पुस्तक चर्चा : प्रवासमा भासिएको नेपाली सपना

२०७४ भदौ २४ गते ११:१७ मा प्रकाशित
सुभद्रा ढकाल

Subhadra

०६ सालमा बाराको कलैयामा जन्मेर अमेरिकालाई कर्मभूमि बनाउँदै युनिभर्सिटी अफ कोलोराडो अफ अमेरिकामा अर्थशास्त्र विषयमा प्राध्यापन गर्दै आएका आख्यानकार विजयराज शर्माले डायस्पोराको भावनालाई समेटेर भास उपन्यास प्रकाशनमा ल्याएका छन् । आप्रवासी नेपालीको पीडामा आधारित आख्यान अमेरिका, हेटौँडा र काठमाडौंको परिवेशमा आधारित छ । आमा, माटो र देश जीवनका आधारशीला हुन् । यी तीनैविना जगत अधुरो छ, अपुरो छ । यिनै विषयवस्तुलाई सरल, स्वभाविक, मिठास र शिल्पगत विशेषताले सिँगारेका छन् भास उपन्यासमा ।

अमेरिका एउटा भव्य, व्यस्त र रंगीन सहर । जहाँ आमनेपालीको सपनाको फूल फूल्छन् । हो, त्यही सहरमा बसेर युवा वयका २६ वसन्त पार गरेका विजयराजको जीवनमा कहिल्यै फुलेनन् सयपत्री, आँगनीको डिलमा फक्रेन मखमली र टाँस्न पाएनन् आफ्नो निधारमा विजयको रातो अक्षता । प्रवासमा रहँदा पनि उनको मनमा भने हरबखत फूलीरहे रातो लालिगुराँस पलपल सम्झी रहे त्रिशूलीको कञ्चन जल ।

सरललाई पात्र बनाएर लेखिएको भास उपन्यासमा प्रवासी नेपालीको वाध्यता, भव्यताबीचको साघुँरो पन, अर्मूत सपना, धरती र स्वर्गको दलदल, टाढाबाट हेर्दा अमेरिका स्वर्ग नै पो हो कि लाग्छ तर नजिक पुगेपछि यथार्थबाट नियाल्दा आपसमा विरोधाभास लाग्नु स्वभाविकै हो । अमेरिका सहरलाई लेखकले नजिकैबाट नियालेका छन् । भौतिक सुखसयलका पछाडि दौडँदै जाँदा बिरानो माटो, पराई संस्कृतिको चेतनाको दलदलमा भासिँदै गएको चेतनाले उनलाई बारम्बार चिमोटिरहन्छ । सरलले चाँडै नेपाल फर्कने मीठो सपना देख्छन, तर फर्कन सकेनन् । बाध्य भएर पुनः अमेरिकामै बगाए पसिना । सरलको मात्र नभएर पढाइ र कामको सिलसिलामा विदेशमा लामो समय बिताएर मनभरी नेपाल बोकेका आप्रवासी नेपालीको पीडालाई आख्यानकारले नजिकबाट नियालेका छन् । उपन्यास पढ्दा लाग्छ – विश्वको जुनसुकै कुनामा बसेको नेपाली भए पनि उसको मन हरपल दौडिएर नेपाली भूगोलमा आइपुग्छ ।

                                                                    Bhass copy

सन १९९४ मा खानी विभागमा काम गरिरहेका सरललाई अचानक अमेरिकाको भिसा लाग्छ । उनको सपना पूरा हुँदा मनमा उल्लासका धरहरा उचालिन्छ । अमेरिकामा उच्च शिक्षा हाँसिल गरी उनी नेपाल आमा र आफ्नी आमालाई सन् २००१ मा नेपाल फर्कने वाचासहित अमेरिका उड्छन् । जति समय बित्दै जान्छ उत्ति नेपाल फर्कने उनको चहाना तीव्र हुन्छ । उनको सपना विपना नै नेपालमय बनेको छ । तर, उनका साथी र आफ्नो परिवारले उनलाई नेपाल नर्फकन र अमेरिकाको भव्यतामै रमाउन सल्लाह दिन्छन् । तर, उनी आफ्नो माटोमै रमाउन चाहान्छन् । सरलको दुई मनबीचको द्वन्द्व उपन्यासकाले कलात्मक किसिमले देखाउन खोजेका छन् । एकातिर देशको माया, वाचा, अर्कोतिर अमेरिकामै रहनुपर्ने पारिवारिक वाध्यता ।

उनी आफ्नी आमासँग नेपाल फर्कने कुरा गर्दा गर्दै आमा बिरामी पर्छिन् । आमाको उपचारको लागि पत्नीको आग्रहमा नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिकताधारी बन्छन्, यो रहस्यको उद्घाटन भएपछि आमाको अमेरिकामै मृत्यु हुन्छ ।
सन् २००१ को पर्दा खुल्छ तर नेपाल फर्कन सक्दैनन् देशको बिग्रँदो परिस्थिति नेपालमा दिनप्रतिदिन बढ्दै गएको बेरोजगारी समस्या, संक्रमणकाल, आगोको फिलिंगोभैmँ बढ्दै गएको माओवादी सशस्त्र द्वन्द्व, हत्या, हिंसा, आतंक, नेपाली मन जातजातिमा विभाजन हुँदै गएको पछिल्लो चरणको अवस्था, देशको सशक्त क्रान्तिले तत्कालीन समयमा पारेको असरजस्ता विविध समस्याले उनी नेपाल फर्कन सक्दैनन् । यिनै कुराले नचाहँदानचाहँदै पनि सरल अमेरिकाको दबदबे हिलोमा भासिन पुगेका हुन् । आफन्तको कल्याणको चाहना मानवीय स्वभाव हो ।

