कविता-अल्पजुनी

२०७४ असोज २१ गते १०:४८ मा प्रकाशित

-भरत रोदन साउद

किर्नाहरूको कुनै विचार हुँदैन
किर्नाहरूको कुनै सिद्धान्त हुँदैन
बुढो गोरुको टाङमुनि टाँसिएर
घिनलाग्दो झुन्ड बनाउनुबाहेक
किर्नाहरूको कुनै आदर्श हुँदैन ।

किर्नाहरू आफैँ उफ्रन सक्दैनन्
उनीहरू आफैँ बाटो पहिल्याउन सक्दैनन्
आफ्नाे आँखा हुँदैनन् किर्नाहरूका
गोरु उफ्रेसँगै उफ्रेको भ्रम पाल्छन्
गोरु हिँडेसँगै हिँडेको भ्रम पाल्छन्
त्यसैले किर्नाहरूको कुनै गन्तव्य हुँदैन ।

जुन किलामा बाँधिएर, जुन चौघेरामा गोरु उभिन्छ
त्यही हो किर्नाहरूको सिंगो धर्ती
बुकुर्सी मारेर जहाँजहाँ पुग्छ गोरु
त्यहीँत्यहीँ पुग्नु किर्नाको नियति हो
चरेको छ गोरुले
जुन दलदलमा उम्रेको हरियो घाँस
आँखा चिम्लेर त्यसैप्रति कृतज्ञ रहनु
किर्नाहरूको निष्ठा हो
त्यसबाहेक किर्नाहरूलाई
कुनै विवेकको जरुरत पर्दैन
किर्नाको स्वतन्त्र गति हुँदैन
किर्नाको इतिहास हुँदैन ।

किर्नाको आफ्नाे समाज हुँदैन
जुन गुटमा चरिरहन्छ गोरु
जुन बथानमा दंगालिरहन्छ साँढे
त्यही गुटलाई आफ्नाे ठान्दै
चुपचाप चपक्क टाँसिएर टाङमा
किर्नाको अल्पजुनी सकिन्छ ।

कविताका नायक कतै तपार्इं र म त होइनौँ ???

तपाइको प्रतिक्रिया