अँधेरीे रातको एउटा कथा

२०७४ असोज १४ गते १०:४३ मा प्रकाशित
मातृका पोखरेल

दसैमा काठमाडौंबाट बाहिरिनेहरूको ताँती सँगसँगै म पनि कटारी पुगेको थिएँ त्यसबेला । कटारीसम्म बस पुगेको पनि त्यसै वर्षदेखि हो । त्यो भन्दा पहिले पूर्व पश्चिम राजमार्गको मिर्चैयामा ओर्लेर हामी हिँडेर कटारी पुग्थ्यौँ । कटारीबाट हिडेर मेरो गाउँसम्म पुग्न भारी नबोक्नेहरूका लागि पनि करिब डेढ दिन लाग्थ्यो । मिर्चैया कटारीको मोटर बाटो सञ्चालन हुनु भन्दा केही पहिलेदेखि नै सिराहाको बन्दीपुरबाट चिसापानीको बाटो कमला नदी हुदै दुधौली निस्केर कटारीसम्म सामान ओसार्ने केही ट्रकहरू पनि चल्थे । हिड्न अल्छी गर्ने वा धेरै सामान भएका मानिसहरू तिनै ट्रकमा चढेर कटारी जान्थे । त्यही बाटोमा पहिलेपहिले उँटमा सामान बोकाएर कटारी ल्याउने गरेको कुरा अहिले पनि पुराना र बुढापाका मानिसहरूले गरिरहेकै छन् । तर मैले थाहा पाउदाँ त्यति पहिलेको ढुवानीको प्रसिद्ध साधन उँट यस ठाउँबाट विस्थापित भइसकेको थियो । उँट भन्ने जनावर देख्ने सौभाग्य मलाई अहिलेसम्म प्राप्त भएको छैन ।

रात्री बसबाट कटारीमा ओर्लने बित्तिकै गाउँतिर जाने साथीहरूको खोजी गर्दै थिएँ म । त्यसबेलाको कटारी उदयपुरको पहाडी इलाका खोटाङ्ग, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको प्रमुख व्यापारिक नाका थियो । पहाडी गाउँतिर फर्कने मानिसहरूले गर्दा कटारी बजार बिहानैको समय पनि हाट लागे जस्तै हुन्थ्यो ।

मैले केही पर कान्छी बजार चोकमा मुस्ताफ मियाको पसल बाहिर टुक्रुक्क भुइँमा बसिरहेको डल्ले कान्छालाई देखे । ऊ बाबुसँग पछि लागेर कटारी भारी खेप्न आउन थालेको पनि तिन चार बर्षै भइसकेको थियो । उसलाई देख्ने बित्तिकै मैले अनुमान गरेँ –उसको बाबु फट्याङ्ग्रे राउत पनि भारी खेप्न आएका हुन सक्छन् । फट्याङ्ग्रे राउतको गाउँ र मेरो गाउँ नजिकैका छिमेकी गाउँहरू हुन् । उनको गाउँ आदमारा भन्दा मेरो गाउँ थामखर्क केही माथि थियो । उनको गाउँको बाटो हँुदै मैले जानुपथ्र्यो । डल्लेलाई देख्ने बित्तिकै घर जाने साथी पाइयो भन्ने कुरामा म ढुक्क भएँ ।

हुन त शुक्रबारको दिन परेको भए आफ्नो गाउँ जाने मान्छेहरूको खाँचो पर्ने थिएन । कटारीमा लाग्ने शुक्रबारे हाटमा गाउँबाट कोही न कोही मानिसहरू नुन तेल लत्ताकपडा लिन आउँथे । तर त्यस दिन सोमबार परेको थियो । त्यसकारण आक्कल झुक्कल मात्र मान्छेहरू आएका भेटिन्थे आफ्नो गाउँबाट ।

मलाई देख्ने बित्तिकै डल्ले कान्छो मुखको छाला तन्काउदै खुसीले हाँस्यो । गाउँमा हुँदा पनि मसँग खेल्न र जिस्कन खुबै मन पराउथ्यो ऊ । ऊ हास्दा उसका गालामा हरिया (निला?) नसाहरू परैबाट प्रस्टसँग देखिन्थे ।

पसलभित्र फट्याङग्रे काका भारी मिलाउँदै थिए । उनले पनि मलाई देख्ने बित्तिकै हाँसेर स्वागत गरे । उनीसँग कटारीबाट मरुवा खोला हुदै आहाले, वरपानी, राउतखर्क लिम्पाटार हँुदै चौबिस जङ्घार सोरुङखोला तरेर धेरै पटक गाउँ पुगेको छु । किन हो किन मसँग हिँड्न फट्याङ्ग्रे काका रमाइलै मान्थे । मलाई भेट्ने बित्तिकै उनी खुसी देखिए ।

फट्याङ्ग्रे काकाको वास्तविक नाम अर्कै रहेछ बखत बहादुर राउत । मैले पनि धेरै पछि मात्र उनको वास्तविक नाम थाहा पाएँ । यो नामबाट उनलाई गाउँमा कसैले चिन्दैनन् । यतिमात्र होइन उनको अर्को नाम छ भन्ने कुरा पनि कसैलाई थाहा थिएन ।
अलिक पल्लो पसलमा बैदार कटुवाल पनि केही किनमेल गर्दै रहेछन् । बैदार कटुवालले आफ्नो भारी बोक्न लिएर आएका रहेछन् फट्याङग्रे काका र डल्ले कान्छालाई । कटुवाल हाम्रो गाउँ ठाउँका आर्थिक अवस्थाले सम्पन्न मान्छे थिए ।

काठमाडौमा बसेर लामो समय बैदार जागिर खाएका कारण उनको परिचित नाम नै बैदार कटुवाल रहन पुग्यो । मैले कतैकतै सुनेको थिएँ उनको वास्तविक नाम अर्कै रहेछ प्रेम बहादुर कटुवाल ।

०००
हामी कटारीबाट बाटो लाग्दा दिउँसोको बाह्र बजिसकेको थियो । असोजको महिना भित्री मधेशमा गर्मीको रूप अझै चर्कै थियो । बाटो सम्झँदै दिक्क लाग्थ्यो । एक घण्टा चर्को घाममा हिँडेपछि बल्ल आउँथ्यो मरुवाको सिमलको रुख । शीतलमा बस्नका लागि बाटो हिड्ने सबै बटुवाहरू त्यही रुखलाई लक्ष्यमा राखेर हिँड्ने गर्थे । त्यसपछि नौ–दस जङ्घार मरुवा खोला हिँडेपछि बल्ल आउथ्यो आहालेको उकालो । फट्याङग्रे काका र डल्ले कान्छाको ढाकरबाट पाइलै पिच्छे चुइँचुई आवाज आइरहन्थ्यो । ढाकरै फुट्ला झैँ गरी सामान कोचिएको थियो । शास्त्रीय सङ्गीतको जस्तो निरन्तर आइरहेकोे आवाज सुन्दै हामी हिँडिरहेका थियौँ । बुढ्यौलीले कपाल पूरै फुलिसकेका फट्याङ्ग्रे काकाको टाउकोमा नाम्लोको डोबले खेतमा आली लगाएझैँ गरी देखिने एउटा चित्र कोरिएको थियो । बाहिरबाट हामीले हेर्दा पायरिया लागेका दाँतहरू दुई तिन वटा मात्र देखिन्थे ।

लु छिटो छिटो हिड् ! बास बस्न बरपानी पुग्नुपर्छ । बैदार कटुवालले आफुले बोकेको छाता उघार्दै भने ।
यस्तो अटेसमटेस भारी छ । बरपानी पुग्न त गाह्रै होला । यति भन्दै फट्याङग्रे काकाले ढाकरमा टेकुवा लगाउदै उत्तरतिरको महाभारत डाँडातिर आँखा फाले ।

राति भए पनि घर पुग्नुपर्छ । नत्र भोलि बेलुका घर पुग्न सकिँदैन । बैदार कटुवाल केही कडा स्वरमा बोले । भोलि बेलुका नपुगेर के भयो पर्सि बिहान त पुगिएला नि ! डल्ले कान्छाले पनि हिड्नु पर्ने उकालोतिर  हेरेर भन्यो । सधैँ मिठो भात खाने दाउ गर्छस् गधा ! रिसको झोकामा भरखरै खोलेको छाता पनि बन्द गरे बैदार कटुवालले ।

के मिठो भात खान दिनु भएको छ र ! बाटामा एक छाक पनि चामलको भात खान पाएको छैन क्यारे । ढाकरबाट निस्किरहेको सङ्गीतात्मक आवाज सँगसँगै डल्ले कान्छाले कडा प्रतिक्रिया जनायो । चामलको भात खान त भाग्य लिएर जन्मिनु पर्छ । तँलाई यही पनि बढ्ता भा’को छ बुझिस् । अरू बेलामा पनि रगत चुहिएला जस्तो उनको रातो अनुहार यतिबेला झन् गाढा देखियो ।

हामी चारैजना मरुवा खोलानेरको खेतको डिलमा हिँडिरहेका थियौँ । फट्याङ्ग्रे काका हामी भन्दा केही अघि थिए तर दुई जनाको सम्वादलाई उनी सुनिरहेका थिए । सकुञ्जेल सम्म त हिँडिन्छ । नसकेपछि कस्को पो के लाग्छ । शान्त स्वभावको डल्ले कान्छाले आज राम्रैसँग सवालजवाफ ग¥यो ।

हुन त डल्ले कान्छालाई मैले नभेटेको पनि एक वर्षभन्दा बढी भइसकेको थियो । पोहोरको दसैँपछि म पहिलो पटक गाउँ जाँदै थिएँ । डल्ले कान्छाकै घरको आँगनबाट हाम्रो हिड्ने बाटो थियो । सायद उमेर भन्दा होचो देखिएर उसलाई डल्ले भनेर सम्बोधन गरिएको होला । म भन्दा चार–पाँच बर्षमात्र कान्छो थियो होला उसको उमेर । उसको ठ्याक्कै जन्मदिन फ्टयाङग्रे काकालाई पनि थाहा छैन । डल्ले सानै छदाँ हामी समकालीनहरूको बीचमा ऊ ख्यालठट्टाको विषय हुन्थ्यो । बुढा मानिसहरूले लँगौटी लगाएको त हामीले धेरै देखेका थियौँ तर बच्चाहरू र हाम्रा उमेरका किशोरहरूले लगाएको देखिँदैनथ्यो ।

कोशी पारिबाट कटारी ढाकर खेप्नेहरूले भने के बुढा के तन्नेरी के किशोर सबै जसोले लँगौटी धारण गर्दथे । तर हाम्रो समाजमा यो चलन क्रमशः हट्दै थियो । हाम्रा समवयका सबैजसोले कट्टु नै लगाउँथे । हामीले थाहा पाउँदा पछिसम्म पनि डल्ले कान्छाको शरीरमा लँगौटी बाहेकको अर्को कुनै कपडा हुदैनथ्यो । ठुलठुला चाडवाडहरू पनि ऊ नाङ्गै बसेर काट्थ्यो । लँगौटी लगाएकोमा हामी उसलाई जिस्कयाउथ्यौँ तर ऊ हाँसेर टारिदिन्थ्यो । हामी त्यसबेला उसको गरिबीको मर्म बुझ्दैनथ्यौं ।
एक बर्षपछि म फेरि दसैं बिदाको मौका छोपेर गाउँ आएको थिएँ । तर आज मैले डल्ले कान्छालाई केही परिपक्व र केही फरक पाएको थिएँ ।

०००
मरुवा फेदी पुग्दा घाम पूरै डुबिसकेको थियो । अरू बटुवा र ढाक्रेहरू बास बस्ने चाँजोपाँजो मिलाउँदै थिए । कोहीकोही भने दाउरा खोज्न जङ्गलतिर लाग्दै गरेका देखिन्थे । फ्टयाङ्ग्रे काकाले मरुवा खोलाको अन्तिम जङ्घार तरेर ढुङ्गामा आफ्नो भारीलाई अडेस लगाए । म र डल्ले कान्छो सँगैसँगै थियौ खोलावारि । कान्छाले खोलावारिकै ढुङ्गामा भारी बिसायो र आफू ढुङ्गामाथि आएर टुसुक्क बस्यो । मैले पनि ऊ सँगै छेउको ढुङ्गामा आश्रय लिएँ । बैदार कटुवाल अझ माथि थिए । उनी पसलको बाहिर खटियामा बसेर हामीतिर नियालिरहेका थिए । फ्टयाङग्रे काका भारी बोकेर उकालो लागे । पसलघर सम्म पुग्दा कान्छाले एकटकले आफ्नो बाबुलाई हेरिरह्यो । फ्टयाङग्रे काकालाई अघि कटुवालले आदेश दिइरहेको उसको हाउभाउले बुझिन्थ्यो । काका जङ्गलको बाटो उकालो लागे ।

साँझ परिसक्यो । यो बस्ने बेलामा तपाईँ किन उकाली लाग्नुभएको ? कान्छाले ठूलो स्वरमा करायो । छोराले बोलाएको त फ्टयाङग्रे काकाले सुने तर नसुनेझैंँ गरी अगाडि बढे ।

यति गहुङ्गो भारी बोकेर म मरेपनि उकालो जान्न । यति भनेर कान्छाले मरुवा खोलाको पानीमा दुई थोपा आँसु खसायो ।
दिउँसै देखि बैदार कटुवालको डल्ले कान्छासँग बढेको रिस अलिकति पनि तल झरेको थिएन । बाटाभरि उनले डल्ले कान्छालाई अपमानपूर्ण आँखाले हेरिरहेका थिए । सायद म नभएको भए बैदारले कान्छालाई शारीरिक आक्रमण गर्न सक्थे ।
हेर्दाहेदै फ्टयाङग्रे काका आहाले उकालोको जङ्गल पसे । उकालोको फेदीमै उभिएर बैदार कटुवालले फेरि एकपटक डल्लेलाई हेरे र विस्तारै उकालो लागे ।

के गर्ने अब हिड्नै प¥यो नि । मैले डल्ले कान्छासँग बाध्यता देखाएँ । यो अपराधीले हामीलाई साह्रै दुःख दिन्छ । मलाई ज्वरो पनि आइरहेको छ । म बिरामी छु भन्ने कुरा त्यसलाई राम्रोसँग थाहा छ । रातको समयमा जङ्गलको बाटो अब कसरी पुग्ने ? कुपोषणले ग्रस्त उसको अनुहारमा फेरि पीडाका धर्साहरू देखिए ।

साझँ पर्नै लागेको थियो । जङ्गलको बाटोमा एकैछिनपछि अँधेरीरात पोखिदै थियो । आकाशमा काला बादलका थेग्लाहरू उडिरहेका थिए । आहालेको उकालो रातको समयमा पानी प¥यो भने त्यसबाट हुने कष्ट म अनुमान गरिरहेको थिएँ । त्यही कारण पनि म कान्छालाई त्यहाँबाट हतार गरेर हिड्न चाहन्थे ।

साँझ परिसकेको छ । तिमीलाई जस्तै मलाई पनि यहीँ बास बस्न मन थियो । तर के गर्ने ? बैदार काकाले मानेनन् । अब हिड्नु सिवाय हामीसँग अर्को उपाय पनि त छैन । मैले डल्ले कान्छालाई सम्झाउदै भने । तपाईँ जादै गर्नुस् । म आउदै गर्छु । उसले उकालोतिर हेर्दै भन्यो ।

गह्रुङ्गो भारी रातको बाटो, फेरि बिरामी मान्छेलाई छाडेर हिड्न मलाई पटक्कै मन थिएन । उसले अघि जान मलाई अत्यन्त कर गर्न थाल्यो । एकछिन् त म अघि नजान अड्डी कसँे । तर ऊ मानेन । म पनि उसलाई त्यहीँ छाडेर अघि बढेँ ।
आहाले नपुग्दै तल गैह्रामा झमक्कैै रात प¥यो । आकाशमा जुनको नामोनिसान थिएन ।