तर, यही चाहानामा तगारो लागेपछि को मानिस राज्यप्रति विद्रोही हँुदैन ? जब राज्यले जनताको उपेक्षा गर्दछ, हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारदेखि १ हजार ५ सयको हाराहारीमा नेपाली बाहिरिन्छन् । हो यही भेटिन्छ नेपालीको आँखामा झल्किएको विद्रोह भन्ने आख्यानकारको ठम्माइ छ ।

आख्यानको प्रमुख पात्र सरल र उसको साथी रोचकबीच नेपालको बारेमा गफगाफ चल्छ । ‘आप्रवासी जीवन अचम्मको हुन्छ । नेपालमा कुनै पनि प्रकोप वा हिंसा हुँदा अशान्तिको घटना घट्यो भने यहाँ अमेरिकामा हाम्रो मुटु दुख्छ । दिनभरी विपनामा अमेरिकामा हुन्छाँै र रात परेपछि चाहिँ हाम्रो मन’ ………सरल भक्कान्छिन् । तिहारको रंगीन साँझमा मन अँध्यारो बनाएर जीवन बिताउनुपर्ने सबै प्रवासीको बाध्यता हो । नेपाली मन, पराइ संस्कार, संस्कृति र देशप्रेम छल्किएको छ उक्त आख्यानमा । यस अवस्थामा जो कोहीलाई पनि खुसीको सास फेर्न गाह्रो हुन्छ । भनिन्छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ अर्थात जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्रिय हुन्छ । अमेरिका त धर्तीको एक अनुपम उपहार न हो । नेपाली जहाँ रहे पनि कतै न कतैबाट ऊसँग साइनो जोडिएकै हुन्छ । नेपाली हावापानी, रीतिरिवाज, संस्कृति, हो यिनै वाक्यले बताएको छ, कसरी बित्छन प्रवासी जीवन ? अमेरिका मात्र नभएर विश्वको जुनकुनै मुलुकमा भासिएका आप्रवासीहरूको यथार्थ कथा हो ‘भास’ उपन्यास ।

अन्तरमनको द्वन्द्वबीच पनि एक दिन सरल आफ्नो जीवनसाथीसँग नेपाल फर्किन्छन् । जन्मभूमिमा पाइला टेक्दा ओठमा खुसीका रेखाहरू दौडिए पनि अमेरिकन नागरिकताधारी भएर पर्यटकको रूपमा जन्मभूमिमा उभिनु परेकोमा मुटुमा कताकता चस्स घोचेको आभास हुन्छ सरललाई । मुटुको एउटा पत्र च्याते झैँ देशको नागरिकता त्याग्नु चानचुने कुरा थिएन । तर, वाध्यताको पहाडअगाडि उनी निरीह भएर उभिएका थिए । विदेशी नागरिकले तपाईं नेपाली हो भनेर सोध्दा उनको मुटुमा कताकता चसस्क देश दुखेर उनलाई हिनताबोधको पहाडले थिचेको छ ।

केही समय उनी नेपालमै आफ्नै जीवनसँग रमाए । पुराना साथीहरूसँग यहाँको वातावरण, पारिवारिक समस्यामा जस्ता विभिन्न कारणले गर्दा उनी नेपालमा बसिरहन सक्ने अवस्था नरहेपछि वाध्यतावस फेरी अमेरिका फर्किएर उही पुरानो जीवनशैलीमै भासिन पुगेका छन् ।

उपन्यासमा अमेरिकाका आप्रवासीले नेपालीले भोगेको सकस, नेपालको राजनीतिक घटनाक्रम, जनआन्दोलनले जनतामा पारेको असर सरकारले युवा पुस्ताप्रति देखाएको बेवास्तापनलाई उनले कलात्मक किसिमले उठाएका छन् । आख्यान पढिसकेपछि अमेरिकाप्रति मोह जागेका नेपालीलाई गतिलो पाठ सिकाउँछ । आख्यानकार शर्मा आख्यानमा समस्या देखाउन पनि माहिर रहेका छन् । नेपालमै बसेर समस्याको हल गर्दै अगाडि बढ्नुको सट्टा पुनः सरल अमेरिकातिर नै हानिएका छन् । यसबाट सबल र सम्पन्न भएर पनि डायस्पोरियनहरूको नेपाली मोह कतै खोक्रो शान मात्र हो कि भन्ने आभास हुन्छ ।

राजनीतिक र प्रेमपरक विषयवस्तु पढेर हैरान भएका नेपाली पाठकलाई उनको उपन्यास भासले केही हदसम्म भए पनि नयाँपनको महसुस गराउँछ । उनको कथा सलल बगेको छ, जो आपैmँमा पूर्ण कथाहरू छन् । आख्यान पढ्दा पाठकलाई आफ्नै कथा पो हो कि ? भैmँ आभास दिलाउन सक्नु शर्माको विशेष खुबी हो । सरल भाषाशैलीमा रचित उपन्यासमा उनको मौलिकशैली छ । परिवेश घटना र फरक वातावरणले उपन्यासलाई झन कलात्मक बनाउन सफल भएको देखिन्छ ।

अमेरिकामै प्राध्यापन पेसामा व्यस्त रहेका उपन्यासकार शर्माद्वारा लिखित भास उपन्यास पहिलो उपन्यास हो । उपन्यासबाहेक उनको फुटकर कविता, कथा, प्रकाशित रहेका छन् ।

तपाइको प्रतिक्रिया