लोप हुँदै परम्परागत ढिकी, जाँतो

मा प्रकाशित

janto_जत 1पाल्पा । आधुनिक प्रविधितर्फ बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण पाल्पाको ग्रामीण क्षेत्रका परम्परागत प्रविधि लोप हुँदै गएका छन् । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु औजार हराउँदै गएपछि पर्यटकीय जिल्ला पाल्पाको ग्रामीण पहिचान पनि मेटिँदै गएकोमा सरोकारवालाहरूले चिन्ता गरेका छन् ।

उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु औजार प्रयोगमा ल्याइएपनि अहिले आएर पाल्पाका ग्रामीण क्षेत्रमा ति औजारहरू विस्थापित बनिसकेका छन् ।

त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ ।  गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गइरहेका छन् ।

करिब तीनदशक अगाडिसम्म निकै चलन चल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि पाल्पामा यी घरेलु मेसिन विस्थापनमा परेका संस्कृतविद् निर्मल श्रेष्ठ बताउँछन् ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धराशायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याती कमाएको पाल्पाका लोकबाजाहरू खैँजडी, मादल, डम्फु, ढोलकी, सहनाई र कर्नाल पनि हराउँदै जानथालेपछि यहाँको लोक संस्कृति पनि अपांग बन्दै गएको सस्कृतविद् श्रेष्ठको गुनासो छ ।

दसैं, तिहार र चाडपर्वको बेलामा देवीदेउतालाई चढाउने सामग्रीका रूपमा ढिकी र जाँतोमा नै कुटेको र पिँधेको चामल, पीठो शुद्ध मानिने भए पनि पछिल्लो समयमा ढिकी जाँतो लोप हुँदै गइरहेको तानसेन ६ बतुङपूmलबारीकी७४ वर्षीय शान्ति देवी काफ्लेले बताइन् । मन्दिरमा पूजा आजाका लागि शुद्ध र चोखो ढिकी र जाँतोमा पिँधेको मात्रै प्रयोग गर्ने गरे पनि आजकल आधुनिक विद्युतीयतथा डिजेलका मिलखुलेपछि मानिसहरूले यसको खोजी गर्नसमेत बिर्सेको उनले बताइन् ।

स्थानीय स्रोत, साधन एवं सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिने जानकारहरू बताउँछन् । घरेलु मेसिनको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप भएको स्थानीय संस्कृतिका विषयमा जानकार मदन देउरालीले बताए ।

दैनिक प्रयोगका विभिन्न आधुनिक मेसिन भित्रिएपनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको तर्क छ ।

तपाइको प्रतिक्रिया