अँध्यारोमा छामछाम छुमछुम गर्दै हामी तिन जना उकालो हिडिरहेका थियौँ । डल्ले कान्छाको बारेमा हामी सबै जना चुपचाप थियौँ । म भित्र नजानिँदो प्रकारले बैदार कटुवालप्रति घृणाको पहाड अग्लिरहेको थियो । एक मनले डल्ले कान्छालाई पर्खिउँ भन्ने पनि लागेको थियो । कथंकदाचित् ऊ आइपुगेन भने मलाई थप सङ्कट पथ्र्यो । बैदार र फट्याङग्रे काकालाई पछ्याउनु सिवाय मसँग अर्को बाटो पनि अब बाँकी थिएन ।

डल्लेले सामान तलमाथि पा¥यो वा हरायो भने त्यो सवै मूल्य म तँबाट तिराउछु नि बुझिस् फट्याङग्रे । धेरै पछि अझ त्रूmर भएर प्रस्तुत भए बैदार कटुवाल । फट्याङग्रे काकाले केही जवाफ फर्काऊन् भन्ने म चाहन्थेँ तर उनी लुरुलुरु हिडिरहे ।
उकालो बाटोमा छामछाम छुमछुम गर्दै अत्यन्त कष्टका साथ हामी बरपानी पुग्यौँ । पृथ्वीभरि कालो पोतिएको जस्तो रात आज हाम्रो अघिल्तिर आतङ्कै बोकेर उपस्थित भयो । बाटो छोडेर हामी एउटा घरतिर सोझियौँ । भित्र अँगेनाको मधुरो उज्यालोमा दुई जना मानिसहरूको आकृति जस्तो देखियो ।

ठूलो आवाज निकालेर बैदार कटुवालले आफ्नो झोला धरको दलानमा राखे । भित्रबाट एउटा महिला स्वर आयो – बाहिर को हो हँ । पाहुना है पाहुना । यतातिरबाट बैदार कटुवाल बोले । आउन किन ढिला गर्नुभयो ? हामी पर्खिरहेका थियौँ । भित्रबाट फेरि उही महिला आवाज आयो ।

हामीलाई बाहिर बस्दै गर्न भन्दै कटुवाल काका फुत्त घरभित्र पसे । अँधेरी रातको हिडाइ हामी थकित भएका थियौँ र उत्तिकै भोकाएका पनि थियौँ । फट्याङ्ग्रे काकाले अँध्यारोमै छामछाम छुमछुम गर्दै दलानको छेउमा भारी बिसाए । हामी दलानमा थ्याच्च बसेका मात्र के थियौँ भित्रबाट रक्सीको कडा गन्ध नाकैसम्म ठोकिन आइपुग्यो ।

फट्याङग्रे काका उकालो भरि केही बोलेनन् । मात्र लुरुलुरु हिडिरहे । केही कुरा सोध्यो र बोलायो भने पनि उनी सुस्तरी जवाफ फर्काउथे । फट्याङग्रे काका यति बेला डल्ले कान्छाको अवस्थाले चिन्तित होलान् । उनको परिवर्तित व्यवहारका कारण बारेमा मैले यस्तै अनुमान गरिरहेका थिएँ ।

डल्ले कान्छो कहाँ आइपुग्यो होला । म भित्र गुम्सिएको चिन्तालाई मैले रोक्नै सकिनँ । ऊ आहालेसम्म निस्किएर बास बस्यो होला । तर ऊ सँग केही पनि खानेकुरा थिएन । आज ऊ भोकै प¥यो । यति राती यहाँ त ऊ आइपुग्नै सक्दैन । अलिकति चिन्ता जाहेर गरे उनले ।

