कविता-अन्तर

२०७४ असोज २१ गते १०:५२ मा प्रकाशित

Ganesh bhandari

-गणेश भण्डारी

रातो त रातै हुन्छ अफिमको रङ
रातै फुल्छ लालिगुराँस
रातै हुन्छ लालुपाते र रक्तसिमल
तर जहरिलो हुन्छ अफिमको नसा
औषधि हुन्छ गुराँसको थुँगा
अन्तर हुन्छ अफिम र गुराँसमा
जसरी जीवन र मृत्युमा अन्तर हुन्छ ।

सेतै देखिन्छ हिउँ फुलेको देश
र सेतै डुल्छ आकाशको कादम्बिनी
सेतै फुल्छ बैँसमा रेशमी कपास
सेतै देखिन्छ प्रदिप्त पूर्ण जून
र सेतै देखिन्छ आगो निभेको खरानी
अन्तर हुन्छ हिउँद ओत्ने कपास र खरानीमा
जसरी ठिही र गर्मीमा अन्तर हुन्छ ।

सिधै हुन्छ वरधयेरोको लौरो
र सिधै देखिन्छ पानीझर्दा कलधाराको लौरो
अन्तर हुन्छ लौरो र पानीलौरोमा
जसरी नुन र मिस्रीमा अन्तर हुन्छ
जसरी विष र अमृतमा अन्तर हुन्छ ।

तपाइको प्रतिक्रिया