उमेरले रोकेन बिन्दुको पढ्ने चाहना

२०७४ भदौ २६ गते ९:०४ मा प्रकाशित
सुभानु आचार्य

Exif_JPEG_420

ललितपुर । अग्रजहरूले भन्ने गरेका छन्, सिक्ने इच्छा छ भने उमेरले छेक्दैन । राणाशासन कालदेखि नै हाम्रो समाजमा चेलीबेटीले पढ्न हुँदैन भन्ने रुढीवादी विचारले गर्दा महिलाहरू शिक्षादीक्षामा पछि परेका हुन् । छोरीबेटीले पढेलेखे भने प्रेमपत्र लेख्छन् भन्ने नकारात्मक सोच बढी भएको कारण उमेरमा पढ्न नपाउनु महिला वर्गको पीडा हो । यस्तै पीडाबोधबाट मुक्त हुने प्रयासमा छिन् ६१ वर्षीया बिन्दु तिवारी । उनी शिक्षा अनुरागी बनेर ललितपुरको सातदोबाटोस्थित प्रेरणा महिला माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् ।

तिवारी बर्दिया गुलेरियाकी स्थायी बासिन्दा हुन् । उनी हाल ललितपुरको कुसुन्ती क्षेत्रमा नातिनातिनीको हेरचार गरी बस्दै आएकी छन् । पतिको देहवसानले बिन्दुलाई ठूलो चोट प¥यो । पतिको वियोगको पीडामा जीवन बिताइरहेकी बिन्दुलाई देखेर उनलाई एक सहृदयी महिलाले प्रेरणा महिला माध्यमिक विद्यालयको बारेमा बताएको उनी बताउँछिन् । विभिन्न उमेर समूहका महिलाहरूले त्यस विद्यालयमा शिक्षा ग्रहण गर्न सक्ने सूचनाको आधारमा एक दिन उनी पनि विद्यालयका बारेमा बुझ्न गइन् । तर, पहिलो दिन बिन्दु पढाइका बारेमा विद्यालयमा बुझ्न जाँदा लाज लागेर फर्केको बताउँछिन् ।

बिन्दुले भनिन्, ‘विद्यालयमा भर्ना हुन त गएँ तर, त्यहाँ अध्ययनरत महिला मभन्दा कनिष्ठ उमेरको देखेर फर्कने सोच बनाइरहेको अवस्थामा प्रेरणाकी एक शिक्षिका बसन्तीसँग भेट भएको र उनीसँगको कुराकानीपश्चात् लाज कसरी पचाउने भन्नेतर्फ मेरो सोचाइ विकास हुँदै गयो ।’ शिक्षिका बसन्तीसँग भएको कुराकानीको प्रसंग कोट्याउँदै बिन्दुले थपिन्, ‘आमा लाज मान्नु पर्दैन । हजूरजस्ता यहाँ कति महिलाहरू छन् । हाम्रा सबै कक्षा डुल्नुहोस् भनी डुलाएकाले त्यहाँको अवस्था ठीक रहेछ भन्ने सोचका साथ म पनि विद्यालयमा भर्ना भएँ ।’

कक्षामा भर्ना भइसकेपछिको आफ्नो अनुभव सुनाउँदै बिन्दु भन्छिन्, ‘लाज मानीमानी एक दिन मैले मेरा छोराबुहारीलाई भनेँ मैले पनि पढ्ने निधो गरेँ । अब म दैनिक विद्यालय जान्छु ।’

बिन्दुलाई आफ्ना छोराबुहारीले पनि समर्थन गर्दै ‘हुन्छ’ भन्ने संकेत मिलेपछि पढ्न हौसला बढेको उनले बताइन् । उनले विद्यालयमा सुरुआतका दिन ठूलो झोलामा किताब बोकेर पढ्न जाँदा अलि असजिलो लागे पनि विद्यालय आउने बानी पर्दै जाने क्रममा हाल म सानका साथ पढ्न जाने गरेको बताइन् । अचेल बिन्दु विद्यालय पोसाकमा पढाइलेखाइ गर्छिन् । विद्यालय गइसकेपछिको आफ्नो दिनचर्याका बारेमा बताउँदै बिन्दु भन्छिन्, ‘घरमा बस्दा त्यसै सुतेर समय खेर जान्थ्यो तर, विद्यालय आउने जाने क्रममा रातमा आरामले निदाउन सकेकी छुँ ।’ बिन्दुले आफ्नो सिकाइको स्तर बढेको बताउँदै भनिन्, ‘अंग्रेजी अलि आउँदैन तर, अंकगणित र नेपालीमा २÷४ अक्षर जान्ने मौका पाएँ त्यसैमा मलाई गौरव लाग्छ ।’ विद्यालयमा शिक्षक तथा शिक्षिका उमेरमा उनीभन्दा साना भए पनि नजानेको कुरा सबै सोध्ने उनको बानी छ । उनको गुनासो छ, सानो उमेरमा पढ्न पाएको भए कति ज्ञान लिन पाइन्थ्यो होला ।

पहिले ‘क’ अक्षरसम्म लेख्न नजान्ने बिन्दु अहिले ‘ह्वाट इज योर नेम’ भनेर अंग्रेजीमा बोल्न थालेकी छिन् । बिन्दुले एक कहावत सम्झिँदै भनिन्, ‘मानिसले मर्ने बेलामा हरियो काँक्रो भने पनि स्वास्थ्यले साथ दिएसम्म पढिरहने इच्छा छ ।’ तीर्थव्रत गर्र्छु भनी मन्दिर धाउनुभन्दा विद्यालय आई ज्ञान बटुल्न उनलाई उचित लागेको छ । शिक्षा हासिल गरेको केही समयपछि घरमा उपलब्ध धार्मिक ग्रन्थहरू रामायण, भागवत् गीतालगायत अन्य पुस्तक सहजसँग वाचन गर्न सफल भएको आफ्नो अनुभव उनले सुनाइन् ।

बिन्दु अचेल विद्यालयको समय र घरमा एउटा अभिभावकले गर्नुपर्ने उत्तरदायित्व दुवै राम्रोसँग तालमेल मिलाउँछिन् । यसैक्रममा बिन्दुले अंग्रेजीमा भनिन्, ‘दिस इज राइट टाइम म्यानेज ।’

प्रेरणा महिला माध्यमिक विद्यालय महिला सशक्तीकरणको आवाज उठाउने नेपालको एक पुरानो महिला विद्यालय हो । यस विद्यालयमा अत्यन्तै न्यून शुल्कमा अध्ययन गर्न पाउँछन् । विद्यालयकी संस्थापक प्राचार्य प्रभा चालिसेले बिन्दुमा सिक्ने जाँगर रहेकाले यनले एक दिन उन्नति गर्ने विश्वास व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया