कविता- खास दुःखहरू

मा प्रकाशित

-बलराम तिमल्सिना

हुन त आमाकाभन्दा बढी थिएनन्
तै पनि बाका पनि थिए खास दुःखहरू
धेरै बेग्लै दुःखहरू थिए आमाका
खास बेग्लै दुःखहरू थिए बाका !

प्रकृतिले लगाएका बाहेक
समाजले अह्राएका
बाका बेग्लै बेथा थिए
आमाका बेग्लै बेथा थिए

आमाले गर्ने दुःखमा
बाले मिसिन हुँदैनथ्यो
आमा दुःख गरिरहन्थिन्
बा हेरिरहन्थे नजिकै बसेर
बाले गर्ने दुःखमा
आमाले मिसिनु हुँदैनथ्यो
आमा हेरिरहन्थिन् उसै गरी
सँगसँगै थिए बा र आमा
कैयन् दुःख यस्ता थिए
बा एक्लै थिए
आमा एक्लै थिइन्

आमा दुःखले रुँदा
बालाई रून प्रतिबन्ध थियो
बाले दुःखले खुइय गर्दा
आमाले मिसिन छेकबार थियो
यसरी दुःखका दिनहरूमा
सँगै बँचेर पनि
बा एक्लै थिए
आमा एक्लै थिइन् ।

केही भारीहरू यति गरुंगा थिए
बा ढाड कुप्रिने गरी बोक्नुहुन्थ्यो
आमाले सघाउन मिल्दैनथ्यो
एककाँधे लगाएको गोरुजस्तै थियो
मेरा बाको दुःखी जीवन
केही यस्ता कामहरू थिए
हेर्दा झिना मसिना
तिनै झिना मसिना काम गरेर
आमाको इज्जत पनि झिनो हुन्थ्यो
तैपनि गर्नैपथ्र्याे आमाले
ती हिसाबमा नआउने कामहरू

हुन त आमाका भन्दा बढी थिएन
तर बाका पनि थिए खास दुःखहरू
धेरै बेग्लै दुःखहरू थिए आमाका
खास बेग्लै दुःखहरू थिए बाका ।

जब म पनि बा बनेँ कसैको
फेरि पनि दुःखको चलन उस्तै छ
हुन त उनकाभन्दा बढी दुःखहरू हैनन् मेरा
तर केही खास दुःखहरू मेरा पनि छन्
जसरी खास दुःखहरू बाका थिए हिजो

म सोचमग्न छु
यी दुःखहरू मिसाउने कसरी होला ?
किन कि
जबसम्म दुःखहरू साझा हुँदैनन्
सुख साझा हुने कुरा गफ मात्र हो
बेग्लाबेग्लै दुःखको भारी बोकेर
हामी कस्तो ‘सह–जीवन’ बाँचिरहेका हौला ?

तपाइको प्रतिक्रिया