नेपाली पौभाकलामा ‘ब्रेकथ्रु’

मा प्रकाशित

ritesh-shahi-1सुन्दरतामा जीवनको गहिराई कुद्ने रङशिल्पीले रङसँग बयेली खेल्दै उनेका मालाले मानव मनमा तरङ्ग पैदा सिर्जना गर्ने रहेछ । रङले भावनालाई उद्देलित बनाउँदै जीवनको सीमानाको साम्राज्यलाई फराकिलो बनाउँदै लग्ने रहेछ । समाज, संस्कृति, परिवेश, वातावरण, उन्नति प्रगति, हाँसो, रोदन आदिका पहेँलीलाई एकीकृत बनाउँदै जीवनको गहिराईमा पु¥याउने चीज कला रहेछ । कलामा मानिसको आत्मा बाँच्ने रहेछ । यही कलाको उन्नतशिल फाँटमा उर्जाशिल रुपमा देखा परेका कलाकार समुन्द्रमान सिंह श्रेष्ठले नेपाली कलामा नयाँ चिन्तन अगाडि सारेका छन् ।

नेपाली कलामा परिवर्तनका विभिन्न कालखण्ड देखापरेका छन् । पछिल्लो समय परम्परागत पौभा कलामा नयाँ धार लिएर देखापर्ने पात्रका रुपमा श्रेष्ठ, ३९ चिनिन्छन् । काठमाडौंको रक्तकालीमा जन्मिएर जीवनलाई कलाको महासागरमा गहिराईमा डुबाउँदै साढे २ दशकभन्दा लामो समय कलामा बिताएका श्रेष्ठले पौभा कलामा नयाँ बहसलाई आमन्त्रण गरेका छन् ।

पौभाका सैद्धान्तिक मान्यतालाई उनले सामयिकी सन्दर्भसँग जोडेर बहस छेडेका छन् । उनका कलामा भेटिने सामयिकी चिन्तन र प्रस्तुति निकै मनन् योग्य रहेको देखिन्छ । नेपाली परम्परागत कलाका चिन्तन र मान्यतामा आयामिक पक्षलाई ध्यान दिँदै नयाँ रुपमा आफुलाई प्रस्तुत गर्ने दिशामा श्रेष्ठ लम्किरहेका छन् । श्रेष्ठका गत वर्ष नेपाल आर्ट काउन्सिलमा भएको एकल कला प्रदर्शनीमा राखिएका कलाले पौभा कलामा नयाँ बहसको आमन्त्रण गरेको हो । सो प्रदर्शनी नेपाली परम्परागत कलाकै क्षेत्रमा नितान्त प्रभावकारी र सर्वथा नयाँ ढङ्गबाट देखापरेको थियो । यो प्रदर्शनीले नेपाली परम्परागत कला क्षेत्रमा केही नयाँ विषयलाई बहसका रुपमा स्वागत गरेको छ भने यसका सैद्धान्तिक मान्यतामा भने ‘ब्रेकथ्रुकै’ नै भएको मान्न सकिन्छ ।

पौभालाई परम्परागत चश्माबाट हेरिरहेको सन्दर्भमा श्रेष्ठले आयामिक प्रभावमा पौभालाई चित्रण गरेका छन् । अझ उनका कलालाई परम्परागत भकारीबाट झिकेर समसामयिक भकारीमा राख्नुपर्ने बहसहरु पनि उठेका छन् । उनले परम्परागत विधाका विषयलाई प्रकाश र छाँयाका माध्यमबाट आयामिक परिवेशमा ढालेका छन् । उनको अर्को महत्वपूर्ण विशेषता भनेको विषय संरचनामा मौलिकतालाई ध्यान दिनु हो ।

बोधीसत्व ग्यालरीको आयोजनामा भएको उनको सो एकल प्रदर्शनीको शीर्षक ‘इम्बोडिड इन्लाइटमेन्ट’ राखिएको थियो । हिन्दु देवदेवीलाई साक्षात् रुपमा देखाएर उनले पूर्वीय मान्यताका आध्यात्मिक विषयलाई कलात्मक बान्कीमा उनेका  छन् । उनले चित्रका पृष्ठभूमिमा बनाउने जीर्ण भित्ता र ती भित्तामा अझ जीर्ण बन्दै गइरहेका देवतालाई साक्षात् रुपमा प्रकट गराएर समुन्द्रले त्यसमा जीवन्त भ्रम दिन सकेका छन् ।

साढे २ दशकदेखिको निरन्तरको कला साधना र परिश्रमपछि समुन्द्रका कलाको ‘रेस्ट्रोपेक्टिभ’ प्रदर्शनी गरिएको थियो । जीवनको छोटो कालखण्डमै उनले हासिल गरेको विशिष्टतालाई प्रदर्शनीमा प्रस्तुत गरिएको थियो । हुनत कला यात्राका विभिन्न उकाली ओरालीमा उनले छिचोलेको जंघार निकै रोचक र पे्ररणादायी रहेको छ ।

