‘अभिलेख विश्वविद्यालय’ मा ११औँँ शताब्दीका ग्रन्थ

मा प्रकाशित

_94809954_mulukiainaकाठमाडौं । राजा गीर्वाणयुद्धविक्रम शाहको शासनकालमा प्रारम्भ भएको हस्तलिखित ग्रन्थ तथा दस्तावेजको संकलनको विकसित रूप पुरातत्व विभागअन्तर्गतको अभिलेख संग्रहले विश्वविद्यालयको रूप धारण गरेको छ । त्यस्ता अभिलेख, ग्रन्थ, ताडपत्र तथा भोजपत्रको अध्ययन गर्न नेपालसहित भारत, जापान, जर्मनी आदि मुलुकका अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, प्राध्यापक तथा इतिहासमा चाख राख्नेहरु अभिलेख शाखामा आउने गरेका छन् । जापानी तथा जर्मनेली बुद्धधर्मसम्बन्धी अध्ययन, ग्रन्थको अनुसन्धान र नेपालको तन्त्र विद्याको अध्ययनका लागि आउने गरेको अभिलेख शाखाका वरिष्ठ अनुसन्धान अधिकारी शिवराम सापकोटाले जानकारी दिए । त्यसबेला संकलन गरी संरक्षण गरिएका प्राचीन ग्रन्थ तथा धर्मग्रन्थ, भाषा, लिपिहरू वीर पुस्तकालयको स्थापनापछि संरक्षणको कार्यभार सो पुस्तकालयको काँधमा आएको थियो । पछि राजा महेन्द्रको पहलमा ०२४ असोज १७ मा विभाग स्थापनापछि अभिलेख र हस्तलिखित शाखामा ती महत्वपूर्ण दस्तावेज संरक्षण हुँदै आएको छ ।

अभिलेख शाखामा संस्कृत, नेपाल र मैथिली भाषा तथा देवनागरी लिपिमा लिपिबद्ध प्राचीन कागजपत्र संरक्षित अवस्थामा छन् । वीर पुस्तकालयको जिम्मामा रहेका सम्पूर्ण दस्तावेज, लालमोहर तथा धार्मिक ग्रन्थ तथा तन्त्रविद्याको लिखत विभागको अभिलेख शाखाको अधीनमा रहेको छ । सो शाखामा विशेषगरी राजाका सनद, सवाल, लालमोहर तथा नयाँ संविधानको एक प्रति पनि सुरक्षित छ । अभिलेख शाखाका वरिष्ठ अनुसन्धान अधिकारी शिवराम सापकोटाले यस्ता महत्वपूर्ण अभिलेख, हस्तलिखित, ताडपत्र, भोजपत्र आदि दस्तावेजलाई तापक्रम र आद्र्रता मिलाई संरक्षण गरिएको बताए ।  हस्तलिखित शाखामा बौद्ध तथा हिन्दू धर्मका धार्मिक ग्रन्थ तथा तन्त्र विद्यासम्बन्धी ताडपत्र तथा भोजपत्र छन् । अभिलेख शाखामा रहेका महत्वपूर्ण दस्तावेज तथा ग्रन्थमा नेपाल भाषाको रञ्जना लिपिमा लेखिएको ‘शिवधर्म पुराण’ विशिष्ट नमुना हो । नीलपत्रमा लेखिएको सो पुराण सुनको अक्षरमा लेखिएको उनल जानकारीे गराए ।

त्यस्तै सुष्माक्षरमा लेखिएको ‘महाभारत’, ‘स्वस्थानी व्रतकथा’, ‘स्वयम्भू पुराण’ सहित देशभरिबाट संकलित १ लाख ८१ हजारभन्दा बढी ग्रन्थ तथा ताडपत्र र भोजपत्र छन् । १९८१ पछिका कुमारी चोकजस्ता महत्वपूर्ण कार्यालयको कागजपत्र पनि छन् ।  त्यहाँ सुरक्षित अवस्थामा राखिएका प्राचीन कागजपत्र तथा दस्तावेज सयौँ वर्ष पुराना भएकाले बिग्रने वा नष्ट हुने अवस्थामा पुगेको छ कि भनी राखेको जिज्ञासामा उनले भने, ‘कीराले नखाने औषधि, तापक्रम तथा आद्रता मिलाई वातानुकूलित वातावारणमा राखिएकोले हालसम्म त्यस्तो दस्तावेज क्षति भएको उदाहरण मसँग छैन ।’ विशेषगरी काठको पातलो पत्रमा लेखिएका ताडपत्र तथा भोजपत्रलाई अर्काइभ बक्समा राखी विभागले सुरक्षित राखेको छ । त्यसका लागि अत्याधुनिक औषधि, वातानुकूलित यन्त्र, रसायन, तापक्रम तथा आद्र्रता मिलाई परम्परागत विधि (भोजपत्रलाई रातो कपडाले बेरेर राखिने) मा राखिन्छ । हस्तलिखित शाखामा ११औँदेखि १९औँ शताब्दीका ३० हजार हस्तलिखित ग्रन्थ छन् ।

त्यस्तै निजामती कर्मचारीका १९०९ देखि ०७२ सालसम्मको सिट रोल तथा झन्डै सय वर्षअघिका पुराना पत्र पनि त्यहाँ छन् । त्यस्तै तिब्बती शाखामा तिब्बती भाषाका ८ हजारभन्दा बढी ग्रन्थ रहेका छन् । अभिलेख संरक्षण ऐन, २०४६ मा २ हजार ५ सय वर्ष पुरानो राष्ट्रिय महत्वका अभिलेख विभागमा संरक्षणका लागि राख्नुपर्ने व्यवस्था गरिएको सापकोटाको भनाइ छ । ती अभिलेखलाई माइक्रोफिल्ममा सुरक्षित गरिएको छ, विभागमा अध्ययन तथा अनुसन्धानका लागि आउने व्यक्तिलाई सोझै मूल दस्तावेज हेर्न वा पढ्न अनुमति दिइएको छैन । अभिलेख शाखामा ‘गोरखापत्र’ र ‘द राइजिङ नेपाल’को सुरुदेखिकै अंक संरक्षण गरी राखिएको छ । १९६० सालअघिको पात्रो पनि संरक्षित अवस्थामा राखिएको शाखाले जनाएको छ । गौतमबुद्ध वज्राचार्य÷रासस

तपाइको प्रतिक्रिया