यस्तो राती कसरी आहाले एक्लै आइ पुग्यो होला र । उसले भोग्नुपर्ने कष्टका श्रृङ्खलाहरू एकएक गर्दै म भित्र प्रश्न बनिरहेका थिए । होइन ऊ राती  एक्लै हिड्न डराउँदैन । यो बाटो थुप्रै पटक भारी बोक्न आइसकेको छ । मैले कुराको टुङ्गो पु¥याउन नपाउदै उनले सामान्य रूपमा जवाफ फर्काए ।

हामी बाहिरै दलानको एक कुनामा बसिरहेका थियौँ । कटुवाल भित्र कुरामा व्यस्त थिए । उनले भित्र रक्सी खाइरहेको हुनसक्ने अनुमान पनि म गर्दै थिएँ । घरीघरी भित्रबाट एउटी बुढी महिला र अधबँैसे महिलाको स्वर बाहिरसम्म आइरहेको थियो । अधबैँसे महिला कटुवालसँग केही लाडिएर कुरा गर्थिन् । केही छिनमा भित्रबाट खाना तयार भएको सूचना आयो । अगेनाभन्दा केही टाढै हामीलाई बस्न पिर्का तयार पारिएको थियो । कटुवाललाई अगेनाको नजिकै । उनको थालमा र हाम्रो थालमा खानाका परिकारहरू फरक फरक थिए । कटुवालको थालमा चामलको भातसहित दाल, तरकारी, दही र मासु पनि देखिन्थ्यो । हाम्रो भागमा मकैको भात, कचौरामा मोही र थालको एकछेउमा गुन्द्रुकको अचार थियो । भोकले लखतरान भएको बेला खानाको स्वाद हाम्रो लागि पनि अनुपम थियो ।

बाबु ! तिमीलाई थाहा छैन होला यो कटुवाल त साहै अपराधी मन्छे छ नि । सुत्ने तरखर गर्दा गर्दै फट्याङग्रे काकाले बैदार कटुवालका बारेमा तितो टिप्पणी गरे । मलाई लाग्यो डल्ले कान्छालाई कटुवालले गरेको व्यवहारलाई लिएर उनले यो टिप्पणी गर्दै छन् ।

फट्याङग्रे काका र मलाई सुत्नका लागि घर अघिको ग्वालीमा व्यवस्था गरिएको थियो । बैदार कटुवाललाई उतै घरभित्रै व्यवस्था मिलाइएको रहेछ ।

किन र काका । मैले सोधे ।

बाबु तिमी यहाँ आइपुग्नुको कारण बुझेनौ ? यो रातारात गरेर डल्ले कान्छालाई बाटैमा छोडेर यहाँ आइपुग्नुका पछाडि यो भट्टी र भट्टी पसल्नी नै मूल कारण हो । यो जहिल्यै पनि जाँदा वा र्फकँदा यहीँ बास बस्ने गर्छ । उनले भन्न खोजेको कुरा मैले बुझेँ । मैले उनीबाट यस बारेमा थप व्याख्या आवश्यक ठानिन ।

हामी दुवैजना खाली गुन्द्री ओच्छयाएर पल्टिएका थियौँ । ओछ्यान त नाम मात्रको हो । यही एउटा गुन्द्री नै हाम्रो लागि ओछ्यान थियो । तर हिँडाइको थकानले हाम्रो लागि यो ओछ्यान पनि आरामदायी बन्न पुगेको थियो ।
हामी दुवै जना गुन्द्रीमा पल्टिएर डल्ले कान्छाको बारेमा कुरा गरिरहेका थियौं ।

पालेपछि माया लाग्दो रहेछ । मैले सकेको पालेको मात्रै त हो नि । आखिर डल्ले त कटुवालकै छोरो हो । फट्याङग्रे काकाले दबिएको स्वरमा कोल्टे फर्किँदै भने ।

होइन यो के कुरा गर्दै हुनुहुन्छ काका !

मेरो लागि यो नितान्त नौलो र अचम्मलाग्दो कुरा थियो । हो ! बाबु तिमी धेरै सानो हुदाँको कुरा हो । डल्लेकी आमा यही कटुवालकै नातेदार थिई । उसले यही कटुवालको गर्भ बोकेपछि गाउँमा ठूलो हल्ला चल्यो । त्यसपछि गाउँका केही मानिसहरू र कटुवालले समेत यो परिस्थितिबाट जोगाइदिन अनुरोध गरे । बच्चा जन्मेपछि मैले बाबु बनेर न्वारान गरिदिएँ । त्यसबापत मलाई कटुवालले एउटा लैनो गाई दिने सर्त थियो । तर अपराधीले लैनो गाईको ठाउँमा थारो गाई मात्र दियो । यो कुरा तिम्रो लागि नयाँ लाग्यो होला । यति भनिसकेर फट्याङग्रे काका केही छिन मौन बसे ।

अनि डल्लेकी आमा खोई त । मलाई कौतूहल थपिँदै थियो ।
ऊ माइतमै बस्दाबस्दै डल्लेलाई छाडेर तराइतिरै कोही मान्छे खोजेर गई । उसको माइतीले डल्लेलाई राख्दा सामाजिक इज्जतमा दाग लाग्ने डरले म कहाँ पठाइदिए । आफ्नै छोरो नभए पनि सानैदेखि पालेकोले माया लाग्दो नै रहेछ । यति भन्दै फट्याङग्रे काका एकछिन गहिरो भावनामा कतैतिर हराए ।
मलाई फट्याङग्रे काकाको व्यक्तिगत जीवनप्रति थप जान्न उत्सुकता बढ्दै गयो ।
तपाईँले विवाह चाहिँ गर्नु भएन ? म उनीबाट अरु थप कुरा सुन्न चाहन्थे ।
गरिबीको बोझले कहिल्यै उठ्न सकिएन । कसरी भोक मार्ने मात्र ध्याउन्ना हुन्थ्यो । विवाह त धेरै टाढाको कुरा भयो मेरा लागि । फट्याङ्ग्रे काकाले बिस्तारै मैले सोधेभन्दा बढी भन्दै गए ।
बाबुआमा म सानै हुँदा हैजा लागेर मरे । हुन त उनीहरू पनि गरिबीकै कहरमा जीवन काटिरहेका थिए । अहिले डल्ले र म जुन छाप्रोमा जीवन बिताइरहेका छौँ मेरा बाबुआमाको आश्रयस्थल पनि त्यही छाप्रो हो । बोल्दाबोल्दै फट्याङग्रे काका पश्चिमको अँध्यारो क्षितिजतिर कान थाप्थे । उनलाई डल्ले कान्छाको याद आइरहेको प्रष्ट अनुमान गर्न सकिन्थ्यो ।
यी अपराधीहरूको इज्जत जोगाइदिन पनि हामी गरिबहरू चाहिँदो रहेछ । यति भन्दै फट्याङ्ग्रे काका ओछ्यानबाट जुरुक्क उठे र सुर्ती माड्न थाले ।
बैदार कटुवाल, बैदार कटुवालले डल्ले कान्छाप्रति देखाएको व्यवहार, फट्याङ्ग्रे काकाको जीवन कथा एकपछि अर्को गर्दै कुनै चलचित्रको दृश्य जसरी मेरो मानसपटलमा घुमिरहे । बढी नै थकानका कारणले म ओछ्यानमा बिस्तारै झकाउन पुगेँछु ।
बाबु सुन त ऊ त्यतातिरबाट मान्छेहरू बोलेको आवाज आए जस्तो छ । कतै डल्ले कान्छो त आएन । काकाले मेरो कुम हल्लाउदै भने ।
केही छिन हामीले काकाले सुनेको आवाजको प्रतीक्षा ग¥यौँ । त्यसपछि लामो समयसम्म फेरि कुनै आवाज आएन ।
जुन उदाउन अझै चार घडी बाँकी छ । फट्याङ्ग्रे काकाले फेरि एकपटक कालो आकाशतिर हेरे । काका फेरि मन नलागी नलागी गुन्द्रीमा पल्टिए । पल्लो घरबाट बैदार कटुवाल घुरेको आवाज क्रमशः रातको शान्त परिवेशलाई छिचोल्दै हामीसम्मै आइपुग्यो ।

तपाइको प्रतिक्रिया