एनले सिर्जना आर्ट ग्यालरीबाट कलाको प्रारम्भिक यात्रा सुरु गरेका हुन् । ललितकला क्याम्पसमा आधुनिक कलाको सैद्धान्तिक अध्ययन पश्चात् उनले यसका आधारभूत विषयलाई नजिकबाट बुझ्न पाए । आधुनिक कलाको चिन्तन र त्यसका यथार्थ पक्षलाई उनले पौभामा प्रयोग गरे । जसका कारण उनका कलामा फरकपन देखा पर्न सकेको हो । अध्ययनकालमा उनले विश्वकलाका विविध माध्यम, विधि, चिन्तन र परिवेश बुझ्ने अवसर पाए । यसैबीच उनले स्थापित पौभा कलाकारसँग यसका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिके ।

परम्परागत मान्यता बोकेका दुई आयामिक कला, दुई आयामिकबाट त्रिआयामिक कला, नयाँ माध्यमको प्रयोग, वस्तुलाई विशेष प्रधानता दिएर बनाइएका चित्रका साथै समसामयिक सन्दर्भ जोडेर तयार पारिएका कला प्रदर्शनीमा राखिएको थियो । पौभा कला क्षेत्रका लागि यी कलाले नयाँ गतिशिलता ल्याउने स्पष्ट आधार निर्माण गर्न सकेको देखिन्छ । उनले विषयको विविधिकरणमा जोड दिएका छन् । प्रस्तुतिमा उनले फरकपन देखाएका छन् । उनले सो प्रदर्शनीमा अहिलेसम्मकै सानो पौभा राखेका थिए । उनका कलामा रङको सुललित प्रयोग, विषय छनौट र प्रस्तुतिमा भिन्न तर मूल मर्मलाई आत्मसातीकरण गरिएको पाइन्छ । उनका चित्रमा अलङ्करणको प्रस्तुति अत्यन्तै सुक्ष्म तरिकाले गरेको देखिन्छ ।

उनका कलामा देखिने प्रमुख विशेषता भनेकै प्राचीनकालीन गरगहनालाई नयाँ, त्रिआयामिक रुपमा देखाउनु हो । ती गरगहनामा देखिने त्रिआयामिकता र त्यसको बाह्य सौन्दर्यको आकर्षणता निकै सुन्दर लाग्छ । । श्रेष्ठले विषयलाई सरल रुपमा देखाउने प्रयत्न गरिरहेको अनुभूत हुन्छ । रङ र विषयको क्लिष्टता पटक्कै अनुभूत गर्न सकिदैंन । यो नै कलाकारको सबैभन्दा सबल पक्ष रहेको छ । विषय, रङ र भावाव्यक्तिको सुरलहरमा तुलिकालाई घनघस्येको ठाडो र भिरालो पिंधबाट बाहिर निकाल्न कलाकारले निकै मिहिनेत गरेको पाइन्छ । दर्शकको आत्मानुभूतिमा सहजै अन्तरघुलित हुँदै श्रेष्ठले रङ यात्राको तुलिकामा आफुलाई जीवन्त रुपमा प्रस्तुत गर्न सकेका छन् ।

समुन्द्रले २ दशक अघिदेखि बनाएका ७१ कलाकृति सो प्रदर्शनीमा राखेका थिए । त्यसमा कलाकारका सुरुवाती चरणका कला, परिमार्जित हुँदै अगाडि बढ्ने चरणका कला, त्रिआयामिक कला र समसामयिक विषयलाई धारणामूलक रुपमा चित्रण गरिएका विभिन्न समय र कालखण्डमा बनाएका कला राखिएको थियो । प्रदर्शनीमा कलाकारको कलायात्राको लामो कालखण्डलाई एकैपटकमा हेर्न पाउनु निकै दुलर्भ कुरा हो । अझ परम्परागत पौभा कलाको एकल कला प्रदर्शनी नेपालमा विरलै भएको पाइन्छ । एउटै चित्र बनाउन बर्षौ लाग्ने र धेरै चित्र बनाई एकल प्रदर्शनी गर्नु निकै कठिन काम हो । चित्र बनाउन बसेदेखि नै कला संकलक या खरीदकर्ताले अग्रीम बुकिङ गर्ने भएकाले परम्परागत कलाको एकल प्रदर्शनी हुनु दुलर्भ पक्ष हो । यस्तो परिवेशमा कलाकार श्रेष्ठका छ दर्जनजति कलाको एकैचोटि प्रदर्शनी गर्नु पनि निकै कठिन कार्य हो ।

जुन कार्य बोधीसत्व ग्यालरीले सम्भव तुल्याएको थियो । ग्यालरी सञ्चालक पूर्णमान शाक्य र अञ्जना शाक्यको संकलनमा रहेका समुन्द्रका ४४ वटा चित्र र बाँकी चित्र अन्य सातजना कला संकलकबाट कलाकृति ल्याई प्रदर्शनीमा राखिएको थियो ।
प्छिल्लो समय बजारमा हट्केक कलाकारको रुपमा परिचित कलाकार श्रेष्ठको सो प्रदर्शनीका लागि बेलायत, जर्मनी, अमेरिकाका कला संकलकसँग रहेका ९ वटा चित्र विभिन्न देशबाट ग्यालरी सञ्चालकले खरीद गरी नेपाल ल्याइएका थिए । त्यस प्रदर्शनीको क्यूरेटरको रुपमा डा. डीना बाङ्देल रहेकी थिइन् । अन्तर्राष्ट्रिय रुपमा परिचित बाङ्देलको केही महिना अघि अमेरिका निधन भएको छ ।

