्नो पितृको स्वर्गारोहण भएको हो त्यही तिथिमा श्राद्ध गर्ने वैदिक विधि रहेको छ । श्राद्ध गर्ने स्थान शुद्ध र पवित्र हुनुपर्ने पनि शास्त्रीय विधान पाइन्छ । यसैगरी देवतालाई स्वाहापूर्वक वस्तु अर्पण गरिन्छ भने पितृलाई स्वधाको वचन प्रयोग गरिन्छ । यसैगरी देवकार्यमा भावको प्रधानता हुन्छ भने पितृकार्यमा वचनको प्रधानता रहने गर्दछ । त्यसैले पितृकार्यका निम्ति वचनमा विशेष ख्याल राख्नुपर्ने शास्त्रीय मान्यता छ ।

अक्ष्ययासनयोः षष्ठी द्वितीयावाहने तथा ।
अन्नदाने चतुर्थी स्यात् शेषा सम्बुद्धयस्मृता ।।

अर्थात् पितृलाई अक्षयोदक र आसन प्रदान गर्दा षष्ठी विभक्तिको प्रयोग गर्नु पर्दछ । यसैगरी पितृलाई आवाहन गर्दा द्वितीया विभक्तिको प्रयोग गर्नु पर्दछ । अन्नदान अर्थात् सिदा दान गर्दा चतुर्थी विभक्तिको प्रयोग गरिन्छ भने अन्य कार्यमा सम्बोधनको पयोग गर्नुपर्ने शास्त्रमा बताइएको छ ।

वैदिक धर्म व्यवस्थामा सौर र चान्द्र दुवै महिनालाई उत्तिकै महत्वका साथ ग्रहण गरिन्छ । सौर र चान्द्रमास दुवै युक्त भएको महिनालाई मात्र शुद्ध महिना मानिन्छ । एक चान्द्रमासमा एउटा पनि संक्रान्ति परेन भने अधिमास हुन्छ र एक सौरमासमा एउटा पनि आंैसी परेन भने उक्त महिनालाई क्षयमास भनिन्छ । यी दुवै अधि र क्षयमास देव र पितृ दुवै कर्मका लागि निषेध गरिएको छ । सौर र चान्द्र दुवै महिना वैदिक कार्यका लागि अनिवार्य र अपरिहार्य मानिन्छन् । यस्तै चान्द्र महिनाका आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मको समयलाई पितृक्ष/महालय अर्थात् १६ श्राद्ध भनिन्छ । महालय श्राद्धका ६ वटा भेद रहेका छन् । तिथि निर्णयअनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म १६ दिन गरिने, आश्विन कृष्ण प्रतिपदादेखि आँैसीसम्म १५ दिन गरिने, पञ्चमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म १० दिन गरिने, अष्टमीदेखि चतुर्दशीलाई छोडेर औँसीसम्म ७ दिन गरिने, दशमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म ५ दिन गरिने, चतुर्दशीलाई छोडेर मृततिथि एक मात्र तिथिका दिन गरिने गरी महालय श्राद्धका ६ भेद बताइएको पाइन्छ ।

ज्योतिष शास्त्रका अनुसार पनि पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भाग हो । विधूध्र्वभागे पितरोवसन्तः स्वाधः सुधादीधितमामनन्ति । पश्यन्ति तेऽर्कं निजमस्तकोध्र्वे दर्शे यतोऽस्माद्द्युदलं तदैषाम् ।।(सिद्धान्तशिरोमणि,२४।१३) अर्थात् चन्द्रमाको माथिल्लो भागमा पितृहरूको निवासस्थान छ । हाम्रो एक चान्द्र महिना बराबर पितृको एक दिन हुन्छ । हाम्रो वर्षदिन बराबर पितृको १२ दिन हुन आउछ । पितृपक्ष कृष्णपक्षमै रहनुको कारण पनि यही नै हो । पृथ्वीवासीलाई कृृष्णपक्ष हु“दा पितृनिवासस्थान (चन्द्रमाको माथिल्लो भाग) मा झलमल्ल दिन हुन्छ । हाम्रो शुुक्लपक्षमा पितृहरूको रात हुन्छ । जब कृष्णपक्ष लाग्छ अनि पितृहरू जागा हुन्छन् र पृथ्वीवासीले अर्पण गरेका तोय पिण्डादि वस्तु प्राप्त गर्दछन् र त्यही भोजन गरी तृप्त हुन्छन् भन्ने वैदिक विधान रहिआएको छ ।

पितृपक्षमा महालय श्राद्ध गरिन्छ । यो श्राद्ध पद्धतिको विशेष विधान हो । यसअन्तर्गत विश्वेदेव ब्राह्मण र पितृब्र्राह्मण छुट्टाछुट्टै स्थापना गरेर पूजा अर्चन गरिन्छ । पिताको तिथिमा महालय श्राद्ध गर्ने विधान छ । यदि पिताको तिथि कारण वश बितिसकेको छ भने पितामह अर्थात हजुरबुबाको तिथिमा र यदि हजुरबुबाको तिथि पनि छुट्यो भने बुढाहजुरबुबाको तिथिमा श्राद्ध गर्नु पर्दछ । यदि यी तिनबटै तिथि छुटे भने एकादशी तिथिमा श्राद्ध गरिन्छ । एकादशी तिथि पनि छुटे औँसी र पितृपक्षको औंसी पनि छुटे वा थुनिए गाइतिहारे आँैसीमा पितृश्राद्ध गर्ने विधान रहेको पाइन्छ । यसैगरी अकालमा दुर्घटनाबाट मृत्यु भएकाको श्राद्ध भने चतुर्दशीमा गरिन्छ ।

