पार्टीमा कामको होइन दामको मूल्यांकन

मा प्रकाशित

birendra-1तीन चरणमै भए पनि नेपालमा २० वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ । लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा उम्मेदवारका आकांक्षीहरू ह्वात्तै बढे । साना दलहरूलाई उम्मेदवार खोज्नुपर्ने अवस्था आयो भने ठूला दलहरूलाई उम्मेदवारको बाढीलाई थेग्नै कठिन भयो । टिकटका दाबेदार धेरै भएपछि लिस्टबाट हटाउनसमेत धौ–धौ भयो नेता नेतृत्वहरूलाई । टिकट लिनका लागि नेपालमा यतिसम्म नेताहरू लालायित बनेकी राज्यमन्त्री र सभासद् भइसकेकाहरू पनि वडाध्यक्ष र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न पुगेको इतिहास स्थानीय निकायको निर्वाचन २०७४ ले देखाइदिएको छ ।

उम्मेदवारका आकांक्षी आवश्यकताभन्दा बढी भएका कारण ठूला दलका नेताहरूले स्थानीय आकांक्षी दलका नेताहरूको दबाब निकै खेप्नुप¥यो । हुन पनि स्थानीय निकायको निर्वाचन २० वर्षपछि हुँदा उम्मेदवारका आकांक्षीको संख्या बढ्नु ठिकै पनि हो । तर, टिकट नपाएको झोकमा कतिपयले पार्टी नै छाडे त कतिपयलाई पार्टीका विरुद्धमा लागेको भन्दै अन्तर्घातको आरोपमा पार्टी नेतृत्वले नेता कार्यकर्ताहरूमाथि रातो कलम प्रयोग गर्नुप¥यो ।

खासगरी एमाले, कांग्रेसभित्रको गुटगत राजनीतिको असर प्रत्यक्षरूपले स्थानीय निकायको निर्वाचनमा परेको देखियो । ठूला दलका शीर्ष नेतृत्वले नेतृत्व गरेको क्षेत्र र जिल्लाको चुनावी परिणामलाई हेर्ने हो भने कहालीलाग्दो अवस्थाको मत परिणाम बाहिर आयो । पार्टीभित्र गुटबन्दी, घात र अन्तर्घात भएको भन्दै दलका नेता कार्यकर्तामाथि ठूला पार्टीहरू एमाले र कांग्रेसले कारवाहीसमेत गरेको अवस्था छ नेपालमा ।

यतिखेर फेरी प्रदेश र केन्द्रको संसदीय निर्वाचनको माहोल तातेको छ, नेपाली राजनीतिक आकाशमा । दलहरूले स्थानीय पार्टी कमिटीहरूलाई तत्काल उम्मेदवारको टुंगो लगाएर केन्द्रमा पठाउन सर्कुलर र उर्दी जारी भए बमोजिम विभिन्न पार्टीहरूका स्थानीय, जिल्ला, प्रदेश कमिटीहरूका बैठकहरू सञ्चालन भइरहेका छन् । सम्बन्धित पार्टी कार्यालयहरूमा टिकटका लागि म बलियो, ऊ कमजोर, ऊ भ्रष्ट, म निष्कलंक, ऊ कम क्षमतावान, ऊ यस्तो फलानो ढिस्कानो कमजोर, मैले पाए मात्र जितिन्छ अर्काले पाएको खण्डमा पार्टी पत्तासाफ हुन्छजस्ता मौखिक राजनीतिक विवरणहरू सम्बन्धित पार्टीका बैठक र नेताहरूकोमा पेस गर्ने अभियान र टिकटको दौडधूप जारी रहेको अवस्था छ यति बेला ।

राजनीति भनेकै सत्ताको खेल हो । दलभित्र तिकडमबाजी गरेर होस् कि साम, दाम, दण्ड, भेद जस्तोसुकै पनि हर्कत गरेर टिकट लिने प्रपञ्चमा नेताहरू लागि परेका हुन्छन् ।

नेताहरूका प्रकार ः
१. केन्द्रमुखी ः नेपालका अधिकांश राजनीतिक दल र तीनको नेतृत्व जनतामुखी नभएर केन्द्रमुखी भएको पाइन्छ । जनताकाबीच जनमुखी कार्यक्रम नगरेरै केवल केन्द्रका नेताहरूको चाकरी गर्ने, जनताको घरदैलोमा केवल पर्यटकको हैसियतमा वर्षको एकपटक आउने जव अवसर आउँछ तब मात्र गाउँमा आउने प्रवृत्ति अधिकांश ठाउँमा देख्न पाइन्छ ।

२. गुटमुखी ः राजनीतिक दलहरूमा जे जस्ता पारदर्शी नेता र नेतृत्व भए पनि गुट उपगुटका कारण ती पार्टीहरूमा सोझासाझा र कर्मठ कार्यकर्ताहरूको राजनीतिक अवस्था निकै नै दयनीय अवस्थामा देखिन्छ । काम गर्ने र जनताका माझ जे जति लोकप्रियता कमाएको भए पनि जब पद प्रतिष्ठाका लागि भने जहिले पनि हालीमुहाली गुटले गर्ने गरेका कारण कर्मठ, इमानदार कार्यकर्ताहरू जहिले पनि ओझेलमा पर्ने गरेका छन् ।

