क्षितिज

२०७४ भदौ २४ गते १०:४१ मा प्रकाशित
– विष्णु भण्डारी

Bishnu bhandari

म जन्मदा कैयौँ वसन्तहरू मुर्झाइसकेका थिए
पार गरेको थियो समयले
लाखौँ हिउँद
धेरैपटक घुमिसकेको थियो पृथ्वी
र कैयौँ अन्धकार रातहरूमा
जगमगाउने ताराहरू झरिसकेका थिए ।

मैले छोड्दा ब्रह्माण्डमा प्रथम पदचाप
धर्ती स्वयम् पदचाप बनेर हिँड्दै थियो ।

अर्बौं मान्छेहरूझैँ मैले पनि
पछ्याउँदै समयको पदचाप
हिडेथेँ उही बाटो क्षितिज भेट्न ।

क्षितिज लक्ष्य थियो जिन्दगीको ।

भिजेर पसिनाले सारा धर्ती
मुस्कुराएथ्यो सुनाखरी कपेरोमा
आँसुले सिङ्गै भोल्गा बगेथ्यो र सिञ्चन गरेथ्यो
रातो रगतले सारा सृष्टि
तर पनि म हिँडिरहेँ
पछ्याउँदै सुदूर क्षितिज ।

शिराहरूमा धेरै रगत बग्यो
कैयौँ कोषिकाहरूको मृत्यु भयो
तर पनि म जीवित रहेँ
धेरै पल्ट ढलेँ यात्रामा
प्रत्येक पल्ट उठेँ नियात्रामा
कैयौँ पल्ट भोकले घोच्यो छाती
कैयौँ पल्ट प्रेमिल मनसुनको वर्षा भयो
तर पनि रोकिएन
क्षितिज चुम्ने अभिलाषाको अन्तिम चाह ।

संगालेर क्षितिजपारिको सुन्दर संसार भेट्ने दीर्घमोह
सयौँ हारहरूमा पनि भागिन म
संगालेर हृदयमा जिगीषाको निर्मलगंगा
एकलास अरण्यमा हिँडिरहेँ
सयौँ वर्ष बिते
म उभिन आइपुगेको छु उही ठाउँमा
जहाँ छोडेको थिएँ पहिलो आवाज जिन्दगीको
गरेको थिएँ प्रथम स्पर्श मृतिकाको ।

र हेरिरहेको छु
मलाई गिज्याउने उही क्षितिज ।

बल्ल थाहा भयो
क्षितिज त भ्रम रहेछ जीवनजस्तो ।

तपाइको प्रतिक्रिया