डच स्टार रोबिनद्वारा सन्यास घोषणा

२०७४ असोज २६ गते ८:३३ मा प्रकाशित
एजेन्सी

robbinआम्र्सदाम २५ असोज । नेदरल्यान्डका कप्तान आर्जेन रोबिनले अन्तर्राट्रिय फुटबलबाट सन्यास लिएका छन् । गत संस्करणमा तेस्रो भएको नेदरल्यान्ड अगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट हुन सकेन । युरोपियन क्षेत्रको छनोटअन्तर्गत मंगलबार राती भएको खेलमा स्वीडेनलाई २–० ले हराए पनि नेदरल्यान्डले प्ले–अफमा स्थान बनाउन सकेन । देशका लागि अन्तिम खेलमा दुवै गोल रोबिनले गरे ।

३ पटकको उपविजेता तथा अघिल्लो विश्वकपमा तेस्रो भएको नेदरल्यान्डका लागि प्ले–अफमा स्थान बनाउनका लागि स्विडेनसँगको गोल अन्तरको जित ७ आवश्यक थियो । यो खेल सकिएसँग रोबिनले सन्यासको घोषणा गरेका हुन् । उनले सन्यासको निर्णय सहज नरहेको तर अब आफूले क्लब फुटबलमा नै आफ्नो पूर्ण ध्यान लगाउने बताएका छन् ।

३३ वर्षका रोबिन जर्मन क्लब बार्यन म्युनिखबाट खेल्छन् । सन् २००३ को अप्रिलमा राष्ट्रिय टिममा डेब्यु गरेका रोबिनले ९६ क्याप्समा ३७ गोल गरेका छन् ।

तपाइको प्रतिक्रिया