३.राजनीतिलाई पेसा बनाउने ः कतिपय राजनीतिक दलका नेता र नेतृत्वले स्थानीय तहदेखि केन्द्रसम्म पुग्दा व्यापकरूपले पद, प्रतिष्ठा र सत्ताको व्यापक रूपले दुरुपयोग गरेको देखिन्छ । सयौँ नेताहरूमाथि अख्तियारको डन्डा बर्सिसकेको छ । यसबाट पनि थाहा हुन्छ कि हिजो चप्पलमा समेत हिँड्ने औकात नभएका राजनीतिज्ञहरू आज पजेरो, प्राडोमा सयर गरिरहेका छन् । उनीहरूले जसरी पनि सत्ता र पदको दुरुपयोग गर्दै राजनीतिलाई केवल लाभको पेसा बनाएको पाइन्छ ।

४.बाद र सिद्धान्तका घोडा ः नेपालमा रहेका सबै राजनीतिक दल र तीनका पार्टीका कार्यकर्ताहरू गलत छन् भन्नेचाहिँ होइन । कतिपय नेता कार्यकर्ताहरूले पार्टीमा गरेको योगदानलाई हेर्ने हो भने त्यसको वयान गर्नै सकिँदैन । जसले संगठनका लागि लामो समय बिताएका छन् । पार्टीमा लागेर घरजग्गा सकेर सुकुम्वासी बन्न पुगेका छन् । ती नेता तथा कार्यकर्ताहरू केवल नेताका झोला बोक्ने साधनको रूपमा प्रयोग हुँदै आएका छन् । न उनीहरूले कहिल्यै पदका लागि लडाइँ गरे न त स्वार्थका लागि दलको नीति नियम र सिद्धान्तलाई तिलाञ्जली दिएर बदनाम कमाउने तर्फ लागे । उनीहरू त केवल दलका नेताका दास अनि सिद्धान्त र पार्टीले लिएको विचारका दास मात्र बनिरहे ।

माथि उल्लेख गरे अनुरूप आज नेपालको राजनीतिक आकाशमा कञ्चन वादललाई असिना पानीले भरिएको कालो बादलरुपी राजनीतिले असिना पानी बनेर चुटिरहेको छ । यो नेपालको राजनीतिमा कटु सत्य र तीतो यथार्थ पनि हो । सहर बजार, विभिन्न टोल, पाटी पौवा, चिया पसलदेखि सार्वजनिक समारोहहरूमा नेपालको फोहोरी राजनीतिले बजार पाइरहेको छ । हेर्ने दर्शकभन्दा कलाकार बढी भनेभैmँ जनताभन्दा बढी राजनीतिज्ञहरूको भिड र जमात जताततै देख्न सकिन्छ । इमानदारी, पारदर्शिता यतिखेर गलत राजनीतिक संस्कारको दास बन्न पुगिरहेको छ नेपाली राजनीतिमा ।
काम गर्ने कालु मकै खाने भालु ः जीवनभर पार्टीको उथ्थानका लागि संघर्ष गर्ने पार्टीका सोझासाझा कार्यकर्ताहरू लाखापाखा लागिरहेका छन् । यहाँ त यस्तो पनि हुँदै छ कि काम गर्ने कालु मकै खाने भालुको अवस्थामा पुग्दै छ नेपालको राजनीति ।

लंका जलाउने हनुमान पगरी गुथ्ने ढेडु ः पार्टीहरूले सञ्चालन गरेका ठुल्ठूला आन्दोलन र सत्याग्रहमा समेत जीवनको बाजी लगाएर अनि टाउकोमा कफन बाँधेर लडाइँको अग्रिम मोर्चामा लड्ने पार्टीका स्थानीयदेखि केन्द्रका नेताहरू समेत मौसमी राजनीति गर्ने नेपालका राजनीतिज्ञहरूका सामु असफल बनाइँदै छन् । उनीहरूलाई न त पार्टीको नेतृत्वले सोध्ने हिम्मत गरेको छ न त उसको कदर नै । जसका कारण सोझासाझा राजनीतिज्ञहरू यतिखेर बढारिँदै गएका छन् । उनीहरूलाई पद, प्रतिष्ठा र सम्मानको रिङबाट निष्कासित गरिएको अवस्था छ । पीडित राजनीतिज्ञहरूमा फेरी पनि पार्टीप्रतिको मोह यथावत छ ।

