शारीरिक सुगठन टोलीको स्वागत

मा प्रकाशित

2काठमाडौं २६ असोज । नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको नेपाली टोलीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार एक कार्यक्रमबीच स्वागत ग¥यो । अक्टोबर ६ देखि ९ तारिखसम्म मंगोलियाको उलन्बटारमा भएको च्याम्पियनसिपमा नेपालले १–१ रजत र कांस्य गरी २ पदक जितेको थियो । कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले शारीरिक सुगठन प्रतियोगितामा दोहोरो पदक जितेको यो पहिलो अवसर हो । ननिताले महिला १ सय ६० सेन्टीमिटर उचाइमा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

ननिताले थाइल्यान्डमा भएको आठौं संस्करणमा पनि कांस्य जितेकी थिइन् । नेपाली शारीरिक सुगठनको इतिहासमा पदक जित्ने ननिता एक मात्र महिला खेलाडी हुन् । पुरुष ६० केजी तौलसमूहमा रुजेश शाहीले कांस्य हात पारेका थिए । थाइल्यान्डमा भएको विश्व च्याम्पियनसिपको सातौँ संस्करणमा भने ५५ केजीमा रुजेशले रजत जितेका थिए । प्रतियोगितामा नेपालबाट जम्मा ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा पुरुष ५५ केजीमा कमल भण्डारी पदकविहीन बने ।  कमल गत अगस्टमा दक्षिण कोरियाको सिओलमा भएको ५१औँ एसियाली शारीरिक सुगठनका कांस्य विजेता हुन् ।

प्रतियोगितामा शारीरिक सुगठन संघका उपाध्यक्ष दिनेश राजभण्डारीले टोली प्रमुख तथा ईश्वरमान श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, सदस्य उपेन्द्र पौडेल, शारीरिक सुगठन संघका महासचिव राजन श्रेष्ठलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राखेप हातामा माला र अबिर लगाएर स्वागत गर्नुका साथै बधाई दिएका थिए ।

टोली मंगलबार अबेर राती काठमाडौं अवतरण गरेको थियो । कार्यक्रममा सदस्यसचिव विष्टले नेपाली समाजमा महिला शारीरिक सुगठन खेलमा लाग्नु ठूलो हिम्मतको विषय भएको बताउँदै ननिताको सफलताले सम्पूर्ण महिलालाई प्रेरणा मिल्ने धारणा व्यक्त गरे । सदस्यसचिव विष्टले पदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरूप नगद पुरस्कारका लागि सरकारलाई सिफारिस गर्ने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया