नेपालका अति राष्ट्रवादीहरूलाई एउटा प्रश्न

२०७४ असोज २१ गते १०:४१ मा प्रकाशित
निनाम लोवात्ती कुलुङ

Ninam Lowatti Kulung-Newकेही मान्छेहरू, खासगरी राष्ट्रवादी भन्न र भनिन चाहनेहरूले आजभोलि हाम्रो देश नेपाल बर्बाद हुन लाग्यो ! भनी कोकोहोलो मच्याइरहेका छन् । अचम्म के छ भने, त्यसरी कोकोहोलो मच्याउनेहरूमा कतिपय डलरवादीहरू पनि छन् । यसरी नेपाल बर्बाद भो भनी चिन्ता गर्नेहरूमा खासगरी बुद्धिजीवी, डाक्टर (पिएचडी), प्राध्यापक, विश्लेषक, लेखक, पत्रकार, मानवअधिकारवादी आदिको बिल्ला भिरेरकाहरू बढी देखिन्छन् । विदेशीको डलर, युरो, पाउन्ड, फ्रयांक, येन आदि हजम गरेर विदेशीकै ! र नेपालका आदिवासी जनजाति, मधेसी, महिला, पिछडिएको क्षेत्र आदिका अगुवाहरूलाई गाली गर्ने, त्यसमा पनि फलानो संस्था र व्यक्तिले गर्दा नेपालमा धर्म निरपेक्षता र संघीयताको कुरो उठ्यो÷उठायो भनी संस्था र व्यक्तिको नामै तोकेर गाली गर्नेहरू पनि भेटिन्छन् ।

जब कि, यी बुद्धिजीवी, डाक्टर (पिएचडी) प्राध्यापक, विश्लेषक, लेखक, पत्रकार, मानवअधिकारवादी आदिको बिल्ला भिरेकाहरूले त्यसरी गाली गर्नु÷भन्नु भन्दाअघि एकपटक राम्ररी गम खाएर, गम्भीर ढंगले सोचेर हाम्रो देशको इतिहास, भूगोल, जातीय विविधता, भाषिक विविधता, धार्मिक विविधता, सांस्कृतिक विविधता, मौलिक भेषभुषा, मौलिक चाडबाड, मौलिक साहित्य, मौलिक गीत–संगीत, पर्व, मेला आदि इत्यादि र नेपालका यी विविधता कुनै जाति वा समुदाय विशेषको मात्रै नभएर समग्र देशकै निधि हुन्, गहना हुन् ।

त्यसैले यी निधि र गहनाहरूलाई हराउन, मासिन र नासिन दिनु हुँदैन, यिनीहरू सबैको संरक्षण र सम्बर्धन गर्नुपर्छ भनी लाग्नुपर्ने हो । सोही अनुसार उनीहरूले औपचारिक रूपमा लेख्नु÷बोल्नुपर्ने हो । तर, अझै पनि हाम्रो देशको अवस्था कस्तो छ भने, देशमा लोकतन्त्र वा भनौँ गणतन्त्र आएको लगभग १०÷११ वर्ष बितिसकेको छ । नयाँ संविधान ०७२ आएको पनि ३ वर्ष हुन लागेको छ । तापनि हालसम्म तल तल (गाउँ, वडा, टोलसम्म) व्यावहारिक रूपमा लोकतन्त्र वा भनौँ गणतन्त्रको मर्मअनुसार काम हुन सकिरहेको छैन । आदिवासी जनजाति, मुस्लिम र शिल्पी समुदाय (दलित) ले धर्म निरपेक्षताको मर्म अनुसार व्यवहार भएको अनुभूत गर्न सकेका छैनन् ।

अझै पनि हाम्रो देशका कतिपय बुद्धिजीवी, डाक्टर (पिएचडी) प्राध्यापक, विश्लेषक, लेखक, पत्रकार, मानवअधिकारवादी आदिको बिल्ला भिरेका व्यक्तिहरूको मानसिकता हेर्दा कस्तो लाग्छ भने, नयाँ आएको संविधानमा जेसुकै लेखिएको भए तापनि अझै पनि नेपालमा एकल भाषा, एकल जाति, एकल संस्कृति, एकल धर्म, एकल चाडबाड, एकल पर्व मेला, एकल भेष, एकल साहित्य, एकल गीत–संगीत आदिकै सर्वोच्चता कायम रहोस् ! त्यसैले उनीहरू नेपालको विविधताको विषयमा (केवल जातजाति र भाषाभाषीको विषयमा मात्रै होइन) धरातलीय यथार्थमा गएर चिन्तन–मनन, बहस र छलफल गर्नै चाहँदैनन् ।

त्यसैले यहाँ यो अकिञ्चनलाई हाम्रो देशका राष्ट्रवादी भन्न र भनिन चाहनेहरूलाई ०६२÷६३ को परिवर्तनअघि मात्रै होइन, ०४६ सालको परिवर्तनभन्दा पनि अगाडि लगभग ०३३ सालतिरको प्रसंग सम्झाउने चेष्ठा गरेको छ । किनभने, ०६२÷६३ को परिवर्तनपछि पश्चिमा फिरिंगीहरूले गर्दा नेपालमा धर्मनिरपेक्ष लागू भयो । संघीयता लागू भयो, एकछिनका लागि यो भनाइलाई स्वीकार गरौँ ! तर, यहाँ २०१० तिरै तत्कालीन कवि तथा साहित्यकार (२०६० सालको सेरोफेरोमा राष्ट्रकवि घोषित भएका) माधव घिमिरेले लेखेको तल प्रस्तुत ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रिय गीत कतिजना राष्ट्रवादीहरूले पढेका होलान् ? सुनेका होलान् ? प्रश्न गर्न मन लाग्यो ।

किनभने, जान्ने सुन्नेहरूका अनुसार सो राष्ट्रिय गीत ०१० र ०२० को दशकमा नेपालको हरेक कुना–कन्दरामा खुबै सुन्निथ्यो । कारण के थियो भने, त्यो बेला सञ्चारको अरू साधनहरू थिएनन् । सञ्चारको साधन भनेकै रेडियो हुन्थ्यो । त्यो पनि सर्वसाधारण नेपालीको पहुँचमा थिएन । गाउँघरका हुनेखाने भनिनेहरूको घरमा भने रेडियो हुन्थ्यो । फणिन्द्र नेपालले लेखेको ‘टिस्टादेखि सतलजसम्म’ नामक किताबको पाना नम्बर २ सय १९ र २ सय २० मा उल्लेख भए अनुसार सो गीतलाई ०३३ सालमा साझा प्रकाशनले त्यतिबेलाका कविवर र हालका राष्ट्रकवि माधव घिमिरेको गीत संग्रह ‘किन्नर किन्नरी’मा समेटेर प्रकाशित गरेको थियो ।

तर, राष्ट्रवादीहरू मात्रै होइन, हामी सबैले सुन्दा अचम्म लाग्ने कुरो के छ भने, ०३३ सालमा साझा प्रकाशनले प्रकाशित गरेको माधव घिमिरेको गीत संग्रह ‘किन्नर किन्नरी’ मा ‘जय, जय, जय हे नेपाल’ शीर्षकको जुन गीत थियो, सो गीतको अन्तिम ४ अनुच्छेद भने हटाएको थियो । अब हाम्रा राष्ट्रवादीहरूले हटाइएका ४ पंक्तिमा के के लेखिएको थियो त ? पक्कै पनि थाहा नहोला । अतः ती हटाइएका अन्तिम चार पंक्तिमा के छ त ? यहाँ उल्लेख गरिएको छः

‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान ।’

माथि उल्लिखित पंक्तिहरू थिए, हटाइएको अन्तिम ४ अनुच्छेदमा । हुन त भाग्यवश उक्त गीतका रचयिता तथा राष्ट्रकवि माधव घिमिरे स्वयं जीवितै हुनुहुन्छ । त्यसैले आदिवासी जनजाति र मधेसीलाई साम्प्रदायिक र विखण्डनवादी देख्ने कतिपय हाम्रा राष्ट्रवादीहरूले ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रिय गीतको अन्तिम ४ अनुच्छेद कसले, किन, कसरी र के स्वार्थले हटायो÷हटाउन लगायो ? हटाइएका उक्त ४ पंक्तिबारे राष्ट्रकवि स्वयंलाई प्रश्न गरेर यथार्थ पत्ता लगाउन सक्छन् । यो अकिञ्चनको चुनौति पनि हो, आग्रह पनि हो, हाम्रा राष्ट्रवादी कमरेडहरूलाई । किनभने, हटाएको ४ अनुच्छेदले के के बोलेको छ भन्ने त हाम्रा राष्ट्रवादीहरूलाई ‘हल्का थाहा’ भयो नै होला ! (सन्दर्भ स्रोतः फणीन्द्र नेपालद्धारा लिखित ‘नेपालः टिस्टादेखि सतलजसम्म’ नामक किताब, पाना–२१९÷२२०)

तपाइको प्रतिक्रिया