दलहरूको नेतृत्वले सुक्ष्म ढंगबाट पार्टीभित्रका विविध पक्षलाई गहिरिएर अध्ययन नै नगरिने गरेका कारण गलत प्रवृतिका नेता र नेतृत्वले गुटको फाइदा उठाउँदै मौकामा चौका हान्ने गरेको देखिन्छ । दलभित्र के कति कारणले अस्वस्थता उत्पन्न भएको होला र त्यसको न्यायिक निरुपणको उपाय के हुन सक्छ भन्ने बारेमा दलको नेतृत्वले गुटगत स्वार्थभन्दा माथि उठेर वैज्ञानिक निसाफ यदि गरेको भए आज नेपालमा गलत राजनीतिक संस्कारको विकास र विजारोपण नै हुने थिएन होला ।

सुविधाले ल्याएको विकृति ः यहाँ त बोल्नेको पिठो नबोल्नेको चामल पनि नबिक्ने अवस्था छ । राजनीति गर्ने राजनीतिज्ञहरूले लिने सेवा र सुविधालाई यति कटौति गर्ने र राजनीति केवल निःस्वार्थ भावले गर्ने कुरा हो भन्ने मान्यता जबसम्म स्थापित गर्न सकिँदैन तबसम्म नेपालमा राजनीतिभित्रको विकृतिको अन्त्य गर्न असम्भव देखिन्छ । यतिसम्मकी सांसद बनेपछि महिनामा लाखौँ कमाउन पाइन्छ । देशविदेश सयर गर्न सकिन्छ । कर्मचारीको सरुवा, बढुवादेखि लिएर विभिन्न राजनीतिकरूपले पदीय हैसियतमा रहेर राशिको रसद चुस्न र चाख्न पाइन्छ भन्ने सोचका आधारमा पनि नेपालमा जोसुकैले पनि राजनीतिमा हात हालेको देखिन्छ । जसको ज्वलन्त उदाहरण हो स्थानीय निकायको उम्मेदवारीमा देखिएको अस्वस्थता । स्थानीय निकायमा निर्वाचित भएपछि, मेयर÷उपमेयर र अध्यक्ष÷उपाध्यक्षले त मासिकरूपले तलब नै पाउनेछन् भन्ने कुरा बाहिर आएपछि त घाटमा पुग्नै लागेका राजनीतिज्ञ पनि पदका लागि ब्युँतिएका थुप्रै उदाहरण फेला परेका छन् ।

कामको होइन दामको मूल्यांकन ः अब नेपालको समग्र राजनीतिको अवस्था हेर्न हो भने यहाँ त केवल अस्वस्थताको शृंखला मात्र देखा पर्न थालेको छ । यो देशमा लामो समयसम्म राजनीति गरेका राजनीतिज्ञहरू प्रतिष्पर्धामा पुग्न नसक्नुको पछाडि उसले दलभित्र खेलेको महत्वपूर्ण योगदानको नम्बरले काम नगरेर होइन रहेछ । यसपालिको चुनावमा कति रकम पार्टी, नेता र नेतृत्वलाई खर्च गर्न सक्छ र के कति दाम भोट किन्न र पार्टीका नेतादेखि स्थानीय कार्यकर्ताहरूका नाममा खर्च गर्न सक्दछ त्यस्ता व्यक्तिलाई टिकट प्रदान गर्ने जुन रोग सिर्जना हुँदै छ यसले कामको नभई दामको मूल्यांकन हुँदै छ भन्ने कुरालाई स्पष्ट पारिदिएको छ ।

यसकारण नेतृत्व सच्चिन जरुरी ः जुनसुकै पार्टी वा संगठन चलाउनका लागि सर्वप्रथम त त्यो पार्टीको नीति, नियम र सिद्धान्त के छ र पार्टी नीतिले चलिरहेको छ कि नेताको हैकमवादी प्रवृतिले चलिरहेको छ भन्ने कुरा अब आमनेपाली जनताले बुझ्न थासिलसकेका छन् । नेपालमा वर्षोंदेखि चल्दै आएको वादको दास बन्ने र पार्टी र पार्टीको नेतृत्वले गरेका सबै कार्यहरू सही हुन् भनेर अन्धभक्त भएर सोझै स्वीकार गर्ने पक्षमा पार्टीका कार्यकर्ताहरू तयार छैनन् र त्यसलाई किमार्थ स्वीकार पनि गर्नु हुँदैन । पार्टी र संगठनलाई सही दिशा प्रदान गर्ने पार्टीको नेतृत्व नै भएकाले अब दलका नेताहरू जुनसुकै पार्टीको किन नहुन् गुट, उपगुट र दलीय गुटबन्दीको घेराबाट निष्कनुपर्ने नितान्त जरुरी छ ।

राम्रो काम गर्ने पार्टीका नेता कार्यकर्तालाई पुरस्कार र गलत गर्नेलाई दण्डित गर्ने अभियानलाई जबसम्म मूर्तरूप दिइँदैन तबसम्म पार्टीले लिएको अडान र सोचले सार्थक रूप लिन नसक्ने भएकाले दलका नेतृत्वले तत्काल सच्चिएर पार्टीलाई नयाँ जीवन दिन सकेको खण्डमा जुनसुकै पनि पार्टीको अस्तित्व र संगठन जीवित रहन सक्दछ ।
सम्पर्क ः ९८४८४२२२४१

तपाइको प्रतिक्रिया