पितृकार्यमा विश्वेदेवको महत्वपूर्ण स्थान छ । दक्षकी पुत्री विश्वाका गर्भबाट उत्पन्न १० देवताको एक गण नै विश्वेदेवहरू हुन् । भिन्नभिन्न श्राद्धमा यिनको भिन्नभिन्न नामले पूजा हुन्छ ।

 इष्टिश्राद्धे क्रतूदक्षौ सत्यौ नान्दीमुखे वसू ।
 नैमित्तिके कामकालौ काम्ये च धूरिलोचनौ ।।
पुरुरवाद्र्रवौ चैव पार्वणे समुदाहृतौ । (.निर्णयसिन्धु)
अर्थात् इष्टि श्राद्धमा क्रतु र दक्ष, वृद्धि श्राद्धमा सत्य र वसु, नैमित्तिक श्राद्धमा काम र काल, काम्य श्राद्धमा धूरि र लोचन, पार्वणश्राद्धमा पुरुरव र आद्र्रव नाम गरेका विश्वेदेवको पूजा गरिन्छ । वसु, रुद्र र आदित्य पितृश्राद्धका देवता हुन् (वसुरुद्रादितिसुता पितरः श्राद्धदेवताः) भनी याज्ञवल्क्य स्मृतिमा उल्लेख गरिएको छ । अर्थात् पितृ तह वसुसंज्ञक, पितामह(हजुरबुबा) तह रुद्रसंज्ञक र प्रपितामह तह (बुढा हजुरबुबा/ बुढी हजुरआमा) आदित्यसंज्ञक पितृ हुन्छन् । यसैगरी मावली हजुबुबा÷हजुरआमा वसु, बुढा हजुरबुबा/हजुआमा रुद्र र कुप्रा हजुरबुबा÷हजुरआमा आदित्यसंज्ञक पितृ मानिन्छन् ।
पितृका पनि देवता रहेका छन् । ब्रह्माका पुत्र मध्ये स्वर्गमा रहने सात देवता पितृदेव गण हुन् । यी मध्ये ४ सुकाल, अंगिरस, सुस्वधा र सोमपा मूर्तिमान(मूर्त) पितृदेव हुन् । अमूर्त देवतमा वैराज, अग्निष्वात्त र वर्हिखद पर्दछन् । नाम गोत्रको उच्चारण गर्दै स्वर्गीय पितृहरूको आराधना गरेमा यी पितृहरूले स्वर्गमा गएका आफ्ना बाबुआमा आदिलाई तृप्त गराउँछन् भन्ने कुरा हरिवंश पुराणमा उल्लेख पाइन्छ । पितृका राजा भने यमराज हुन् ।

श्रद्धापूर्वक गरिने कार्य नै श्राद्ध हो । पितृहरूका लागि आफूलाई मीठो लाग्ने र खाइने वस्तु श्रद्धासाथ चडाउँदै गरिने कर्म वा पूजा विशेष नै श्राद्ध हो । प्रेतं पितृंश्च निर्दिश्यभोज्यं यत्क्रिययात्मनः । श्रद्धया दीयते यत्र तछ«ाद्धं परिकीर्तितम् । भनी निर्णय सिन्धुले श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनेको छ । पितृहरूका निम्ति शास्त्रले बताएको समय र स्थानमा पकाएको वा का“चो अन्न तथा सुन आदि द्रव्य विधिपूर्वक चढाउनु वा दान गर्नु नै श्राद्ध हो भनी धर्मसिन्धुले पनि श्राद्धको व्याख्या गरेको छ । देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ।। अर्थात् श्रद्धाले विधिपूर्वक पितृहरूको उद्देश्य राखी विद्वान् ब्रह्मणलाई दान गर्नु पनि श्राद्ध नै हो । श्राद्ध गर्ने चलन सर्वप्रथम ब्रह्माबाट भएको हो । ब्रह्मापश्चात् दत्तात्रेयका छोरा निमिले आफ्नो श्रीमान् नामक छोराको परलोक ह“दा श्राद्ध गरेका थिए । त्यसपछि अन्य जनले श्राद्ध गर्ने चलन चलाएको कुरा महाभारतको आदि पर्व (९१।५–१०)मा उल्लेख पाइन्छ । श्राद्ध थुप्रै प्रकारका छन्ः नित्यश्राद्ध, नैमित्तिक श्राद्ध, काम्य, सपिण्डी, वृद्धि, पार्वण, गोष्ठी, शुद्धि, कर्माङ्ग, तीर्थश्राद्ध आदि ।

पितृदेवो भवः (कठोपनिषद्)अर्थात् पितृ हाम्रा देवता हुन् । पितृको सम्मान गर्न सकियो भने मात्र हाम्रो कल्याण सम्भव छ । आजको सुनौलो वर्तमान दिने र इहलोकमा बा“च्न सिकाउने पितृहरू हाम्रा धरोहर हुन् । इतिहास भूतकालीन भए पनि भविष्यलाई डोहो¥याइरहेको हुन्छ । आजको पितृ सम्मान नै भोलिको सुन्दर भविष्य हो । पुर्खा हाम्रा मार्गदर्शक हुन् । तिनै ऋषिहरूको मार्गदर्शनले आज ज्ञान विज्ञानको विकास भइरहेको छ । अतः मानव कल्याणका निम्ति पनि पितृप्रति श्रद्धा भाव र सम्मान व्यक्त गर्नु आवश्यक छ ।

तपाइको प्रतिक्रिया