मण्डललाई कारबाही गर्न एमाले रौतहटको माग

२०७४ भदौ २६ गते ९:२६ मा प्रकाशित
सौर्य समाचार

satya-narayan-mandalरौतहट । २ नं प्रदेश एमाले संगठन कमिटीका संयोजक सत्यनारायण मण्डललाई एमाले जिल्ला कमिटी रौतहटले कारबाही गर्न केन्द्रीय कमिटीसमक्ष माग गरेको छ ।  एमाले रौतहट जिल्ला सचिवालयको २३ भदौमा बसेको बैठकले संयोजक मण्डलले रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरको टिकट दिँदा पार्टी निर्णयविपरीत हस्ताक्षरको दुरुपयोग गरी निर्णय नै नभएको व्यक्तिलाई टिकट दिएको आरोप लगाएको छ ।

पार्टीका महासचिवको उपस्थितिमा केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले २० भदौमा पत्रकार सम्मेलन गरी चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाललाई आधिकारिक उम्मेदवार बनाएको पत्रसहितको इमेल जिल्ला कमिटीमा प्राप्त भएकोमा संयोजक मण्डलले पार्टीको कुनै पनि आधिकारिक निकायबाट निर्णय नभएका उद्धव रेग्मीलाई टिकट दिई पार्टी पद्धति र अनुशासनको उल्लंघन गरेको जिल्ला कमिटीको बैठकले ठहर गरेको छ ।

पार्टीको आधिकारिक उम्मेदवार बाबुराम दाहाललाई संयोजक मण्डलले नै हस्ताक्षर गरेर पार्टीको टिकट दिइएको भए पनि पुनः मण्डलले हस्ताक्षर गरी उद्धव रेग्मीलाई अर्को टिकट दिएका थिए । एमालेको आधिकारिक वेबसाइटमा अहिले पनि चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहालको नाम उल्लेख भएको र पार्टीको कुनै पनि माथिल्लो निकाय र कमिटीले दाहाललाई उम्मेदवार नबनाउन निर्देशन नदिएको जिल्ला प्रचार विभाग प्रमुख बिपिन गौतमले बताए ।

प्रचार विभाग प्रमुख गौतमले आइतबार सचिवालयको निर्णय सार्वजनिक गर्दै प्रदेश कमिटीका संयोजक मण्डललाई कारबाहीको माग गरेका हुन् । पार्टीका आधिकारिक उम्मेदवार दाहालसहितको टोली निर्वाचन अधिकृतको कार्यालयले दिएको समय दिनको ४ बजे मनोनयनपत्र दर्ता गराउन जाँदा अर्कै उम्मेदवार उद्धव रेग्मीले मण्डलको हस्ताक्षर सहितको पत्र दाखिला गरी १२ बजेनै उम्मेदवारी दर्ता गराएकाले कानुनी अड्चनका कारण पार्टीका आधिकारिक उम्मेदवारको मनोनयन दर्ता हुन नसकेको जिल्ला प्रचार समितिको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनाइएका बाबुराम दाहालले आइतबार पत्रकार सम्मेलन गर्दै संयोजक मण्डललाई पार्टीले कारबाही नगरेसम्म आफूलाई चुनाव प्रचारमा जान कठिनाइ भएको बताएका छन् । ‘पार्टी निर्णयविपरीत टिकट वितरण गर्ने मण्डललाई पहिला कारबाही हुनुप¥यो अनि मात्र निर्वाचनमा जान सकिन्छ’, दाहालले भने ।

तपाइको प्रतिक्रिया