प्रचण्डको मधेस मिसन

मा प्रकाशित

surya khadka प्रदेश २ को स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेसीदलबाट निकै धेरै नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याएका छन् ।  एमालेबाट एमाओवादी हुँदै जनशक्ति पार्टीमा लागेका रामचन्द्र झालाई पुनः माओवादी केन्द्रमा फिर्ता गर्दै सुरु भएको प्रचण्डको यो अभियान कति सार्थक होला ? त्यसको उत्तर मत गणनापछि मात्र आउने हो ।

पूर्वसभासद एवं राजपाका केन्द्रीय सदस्य शिवपुजन यादवको नेतृत्वमा केन्द्रीय सदस्यहरू रामबाबु दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्रप्रसाद यादव, क्षेत्रीय सभापतिहरू अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका २ दर्जन नेताहरू माओवादी केन्द्रमा प्रवेश  गरेका छन् । सिमरामा राजपाका केन्द्रीय सदस्य चेतनारायण महतो, राजकुमार साह र सिताराम महतोको नेतृत्वमा ५ हजार र पर्साको वीरगञ्जमा  विभिन्न पार्टीका ३ सय  स्थानीय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी ३ हजार ६ सय  राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाल लगायतका नेताहरूको नेतृत्वमा १ हजार २ सय कार्यकर्ता  आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।  विगत २० दिनको आँकडा हेर्ने हो भने अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्ने नेता, कार्यकर्ता तथा सर्वसाधरणको संख्या १ लाख नाघेको देखिन्छ । यदि यो आँकडा सही हो भने प्रदेश २ मा माओवादीको हैसियत धेरैै माथि पुग्ने देखिन्छ ।

संसद्मा तेस्रो दल भएर पनि सत्ता राजनीतिमा निर्णायक हैसियतमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २ असोजमा सम्पन्न हुन गइरहेको तेस्रो चरणको अन्तीम चुनावी समरलाई आफ्नो पक्षमा पार्न सम्पूर्ण तागत लगाइरहेका छन् भन्ने कुरा अन्य पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियानले पुष्टि गर्छ ।  माओवादी केन्द्रमा प्रवेश गर्ने मध्ये एक दुई सय जना नेताहरू राष्ट्रिय राजनीतिमा नाम चलेकै व्यक्तित्व हुन् ।  आफ्नो मधेस मिसन अन्तर्गत उनले पछिल्ला दिनमा आफ्नो बसाई नै मधेसमा सारे । पार्टीको सचिवालय वैठक वीरगञ्जमा गरे । उनकै शब्दमा प्रायः सबै जसो जिल्लाबाट हजारौँ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादीलाई व्यालेटको लडाँई हार्ने छुट छैन भन्दै ९ भदौमा सुर्खेतबाट पार्टीका चुनाव केन्द्रीत कामलाई नेतृत्व दिँदै मधेस हिँडेका प्रचण्डले २ नम्बर प्रदेशका प्रायः ८ वटै जिल्लामा आफैँ पुगेर प्रचार गर्ने कामको नेतृत्व गरे । प्रत्यक्ष जननिर्वाचित कार्यकारी शासकीय स्वरूपको पार्टी अडानको रटान पनि उनले यसै मेलोमा दोहो¥याए । माओवादीलाई मधेस मसिहा बनाउने प्रचण्ड प्रयासले बाढी र डुबानबाट धनजनको अपुरणीय क्षतिसहित दुःखै दुःखमा लतपतिएको तराई मधेसलाई कति तरंगीत गर्न सक्यो वा सकेन भन्ने त २ असोजको मतदानपछि स्पष्ट हुनेछ । तर, सिराहाबाट निर्वाचित सांसद् तथा माओवादी केन्द्रका सुप्रिम प्रचण्डले आफ्नो मधेस मोहको राजनीतिलाई २ असोजको चुनावी दौडाहाकै अभियान एकपटक मुखरित गरेका छन् ।

जनयुद्धको पृष्ठभूमिबाट आएको माओवादीका लागि तराई मधेस साइनो युद्धकालबाटै कस्सिएको भए पनि दोस्रो संविधानसभा चुनावसम्म आइपुग्दा उसको मधेस प्रभाव ओरालो यात्रामा देखियो । जतिबेला संविधान जारी गर्न तराई मधेस आनाकानी गर्दै थियो, त्यसबेला प्रचण्डले आफ्नो कित्ता परिवर्तन गर्दै मधेसी दलसँगको विपक्षी मोर्चा त्यागेर आपूm काँग्रेस, एमालेको कित्तामा पुगे । दोस्रो संविधान सभा चुनावपछि काँग्रेस, एमालेको सत्ताकालमा मधेसी मोर्चाको विपक्षी कित्ताका भर लाग्दा नेता प्रचण्डले  संविधान जारी गर्न मधेसीलाई एक हदसम्मको धोका दिएर मधेसी दललाई सडकमा छोडेका थिए ।

