इतिहासमा ललितकलालाई नियाल्दा

मा प्रकाशित

writingलेखनले तत्कालीन समय र सन्दर्भलाई ऐतिहासिक दस्तावेजीकरण गर्छ । लेखनपद्धतिको विकाससँगै दस्तावेजलाई कालान्तरसम्म जीवन्त राख्न महत्वपूर्ण आयाम थपियो ।  विश्वमा पहिलोपटक मेसोपोटामिया सभ्यताको सुमेरबाट लेखनपद्धतिको सुरु भएको हो । करिब ४५ सयदेखि ४ हजार ईसापूर्वको बीचमा पहिलोपटक सुमेरले लेखनपद्धतिको विकास गरेका हुन् ।

यसपछि विश्वका विभिन्न स्थानमा लिपिको विकास हुँदै आयो । लेखनको विकाससँगै विभिन्न सभ्यतामा विकसित चित्र, मूर्ति तथा वास्तुकलाको ऐतिहासिक दस्तावेजीकरणको सुरु पनि हुँदै आयो ।  नेपालमा ललितकलाको विषयमा कहिलेदेखि लेख्न थालियो यसका विषयमा कुनै लिखित प्रमाण भेटिएको छैन । विभिन्न हिन्दू बौद्ध धर्म ग्रन्थमा उल्लेख गरिएका विभिन्न देवदेवीका शारीरिक अनुपातको नापका विषयमा लेखिएका सैद्धान्तिक विषयबाहेक कलाको चर्चा गरी लेखिएका ऐतिहासिक विषय खासै पाइएको छैन ।

नेपालमा पत्रकारिता सुरु भएपछि समाजका विविध क्षेत्र सामाजिक सरोकारका विषय बन्न थाले । १९५८ सालमा गोरखापत्रको प्रकाशन सुरु भएपछि यसले समाजका विविध पाटोलाई समाचारका विषय बनाउन थाल्यो । यसै सन्दर्भमा कलाको पनि सार्वजनिकीकरण सञ्चारमाध्यमबाट नै भएको मान्नुपर्दछ । १९९१ सालमा नेपालमा संस्थागत रूपले कला शिक्षाको सुरुआत हुनु पनि महत्वपूर्ण घटना थियो । गोरखापत्र या अन्य त्यसबेलाका पत्रपत्रिकाले त्यसको समाचार बनाए त्यो खोजीकै विषय भएको छ ।

नेपालमा पहिलोपटक कलाकै सन्दर्भमा केन्द्रित रहेर सत्यमोहन जोशीले ०८÷०९ सालमा प्रकाशन गरेको ‘कलाकार’ त्रैमासिक हो । सुरुमा नेवारी भाषामा प्रकाशित यो पत्रिका नेपाली भाषामा समेत प्रकाशित थियो । यसले चित्र, मूर्ति, वास्तुकला, संगीत तथा साहित्यको विषयलाई महत्व दिएको थियो । ०१४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि यसले नेपालको पुरातात्विक सम्पदा, प्राचीन नेपाली कलाका विविध सन्दर्भमा रहेर विभिन्न पुस्तक प्रकाशन गरेको देखिन्छ ।

यस्तै पुरातत्व विभागले समेत ०१० सालपछि नेपाली सम्पदा र पुरातात्विक महत्व राख्ने विषयमा अनुसन्धान गर्ने, जर्नल प्रकाशन तथा पुस्तक प्रकाशन गर्ने काम गरेको छ । ०१६÷१७ सालतिर गोरखापत्रमा नारायणबहादुर सिंहको प्रवेशसँगै नेपाली कलाका बारेमा फाट्टफुट लेखिन थालियो । ०२० साल ताका गेहेन्द्रमान अमात्यले समेत गोरखापत्र लगायतका पत्रपत्रिकामा कलासम्बन्धी लेखरचना प्रकाशन गरेको पाइन्छ । ०२२ सालमा नेपालमा कलाको संस्थागत विकास गर्ने उद्देश्य राखेर नेपाल ललितकला संस्था (नाफा) स्थापना भयो । यसले ०२३ सालमा कलाकार शिलुप्यारीको सम्पादनमा नाफाको मुखपत्र प्रकाशन भयो ।

त्यसको १ वर्षपछि त्यसको अर्को अंक निस्क्यो । ०२७ सालमा विजय थापाको सम्पादनमा कलाकार नामक अर्को पत्रिका निस्कियो । यसले पनि कला, साहित्य, संगीत तथा वास्तुकलाका विषयलाई समेट्यो । ०२७ सालमै नेपालमै पहिलोपटक नारायणबहादुर सिंहको ‘नेपाली चित्रकार’ नामक पुस्तक साझा प्रकाशनले निकाल्यो । यसमा त्यतिबेलाका नेपालका मूधन्र्य तथा जल्दाबल्दा २० कलाकारको जीवनीसहित उनीहरूको कृत्विका बारेमा चर्चा गरिएको छ । ०२० सालको दशकमा सिंहले गोरखापत्रमा कलासम्बन्धी समीक्षात्मक लेख लेख्न थालिसकेका थिए ।

गोरखापत्रले मासिक रूपमा साहित्यिक पत्रिका मधुपर्कको प्रकाशन ०२५ बाट सुरु ग¥यो । यस पत्रिकामार्फत कलाका विविध पक्षमा लेखन कार्य सुरु भयो । यस पत्रिकाको महत्वपूर्ण जिम्मेदारीमा सिंह नै थिए । नाफाले ०२६ र ०३१ सालमा अंग्रेजीमा आफ्नो मुखपत्र प्रकाशन ग¥यो । ०३२ सालमा नरसिंह भक्त तुलाचनको प्रकाशन, कुसुम तुलाचनको सम्पादनमा ‘कलाकृति’ नामक कला पत्रिका प्रकाशन भयो । यो पत्रिका प्रकाशनमा गेहेन्द्रमान अमात्यको सहयोग रह्यो । त्यस्तै ०३५ सालमा नेपालमै पहिलोपटक काठमाडौं बाहिर धरानबाट युवा कला केन्द्रको प्रकाशन र मुकेश मल्लको सम्पादनमा कलापत्रिका निस्क्यो । यो पत्रिका ३ अंकसम्म प्रकाशित भयो । नाफाले बेला बेलामा कलासम्बन्धी पत्रिका प्रकाशन गर्दै गयो ।

त्यस्तै ०३४ सालमा पुसमा नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालमा कलाको विषयमा केन्द्रित रहेर गोष्ठीको आयोजना ग¥यो । यसमा उत्तम नेपाली, नारायणबहादुर सिंह, मनब्रज बज्राचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रलाई पछि पुस्तकको रूपमा प्रकाशनसमेत गरियो । नारायणबहादुर सिंहको ०३३ सालमै ‘कला एक अनुभूति एक चिन्तन’ नामक अर्को पुस्तक प्रकाशित भयो । नेपालमा कला लेखन, पत्रकारिता तथा अनुसन्धान कार्यमा नेपाल ललितकला संस्था नाफाले केही काम ग¥यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पुरातत्व विभाग, साझा प्रकाशन लगायतले कलाका विषयमा रहेर केही प्रकाशनका काम गरेको देखिन्छ ।

कला लेखनमा सत्यमोहन जोशी, मनुजबाबु मिश्र, मदन चित्रकार, मुकेश मल्ल, डा.अभि सुवेदी, डा.वंशी श्रेष्ठ, रमेश खनाल, डा.लय मैनाली, नगेन्द्रप्रसाद पौड्याल, नविन्द्रमान राजभण्डारी, ज्ञानेन्द्र विवश, सुरेन्द्ररमज भट्टराई, देवेन्द्र थुम्केली, डा.यामप्रसाद शर्मा, सरोज बज्राचार्य, केशवराज खनाल, दीपक कुँवर, इन्द्र खत्री लगायतका लेखकले व्यक्तिगत रूपमा कलम चलाइरहेका छन् । ०७४ सालसम्म आइपुग्दा नेपालमा कला प्रकाशनमा निकै वृद्धि भएको छ । माध्यम, कला र कलाकार, तिसा, कलाकृति, आकृति, ललितकला द्वैमासिक, कलाकर्म, क्यानभास साप्ताहिक, फाइनआर्टनेपाल डटकम, ललितकला समीक्षा, आर्टनेपाल, कलादृष्टि, ललितकला पत्रिका लगायतले कलाका विविध पक्ष र आयाममा रहेर कला लेखन तथा पत्रकारिता गरे ।

०६६ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै यसले प्रकाशन गरेका पुस्तक बुलेटिन आदिले नेपाली कला लेखनलाई थोरै भएपनि भरथेग गरेको पाइन्छ । पछिल्लो समय कलाका विषयलाई विभिन्न साहित्यिक, समाचारमूलक तथा अनलाइनले समेत स्थान दिँदै आएका छन् । पुस्तक प्रकाशनमा समेत साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, सिर्जना कलेज, नेपाल आर्ट काउन्सिल, विभिन्न कलासम्बन्धी संघसंस्था, अरुपण आर्ट ग्यालरी तथा व्यक्तिगतरूपमा समेत पुस्तक तथा पत्रिका प्रकाशन गरेका छन् ।

तपाइको प्रतिक्रिया