‘मैले विगत ३० वर्षदेखि नेवार कलालाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर उत्कृष्ट कला रचना गर्ने कलाकारलाई प्रोत्साहन दिनका लागि कला संकलन गर्दै आएको छु । २०७२ सालमा गएको भूकम्पले नेपाली कला र सम्पदाका क्षेत्रमा निकै क्षति पु¥यायो । त्यस्तै कति कलाकृति चोरिएर गए । यस्तो अवस्थामा हामीले नेपाली मौलिक सम्पदा बचाउनका लागि कलाकारलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्दछ भन्ने मान्यता राखेर कलाकार समुन्द्रमान सिंह श्रेष्ठको प्रदर्शनीको आयोजना गरिएको थियो,’ ग्यालरी सञ्चालक तथा कला संकलक पूर्णमान शाक्यले बताए ।

‘यो प्रदर्शनीमा मेरा विगत दुईदशक अघिदेखिका कलाकृति राखिएको छ । परम्परागत क्षेत्रका कलाकारलाई सुरुदेखिका कलाकृति संकलन गरेर प्रदर्शनी गर्नु गाह्रो विषय हो । किनभने धेरैजसो चित्र बिक्री हुने कारणले यसरी एकचोटि संकलन गरी प्रदर्शन गर्नु कठिन काम हो । तर बोधिसत्व ग्यालरीले सम्भव भएजति कलाकृति विभिन्न देशबाट संकलन गरेर यो प्रदर्शनी सम्भव तुल्याएको छ । प्रदर्शनीमा राखिएका मेरा कलाकृतिमा परम्परागत चिन्तन र शैलीलाई पृथक ढंगबाट पस्कने कोसिस गरेको छुु । परम्परागत चिन्तनलाई आधार बनाएर मैले ‘कन्सेप्च्यूअल’ पेन्टिङ बनाएको छु, जसमा चोरिएका, हराएका तथा प्राकृतिक विपद्बाट नाश भएका हाम्रा पुरातात्विक सम्पदालाई साङ्केतिक रुपमै भएपनि समेट्ने कोसिस गरेको छु’ कलाकार समुन्द्रमान सिंह श्रेष्ठले बताए ।

धर्म तथा संस्कृतिका विषयलाई निकै कलात्मक र आकर्षक रुपमा प्रस्तुत गर्दै श्रेष्ठले बनाएका चित्रले नेपाली कलाको एउटा ऐतिहासिक कलाखण्डलाई जर्वजस्त ढंगले उठान गर्न सकेको छ । यस्ता किसिमका कला प्रदर्शनीले नयाँ पिंढीका प्रतिभावान् कलाकारलाई अगाडि बढाउन प्रोत्साहन तथा मार्गनिर्देशन गर्ने विश्वास लिन सकिन्छ । यो प्रदर्शनीको सन्दर्भ पारेर डा. बाङ्देलको सम्पादनमा कलाकार श्रेष्ठका बारेमा ‘इम्बोडिड इन्लाइटमेन्ट कन्टेम्पोरेरी नेवार पौभा पेन्टिङ’ नाम पुस्तक प्रकाशन गरिएको छ । सो पुस्तकको प्रकाशन बोधीसत्व ग्यालरीले गरेको हो ।

परम्परागत पौभा कलाका सैद्धान्तिक नियममा रहेर पनि नयाँपन दिन सक्ने कलाले नेपाली कलामा एउटा नयाँ बहसलाई आमन्त्रण त गरेकै छ । तर यस क्षेत्रमा काम गर्ने कलाकारले नेपाली मौलिकतालाई अझ जनसामान्यका दिनदैनिकीका विषयलाई जोड्दै चित्र बनाउने हो भने त्यो विश्व कला जगतका लागि नै नयाँ र नितान्त मौलिक शैलीको जन्म हुन्छ । जस्तो भैरवले भाँदगाउँले टोपी लगाएको या हाकु पटासी या दौरा सुरुवाल आदि आदि । त्यस्तै देवीहरुले भारतीय मान्यताका कपडाभन्दा आफ्नै संस्कृति र मौलिकता बोकेका लुगा लगाइदिन सके त्यसले जनसामान्यका लागि मात्र नभई सारा संसारका लागि नयाँ स्वादको हुन जान्छ । यो क्षमता कलाकार समुन्द्रमा रहेको छ र भोलिका दिनमा उनीबाट कलाले क्षेत्र यही अपेक्षा पनि राख्दछ ।

प्रदर्शनीमा ‘बज्रपाणी भैरव’, ‘नृत्य मुद्राको शिवशक्ति’, ‘निराकार’, ‘महाँकाल भैरव’, ‘नृत्यमुद्राको गणेश’ लगायतका ७१ थान चित्र प्रदर्शनीमा राखिएको थियो ।

तपाइको प्रतिक्रिया