संविधान जारी भए पछिको मधेस आक्रोशका बेला एमाले अध्यक्ष केपी ओलीलाई काँधमा बोकेर प्रधानमन्त्री बनाउँदै सत्तारुढ दलका नेताको हैसियतमा प्रचण्ड नै मधेसभन्दा परै थिए । मधेस आन्दोलन र नाकाबन्दीका बेला प्रचण्ड मधेसको साथ त के छेऊ किनारामा पनि परेनन् । तर, जब आफँैले रचना गरेको ओली सत्ता ढालेर काँग्रेस समर्थनमा आफँै सरकारमा जाने निष्कर्षमा प्रचण्ड पुगेथे, तब उनले खुल्लामञ्चमा अनसन बसेका मधेसी दलहरूका नेता भेट्दै आफ्नो मधेससँग लभ परेको दाबी गरेका थिए ।

त्यस यता आपूmलाई मधेसमैत्री व्यवहार र शैलीमा ढाल्न कोशिस गर्दै आएका प्रचण्डले मधेसी दलहरूको मागअनुसार ढिलै भए पनि संविधान संशोधनको मागलाई ५ भदौमा संसद्बाट विफल पारिदिए । उनको मधेसप्रेम २ असोजको चुनावको मुखमा भने निकै चमकपूर्ण देखियो ।

पार्टीले शून्य संगठन, पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा पाएको सामान्य जित आदिका कारण २ नम्बर प्रदेशबाट अपेक्षित जित हाँसिल गर्न मुस्किल हुने अड्कलबाजीहरू भइरहँदा प्रचण्डले साता बढी मधेसमा बिताएका छन् ।
प्रचण्डका लागि मधेस झर्न आन्दोलनका विपक्षमा उभिएको आरोप थिएन, तर पहाडमा जस्तो उनको दलका पक्षमा जनमत पनि थिएन । आन्दोलनको राप, एकताको शक्ति र संविधान संशोधन विफलताको तातोका कारण मधेसी दलहरू सामु माओवादीको २ असोजको चुनाव कठिन जनपरीक्षण हो । तर, त्यस्तै प्रतिकुलताहरूका बीच पार्टीको पक्षमा जनमत बटुल्न गरिएका प्रचण्ड कदमले निकै तरंग ल्याएको छ । उनले मधेसी दलका धेरै नेता कार्यकर्ता आफ्नो दलमा भित्र्याएका छन् । आफ्नो पार्टी नै असली मधेस मसिहा भएको दाबी दोहो¥याएका छन् । मधेस मसिहा बन्न प्रचण्डले गरेका राजनीतिक रस्साकस्सी पनि निकै रोचक छन् ।

मधेसलाई नै मुकाम बनाएर ३ साता लामो अभियान छेडेका प्रचण्डले  मधेसका ८ वटै जिल्लामा पुगेर  एमाले र मधेसी दलविरुद्ध निकै पेचिला अभिव्यक्ति दिएका छन् । तर, यी अभिव्यक्ति  बुझ्ने क्षमता  सर्वसाधारण मधेसी जनताले राख्लान् त भन्ने   प्रश्न पनि निकै पेचिलो छ । प्रचण्डको भनाई छ – ‘अहिले देशमा दुई खाले अतिवादीहरू छन् । एउटा अतिवादले पहाडलाई मात्र देख्छ, अर्काे अतिवादले मधेसलाई मात्र देख्छ । हामी यी दुवै अतिवादको विपक्षमा छौँ, राष्ट्रिय एकताको पक्षमा छौँ ।’ आपूm प्रधानमन्त्री हुँदा मधेसका लागि थुप्रै काम गरेको दाबी उनको छ ।

उनको अर्को भनाई छ – ‘म प्रधानमन्त्री बन्ने बेला देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता जोखिममा थियो । मधेस र पहाड एक आपसमा भिडेर देश नै भीडन्तमा जाने त होइन ? भन्ने परिस्थिति थियो । तर, मैले १० महिनामा जुन काम गरेँ, त्यसबाट एमालेका साथीहरू पनि मलाई प्रधानमन्त्री नछोड भन्ने ठाउँमा आई पुग्नुभयो । मलाई लम्पसारवादी भन्ने साथीहरू नै ठूलठूला षड्यन्त्र चिरेर स्थानीय तह र स्थानीय चुनाव गरेपछि राजनेता तपाईं नै हो भन्न थाल्नुभयो । यो सामान्य मेहेनतले भएको होइन ।’

तपाइको प्रतिक्रिया